२०८१, १२ बैशाख बुधबार

नेकपाको उद्धारमा आयो चिनियाँ टोली

नेकपाको उद्धारमा आयो चिनियाँ टोली


काठमाडौं, १३ पुस । चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।

नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइपुगेको छ । टोली नेकपाको एकताको सम्भावनाबारे पनि खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको छ ।

‘अढाई वर्षअघि नेपालका दुई कम्युनिस्ट पार्टी एकीकृत भएपछि उत्साही भएको चीन गत साता भएको संसद् विघटन र नेकपा विभाजनबाट चिन्तित छ, यही बिन्दुबाट नेपालमा अस्थिरता र अन्योल सुरु हुने र विदेशीको प्रभाव बढ्ने हो कि भनेर चीन चिन्तित छ,’ चिनियाँ दूतावासनिकट स्रोतले भन्यो, ‘चीनको सद्भाव, चासो व्यक्त गर्ने मात्र होइन, नेकपालाई फेरि जुटाउन पहल गर्ने उद्देश्यले टोली नेपाल आएको हो ।’

टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई भेटेको छ । ‘नेपालमा राजनीतिक स्थायित्व, समृद्धि, विकास, निर्णय प्रक्रियामा बाह्य मुलुकको अहस्तक्षेप होस् भन्ने हामी चाहन्छौँ, चीन आफ्नो सामथ्र्यले भ्याएसम्म विकास प्रक्रियामा र कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने विषयमा सहकार्य गर्न प्रतिबद्ध छ,’ राष्ट्रपति भण्डारीलाई चिनियाँ टोलीले आफ्ना राष्ट्रपति सीको सन्देश सुनाएको छ ।

विकसित पछिल्लो घटनाक्रमले नेपाल अस्थिर हुने अरू कसैको दबाब वा प्रभावमा पर्ने हो हो कि भन्नेमा बेइजिङको चासो छ । ‘सरकार मात्र होइन, राजनीतिक रूपमै नेपालमा अस्थिरता हुने हो कि भन्ने चिन्ता छ । र, यही अस्थिरताको जगमा नेपाली भूमिलाई बाहिरी शक्तिले प्रयोग गर्छन् कि भन्ने मूल चिन्ता छ,’ चिनियाँ दूतावासनजिक स्रोतले भन्यो, ‘वैदेशिक चलखेल हुन सक्छ र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन सक्छ भन्नेमा बेइजिङ सजग छ ।’

अहिलेको अवस्था थप तरल हुँदै गएर नेपालमा ‘इन्डो–अमेरिकन’ प्रभाव बढ्न सक्ने बेइजिङको आशंका छ । ‘यो भ्रमण अलिकति संवेदनशील समयमा भएको छ, भेटवार्ताहरूमा राजदूत मात्रै जाने कार्यक्रम छ, अरू कूटनीतिक अधिकारीहरूलाई सामेल गराइएको छैन,’ चिनियाँ कूटनीतिक स्रोतले भन्यो, ‘नेकपाका दुवै पक्ष र प्रतिपक्षी दलहरूसँग छलफल हुन्छ ।’

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पछिल्लो कदमले नेपालको राजनीतिक स्थायित्वमा नकारात्मक असर नपर्ने बताएकी छिन् । ‘मुलुकमा निर्वाचन घोषणा भएको छ, राजनीतिक दलहरूले निर्वाचनमा गएर ताजा जनादेश प्राप्त गर्नेछन्, त्यसले नेपालको स्थायित्व र विकासमा थप योगदान पुर्‍याउँछ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो । राष्ट्रपति भण्डारीले नेपालमा चीनविरोधी गतिविधि हुन नदिने भन्दै चिनियाँ टोलीलाई आश्वस्त पारेकी छिन् ।

चिनियाँ पक्षले नेकपाको पुनः एकीकरणको सम्भावनाबारे चासो राखेको थियो । ‘तपाईंहरूबीच अब एकताको सम्भावना छ कि छैन भन्ने चीनको प्रश्न छ,’ हालै चिनियाँ दूतावासका अधिकारीलाई भेटेका नेकपाका एक नेताले भने, ‘मुख्य विषय सत्तारुढ दल विभाजन भएकाले नेपालको आत्मनिर्णयको हैसियत तलमाथि हुन्छ कि भन्ने बेइजिङको चिन्ता छ । त्यस्तो अवस्थामा नेपाल र चीन दुवैलाई क्षति हुनेछ भन्ने उहाँको मूल्यांकन छ ।’

राष्ट्रपति भण्डारीले नेकपालाई फुट्न नदिन आफूले धेरै मिहिनेत गरेको बताएकी छिन् । फेरि पनि जुटाउन आफ्नो पनि प्रयास जारी रहेको उनको भनाइ छ । चिनियाँ टोलीले सोमबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग बेग्लाबेग्लै भेटवार्ता गर्दैछ ।

आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको टोली बालुवाटारस्थित चिनियाँ राजदूतावासमा बसेको छ । ५ पुसमा संसद् विघटनपछि नेपाल आउने गुओ पहिलो विदेशी उच्च अधिकारी हुन् । एक महिनाको बीचमा नेपाल आउने उनी दोस्रो चिनियाँ अधिकारी हुन् । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेले १४ मंसिरमा भ्रमण गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता आउनुपूर्व नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति भण्डारी र नेकपाका चार नेतासँग भेट गरेकी थिइन् । संसद् विघटन भएको दुई दिनपछि राजदूत यान्छीले ७ पुसमा शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन् । बिहीबार नेकपा अध्यक्ष प्रचण्ड र अपराह्न नेता वर्षमान पुनसँग भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता कृष्णबहादुर महरासँग भेटेकी थिइन् ।

तीन वर्षअघि पनि आएका थिए गुओ

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ ८ फागुन ०७४ मा नेपालमा आएका थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

गुओले त्यसवेला पनि प्रधानमन्त्री ओली, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । उनले सफल चुनावी गठबन्धनप्रति ओली र प्रचण्डलाई बधाई दिएका थिए । उनले तीनै तहका निर्वाचन सम्पन्न गरेकोमा राष्ट्रपति सी जिनपिङको तर्फबाट देउवालाई पनि बधाई सन्देश सुनाएका थिए । देउवालाई उनले चीन भ्रमणको निम्तो दिएका थिए, तर हालसम्म सो भ्रमण भएको छैन । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ७ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने