काठमाण्डौ, १८ मंसिर काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान मावि परिसरभित्र अझै पनि मदिरा जन्य पदार्थ खुल्लाम खुल्ला बेचविखन भइरहेको छ । विद्यालय प्रशासनले गएको असोज ९ गते एक सुचना जारी गर्दै तीन दिनभित्र मदिरा र धुम्रपान बेचविखन नगर्न आग्रह गरेपनि अहिलेसम्म कुनै पनि पसलले कार्यान्वयन नगरेको पाइएको हो ।
विद्यालयले दुईसय मिटर आसपास रक्सी, वियर लगायतका मदिरा र चुरोट, खैनी जस्ता सुर्तीजन्य सामग्री नबेच्न भनेको थियो । तर विद्यालयकै सटर भाडामा लिएर पसल ब्यवसाय चलाई रहेका ब्यापारीहरुले समेत सुचनाको अटेर गर्दै मदिरा र धुम्रपान बेचविखन गरिरहेका हुन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम धितालले भने विद्यालय हाताभित्र बेचविखन नभएको दाबी गर्नुभयो । बाहिरबाट ल्याएर केहि मान्छेले चुरोट खाएपनि पसलबाट बेचविखन नभएको उहाँको तर्क छ । सुचना जारी गरेपछि पसलको अनुगमन भने नगरिएको उहाँले स्वीकार गर्नुभयो । तर विद्यालयका प्रधानाध्यपक देवीप्रसाद ढुंगानाले विद्यालय परिसरभित्रका पसलहरुबाट मदिरा र सुर्तीजन्य सामग्रीको बेचविखन नहटेको बताउनुभयो । विद्यालयको सातवटा सटरमा होटलदेखि किराना पसल खुलेका छन् ।
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा बनेको ऐन अनुसार विद्यालयको दुईसय मिटर वरपरको क्षेत्रमा मदिरा र सुर्तिजन्य सामग्री बेचविखन गरे कारबाही हुने ब्यवस्था छ ।
विज्ञप्ति
प्रतिक्रिया