धुलिखेल, ४ पुसः काभ्रेको रोशी गाउँपालिकाले सबै वडामा बाल अक्षय कोष स्थापना गरेको छ । यसअघि सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा बालअक्षय कोष स्थापना हुन बाँकी रहेका वडाहरुमा पनि अक्षय कोष स्थापना भएको योजना शाखाका राम तामाङले जानकारी दिए ।
उनका अनुसार वडामा स्थापना भएका अक्षय कोषमा न्यूनतम ३ लाखदेखि ६ लाख रुपैयाँसम्म रकम छ । यो रकम संरक्षक नभएका र आर्थिक रुपमा अतिविपन्न बालबालिकाको पठनपाठनमा खर्च गरिनेछ । ‘संरक्षक नभएका र आर्थिक रुपमा अतिविपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो, तामाङले भने ‘यो कोषको रकमले आर्थिक अभावकै कारण पालिकाभित्रका कोहि पनि बालबालिका विद्यालय शिक्षा पाउनबाट बञ्चित हुनुपर्ने छैन ।’
रोशी गाउँपालिकामा यस्ता बालबालिकाको संख्या झण्डै २ सय रहेको बताइएको छ । पालिकाले बाल अक्षय कोष सञ्चालन कार्यविधि नै बनाएर मासिक ५ सयका दरले वितरण गर्ने ब्यवस्था मिलाएको छ । पुरानो कार्यविधि अनुसार मासिक ३ सय रुपैयाँ मात्रै पाउने ब्यवस्था थियो । ‘पालिकाले अक्षय कोषको रकम दुरुपयोग नहोस भने छुट्टै कार्यविधि नै बनाएर लागु गरिसकेको छ, तामाङले भने ‘कोष सञ्चालन गर्दा आइपर्ने समस्या पनि कार्यविधि बनेपछि हटेको छ ।’
प्रतिक्रिया