२०८१, ११ श्रावण शुक्रबार

किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र ?

किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र ?


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाईसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पुठमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दा यादव अनिवार्य सहयोगी थिए । उनको अभावमा गठबन्धन बन्न सम्भव थिएन, रातो कार्पेट विछ्याएर बालकोट र बालुवाटारका बैठक कक्षमा यादवको स्वागत हुनेगथ्र्यो । वामपन्थी पृष्ठभूमिका यादव यो गठबन्धनमा स्वाभाविक हिस्सेदार मानिएका थिए ।

मधेश प्रदेशको सरकारमा खटपट सुरु भएपछि यादवको उपप्रधानमन्त्री पदको जग हल्लिन थालेको हो । एमाले र माओवादीका शीर्षकै प्रहारबाट आफ्नो पदको जग हल्लिएको मेलोमेसो यादवले अमेरिका प्रवासमा पत्तै पाउन सकेनन् । उनी उतै रहेका बेला यहाँ जसपाको भातभान्सा अलगथलग भैसकेको थियो । अशोक राईले जसपाको छानोको आधा हिस्सा अन्तै सारिसकेका थिए । काठमाडौं फर्किएपछि मात्र यादवले रातारात सम्पन्न भएका राजनीतिक घटनाको नालीबेली थाहा पाएका थिए ।

मधेश प्रदेशको सरकारमा उपेन्द्र यादवलाई एक्ल्याउने रणनीतिको पहिलो चरण थियो अशोक राईको आकस्मिक विद्रोह । त्यसपछि एमाले र माओवादीको  सत्ता त्याग थियो दोस्रो चरण । तेस्रो चरणको चाल उपेन्द्रलाई उपप्रधानमन्त्रीबाट विदा गरेर पूरा भएको छ ।

यी सबै राजनीतिक घटनाक्रममा प्रधानमन्त्री दाहालले आज्ञाकारी बनेर एमाले अध्यक्ष ओलीको योजना कार्यान्वयन गरेको देखिन्छ । आफूले चाहेर राजीनामा गराएको होइन भनेर यादवलाई दाहालको सन्देश पुग्नुले यही कुराको संकेत गर्दछ । यादवलाई हटाउन आएको ओलीको सुझावलाई राजीनामा गराएर दाहालले यादवको प्रतिष्ठा जोगाउन सहयोग गरेको देखिन्छ । सत्ता गठबन्धनको खेल कसरी अगाडि बढ्छ भन्ने कुरा सरकारले जेठ १ गते संसदको संयुक्त सदनमा प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रमपछि प्रस्ट हुँदैजाने छ ।

उपेन्द्रको उदय

कुनैबेला मधेशको राजनीति तताउन अग्रणी थिए उपेन्द्र यादव । पहिलो मानिएको मधेश आन्दोलनबाट त्यहाँको राजनीतिमा अगुवा भएर प्रकट भएका उनले राष्ट्रिय राजनीतिमा पनि स्थान पाउन थाले । ठूला दलका शीर्षस्थसँग उठबस सुरु भएपछि  मधेशका मुद्दा स्थापित गराउन उनलाई सहज पनि हुँदै गएको थियो ।

राष्ट्रिय राजनीतिमा आरोहण गर्नुअघि विराटनगरमा शिक्षण पेशामा लागेका यादवले सन् १९९७ मा मधेशी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गरेका थिए । त्यही मञ्चबाट उनी मधेश राजनीतिमा होमिएका थिए । राजदरबारदेखि माओवादीसम्मको नियमित उठबसपछि मधेशमा अग्रणी देखिएका यादवको यात्रा भने त्यति सहज र एकनासको रहेन ।

२०६३–६४ को मधेश आन्दोलनबाट उनी राजनीतिको शिखरमा पुगे । आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश एक प्रदेश र संघीयता, समावेशीको मुद्दा उठाएर उनी राजनीतिमा दरिलो रुपमा स्थापित मात्र भएनन् पटक पटक उपप्रधानदेखि मन्त्रीसम्मको कुर्सीमा बसेर रजगज गरे । नेपालमा संकटकाल चलेका बेला भारतीय जेलमा समेत बसेका उनी ०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी दुई स्थानबाट चुनाव जितेर राजनीतिमा फड्को मारे । पहिलो संविधान सभामा मोरङ ५ र सुनसरी ५ बाट विजयी भएका उनी पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेर उदाए ।  दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सोही दुई स्थानबाट चुनावमा उठे पनि मोरङमा पराजित भए । तर सुनसरीमा विजयी भए ।

दोस्रो संविधानसभापछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग उनले एकीकरण गरेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेका थिए । ०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी सप्तरी २ बाट निर्वाचित भए । यससँगै उनी तीन पटक लगातार जितेर  ‘ह्याट्रिक’ गर्ने नेतामा कहलिए ।

फुट–जुटको नियमित श्रृखलाका कारण उपेन्द्रको अबको यात्राका बारेमा विभिन्न अडकलबाजी शुरु भएको छ । उनी मधेशमा सिके राउत भन्दा पनि कमजोर भइसकेको अनुमान लगाउन थालिएको छ । सँधै सत्ताकै लोभमा फस्दा उपेन्द्र यतिबेला कमजोर मात्र भएका छैनन् सत्ताबाटै बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ । २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश विद्रोह गरेका उनी सप्तरी निर्वाचन क्षेत्र–२ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग ठूलो मतान्तरले पराजीत भए । त्यसले उनको राजनीतिक यात्रामा ठूलै धक्का लागेको ठानिएको थियो ।

शक्तिमा पुगेपछि पार्टी, राज्यसत्ता र अन्य अवसरमा ‘यादववाद’ लाई प्रोत्साहन गरेको उनीमाथि आरोप लाग्ने गर्दछ । कहिले महन्थ ठाकुर र राजेन्द्र महतोसँग, कहिले डा.बाबुराम भट्टराईसँग त कहिले अशोक राईसँग मिलेर राजनीतिमा एकछत्त राज गरेका यादव अब एक्लो बन्दै गएका छन् ।

पटक पटक पार्टी फुटाउँदै आफूलाई केन्द्रविन्दुमा रहने बानी परेका यादवलाई यतिबेला भने बहुसंख्यक सांसदले पनि साथ् छोडेका छन् । उनकै नेतृत्वमा हासिल भएको १२ प्रतिनिधि सभा सदस्यमध्ये ७ जना अशोक राईसँग सरेका छन् । पार्टीको सबै तहमा यसको असर परेको देखिन्छ । जनकपुरमा आगामी जेठको अन्तिम साता राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहँदा राई पक्षधरहरुले पार्टी छाडेर नयाँ पार्टी दर्ता गरिसकेकाले यादव राजनीतिक संकटमा छन् ।

अशोक राईसँगै बहुमत सांसद अग्गिनु र सत्ताबाट पनि अनपेक्षित रुपमा विदा पाउनु उपेन्द्र यादवका लागि दुवै हातका लड्डु भुँइमा खसेजस्तो भएको छ । सत्ता राजनीतिमा अक्सर दुवै हातमा लड्डु पाउने गरेका यादवलाई सत्ताबाट जमीनमा झरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र अरु मधेशवादी नेताले स्वागतका लागि अनिच्छा प्रकट गरेको देखिएको छ ।

प्रकाशित मिति : २०८१, ३१ बैशाख सोमबार  ४ : ०२ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय