२०८१, १ असार शुक्रबार

आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई अहित हुन्न, झन बलियो हुन्छ : केपी ओली (अन्तर्वार्ता)

आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई अहित हुन्न, झन बलियो हुन्छ : केपी ओली (अन्तर्वार्ता)


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व चयनका लागि भइरहेको प्रतिस्पर्धा स्वाभाविक भएको बताउनुभएको छ । पार्टीका प्रदेश कमिटीहरूको अधिवेशन भइरहेका र नयाँ नेतृत्व चयनका क्रममा सबैजसो प्रदेशमा आकाङ्क्षीहरू धेरै देखिएपछि निर्वाचन भइरहेको सन्दर्भमा अध्यक्ष ओलीले आन्तरिक प्रतिस्पर्धाले हुँदैमा पार्टीलाई अहित नहुने बताउनुभयो । अध्यक्ष ओलीले नेकपा ९एमाले० उपत्यका विशेष प्रदेश कमिटीको मुखपत्र ‘मूलबाटो’ लाई दिनुभएको अन्तर्वार्तामा पार्टी सुदृढ, एकताबद्ध, अनुशासित र गतिशील रूपमा अगाडि बढ्ने बताउनुभयो

नेकपा एमाले भित्रको आन्तरिक प्रतिस्पर्धामा खेलेर कमजोर बनाउन सकिन्छ कि भनी दुष्प्रचारमा लाग्नेहरूलाई अध्यक्ष ओलीले भन्नुभयो– पर्खालबाहिर बसेर स्याल हुइयाँ मच्चाउनेहरूलाई एमालेभित्र के छ थाहै छैन । मुलुक चौतर्फी रूपमा सङ्कटको अवस्थाबाट गुज्रिरहेको र जनता महङ्गी लगायत समस्यामा परिरहेको सन्दर्भमा अध्यक्ष ओलीले तत्काल यस अवस्थामा मात्रात्मक सुधार हुनसक्ला तर धेरै ठूलो परिवर्तन आउँदैन भन्नुभयो । वर्तमान गठबन्धन सरकार एमालेको विरूद्धमा बनेको र आफ्नो स्वार्थमा केन्द्रित रहेकाले देश र जनताका पक्षमा केही गर्छ भनेर आशा गर्न नसकिने बताउनुभयो । प्रस्तुत छ, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीसँग श्रीधर आचार्य र नवराज खतिवडाले लिनुुभएको अन्तर्वार्ताः

मुलुक राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक लगायत हरेक क्षेत्रमा सङ्कटबाट गुज्रिरहेको छ तर वर्तमान गठबन्धन सरकारले देशलाई सही दिशामा अगाडि बढाउन कुनै कदम चालेको देखिँदैन । यहाँले देशको अवस्था र भविष्य कस्तो देखिरहनुभएको छ ?

अहिलेको अवस्था राजनीतिक रूपमा भन्ने हो भने अस्थिरता र अराजकताको स्थिति छ । विभिन्न प्रकारका सङ्कीर्ण समूह सक्रिय रहेको अवस्था छ । राष्ट्रको हित होइन, मानिसहरूको ध्यान आफ्नो स्वार्थपट्टि बढी केन्द्रित छ । अर्थतन्त्र बहुपक्षीय ढङ्गले कमजोर भइरहेको छ । सामाजिक मूल्यमान्यताहरू कमजोर भइरहेका छन् । संस्कृतिलाई गलत ढङ्गले प्रयोग गर्न खोजिएको छ । र, साँस्कृतिक अधोपतन जस्तो खालको स्थिति छ । आफ्नो इतिहास, सभ्यता, सँस्कृति यी कुराहरूपट्टि आस्था घट्दै गएको छ, नक्कलवाजी प्रबृत्ति बढ्दै गएको छ । केही मानिसहरू आफ्नो पहिचानको कुरा गर्ने तर वास्तवमा राष्ट्रिय पहिचान गुमाउँदै जाने खालको स्थिति छ ।

मित्रराष्ट्रहरूसँग सहयोग, सहकार्य आदिको अपेक्षा गर्नुपर्ने अवस्थामा बाह्य सम्बन्धमा पनि नकारात्मक असर परिरहेको अवस्था छ । वर्तमान गठबन्धन सरकारले राम्ररी काम गर्न नसकेको होइन, कामै गर्न सकेको छैन । राज्यले दिनुपर्ने सेवा (डेलिभरी) दिन सकिरहेको छैन । जनताका समस्यालाई सम्बोधन गर्न सकेको छैन । शान्ति सुव्यवस्था कायम गर्नुपर्नेमा आफ्नो स्वार्थलाई केन्द्र भागमा राखेर हिंसात्मक गतिविधिलाई संरक्षण र प्रोत्साहन गरिरहेको छ ।

नेपाल असफल राष्ट्र हुँदैन
यो गठबन्धन सरकारका सरकारी निकायहरूले जनतालाई न्याय दिइरहेका छैनन् । जनतालाई न्यायको प्रत्याभूति अदालतले मात्र दिने होइन, सरकारले न्याय गर्नुपर्छ, जनतालाई विकास, सुशासन र सुविधा दिने काममा सरकारको हो तर ती काम यो गठबन्धन सरकारले गर्न सक्दैन । किनभने, यो गठबन्धन कुनै राष्ट्रिय उद्देश्यका लागि बनेको होइन, यो आफ्नो सङ्कीर्ण स्वार्थका लागि बनेको गठबन्धन हो । यो कसैबाट आतङ्कित भएर कसैको विरूद्धमा बनेको हो । अरुको राम्रो कामले गर्दा आफू पछाडि परिने भयो भनेर राम्रो कामलाई रोक्नका लागि बनेको गठबन्धन हो । यो राम्रो काम गर्न बनेकै होइन । त्यसकारण यसको देश र जनताप्रति सकारात्मक धारणा हुनसक्ने कुरा भएन । यस्ता क्रियाकलापले सैद्धान्तिक रूपमा देश असफल पनि हुन सक्छ । तर, नेपाल असफल हुँदैन किनभने यो बडो कठिन परिस्थितिमा औपनिवेशिक युगमा पनि उपनिवेश भएको देश होइन । स्वाधीन स्वतन्त्र रहेको देश हो । यो राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, झुकेर सत्ताको सम्झौता गरेर आएको देश होइन । राष्ट्रिय हितलाई सर्वोपरि राखेर आएको देश हो ।

एमालेले देशलाई रूपान्तरित गर्ने सङ्कल्प बोकेको छ
अर्को कुरा, यहाँ देशभक्त र सबल प्रगतिशील शक्ति छ । देशका समस्या बुझ्ने र समाधान गर्ने सामथ्र्य भएको शक्ति छ । तसर्थ यसले जनतालाई सचेत गर्ने कुरा सङ्गठित गर्ने र परिचालित गर्ने काम गर्न सक्छ । यसो भएपछि जनताको बलमा राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन गर्न सकिन्छ । अर्थात् एकदम संक्षिप्तमा भन्ने हो भने यो देशमा नेकपा (एमाले) छ । नेकपा (एमाले) स्पष्ट गन्तव्य तोकेर स्पष्ट नीति, कार्यक्रम र कार्ययोजनाका साथ देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवस्थामा रूपान्तरित गर्ने, परिवर्तन गर्ने सङ्कल्प बोकेर अगाडि बढेको छ । नेकपा (एमाले)सँग भिजन छ, सङ्कल्प छ, प्रयास छ । र, त्यही भिजन र सङ्कल्पलाई लिएर जनतामा जान्छ ।

नेकपा (एमाले)सँग रहेको भिजन र सङ्कल्पका कारण चौतर्फी घेराबन्दी र आक्रमणको प्रतिकूल अवस्थामा पनि प्रमुख पार्टीको रूपमा आयो । फेरि पनि आगामी दिनमा जनताको विश्वास जितेर यो अगाडि बढ्छ । त्यसकारण देशको भविष्य अफ्ठ्यारोमा छ, तर यसलाई सजिलोमा लैजान सकिन्छ । सुन्दर दिन ल्याउन सकिन्छ, सुन्दर भविष्य बनाउन सकिन्छ ।

तत्कालको सङ्कटबाट मारमा परेका जनताले सुधारका लागि नेकपा (एमाले)बाट पनि भूमिकाको अपेक्षा गरेको देखिन्छ, त्यस्तो कुनै सम्भाना छ कि ?
अहिलेको अवस्था भनेको तीनवटा चिजको योगफल हो ।
– एउटा, हाम्रो कमजोरी, हामीले जनतालाई सचेत, सङ्गठित र परिचालित गर्न सकेनौँ ।
– दोस्रो, विरोधीहरूको बदमासी, जसले जनतालाई अल्मल्याउने काम गरे, विभाजित गर्ने, भत्काउने काम गरे । कुप्रचार गर्ने, अन्यौल फिजाउने काम गरे ।
– तेस्रो, निर्वाचनमा जनताले ठीक शक्ति पहिचान गर्न सफल भएनन् ।

नेकपा (एमाले)को बहुमत आउनुपथ्र्याे । नेकपा (एमाले)ले लिएको नीति र यसले सरकारमा छँदा गरेका काम हरेक जनताले आफ्नो ठाउँमा उभिएर देख्न सक्छन् । तर, जनताले नै राम्रो नीति भन्दा नराम्रो नीति, राम्रो पार्टीभन्दा नराम्रो पार्टीसमेतलाई भोट दिएपछि (केही ठाउँमा भएका धाँधलीबाहेक), एमालेले यत्रो काम गर्दा र यति सही नीतिहरू अगाडि सार्दा पनि जनताबाट भनेजस्तो साथ नपाउने तर न नीति छ, न बोली छ, न विचार छ, न व्यवहार छ, न अभ्यास छ, न आचरण छ, त्यस्ता शक्ति र व्यक्तिहरूलाई जिताएर पठाएपछि त्यसको परिणाम भोग्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । जनताले निर्वाचित गराएर पठाएका कोही कोही मान्छेहरू त आपराधिक पृष्ठभूमिका छन्, त्यस्ता मान्छे प्रतिनिधि बनाएर जनप्रतिनिधिको सर्वोच्च स्थानमा पठाएरपछि जनताले दुःख त पाउने भए ।

त्यसो हो भने अर्को निर्वाचन नभई देशको वर्तमान अवस्थामा तत्काल सुधारको सम्भावना देख्नुहुन्न ?
अहिले मात्रात्मक सुधारमात्र हुनसक्छ । धेरै ठूलो परिवर्तन भइहाल्ने स्थिति छैन । धेरै कुराहरू विग्रिएका छन् । संविधान जारी भएदेखि अहिलेसम्मका अनुभवहरूका आधारमा संविधानदेखि नै सुधार, परिमार्जन र संशोधन आवश्यक देखिन्छ । प्रणाली मोटोरूपमा लोकतन्त्र भनेर मात्र हुँदैन । प्रणाली त लोकतन्त्र छ तर त्यसको कार्यान्वयन कसरी गरिन्छ ? त्यो कुरा धेरै नै महत्वपूर्ण हुन्छ ।

यहाँले कुराकानीका सन्दर्भमा भन्नुभयो–कुनै उद्देश्य नभएको र कसैका विरुद्धमा बनेको गठबन्धन सरकार, नेकपा (एमाले)का विरुद्धमा गठबन्धन र एमालेविरुद्ध आक्रमणको कारण के हो भन्ने ठान्नुहुन्छ ?

नेकपा (एमाले) राष्ट्रियता र सुशासनको पक्षमा छ । विकासको पक्षमा छ । जनताका समस्या चिनेको छ र समाधान गर्ने पक्षमा छ । एमालेले मौका पाउँदाखेरि देशको विकास र जनताको हितमा काम गर्छ । तीन वर्ष सरकारमा रहँदा कोभिड महामारी, विरोधीहरूको आक्रमण र पार्टीभित्रैबाट भयानक घेराबन्दीका बिचमा पनि मुख्यरूपमा एमालेले जसरी काम गर्यो, विरोध गर्नुपर्ने कारणै त्यही हो । सरकारको त्यो सक्षमता, विकासको त्यो रफ्तार, राष्ट्रियताको त्यो अडान र दृष्टिकोणबाट आत्तिएर एमालेका विरुद्धमा गठबन्धन बन्यो । एमालेले राष्ट्रियताको अडान लियो तर कहिल्यै अन्ध राष्ट्रवाद मानेन । कहिल्यै पनि राष्ट्रवादका नाममा अन्धराष्ट्रवाद अपनाउने अथवा व्यावहारिकताका नाममा लम्पसारवाद अपनाउने खालका काम गरेन । व्यावहारिक रूपमा राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन हुने गरी, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ छिमेक सम्बन्ध र बाह्य सम्बन्धलाई सञ्चालन गरेर अगाडि बढ्यो ।

संविधानको ठीक ढङ्गले कार्यान्वयन गरियो । काम गर्दा पूर्णरूपमा लोकतान्त्रिक अभ्यास, लोकतान्त्रिक प्रणाली अबलम्बन गरियो । अहिले संविधान अन्तर्गत सरकारले नै नियम बनाउने, त्यस नियम अन्तर्गत अपराधमा कैद सजाय भोगिरहेको आफ्ना मान्छे जथाभावी छोड्न, अर्कालाई फसाउने खालका कामहरू भएका छन् । हिजो राट्रपतिको बेस्सरी विरोध हुन्थ्यो । अहिले राष्ट्रपतिले आफ्ना मान्छेहरू खुरुखुरु छोडिरहेका छन् ।

नेकपा (एमाले) प्रतिपक्षमा पुगेको अवस्थामा पनि यस विरुद्धको घेराबन्दी र आक्रमण जारी नै छ, मिसन २०८४ मा रोक्ने रणनीति अन्तर्गत हो ?

आगामी २०८४ सालमा हुने निर्वाचनमा यसलाई कसरी रोक्ने भन्ने रणनीति अन्तर्गत आक्रमण भइरहेको छ । कसरी एमालेलाई बहुमत ल्याउनबाट रोक्ने भन्ने हो । एमालेसँग कसैले पनि एक्लै चुनाव लड्नसक्दैनन् । त्यो साँचो हो । अर्को, नेकपा (एमाले)भित्रैबाट पनि एमालेलाई कमजोर पार्ने खेल खेल्न सकिन्छ कि भनेर, अहिले हाम्रा प्रदेश अधिवेशनहरूमा भइरहेका प्रतिस्पर्धालाई आधार बनाएर, त्यसैलाई एउटा मौकाको रूपमा लिएर एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने प्रयास भएका छन् । एमाले विरोधीहरूले भर्खर चलाएको हल्ला म देखिरहेको छु– कतिपय मान्छेको फोटो छापेर ओलीको आदेश विरुद्ध उभिनसक्ने महारथिहरू, पुरुषार्थीहरू, पराक्रमीहरू, योद्धाहरू ! भन्ने खालको कुप्रचार छ । तल्ला कमिटीहरूमा साथीहरूले प्रतिस्पर्धा गरिरहेका छन् त्यो आफ्नो ठाउँमा छ । त्यो प्रतिस्पर्धा त पार्टीले नै उपलब्ध गराएको हो नि ।

प्रतिस्पर्धालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
त्यो प्रतिस्पर्धा स्वाभाविक कुरा हो । त्यसमा सुँड घुसार्न खोजेका छन् । हाम्रो पार्टीका साथीहरू प्रतिस्पर्धा गर्छन्, अरु पार्टीका मानिसहरू फलानो यस्तो ढिस्कानो उस्तो भनेर प्रचारमा लागिरहेका छन् । एउटा अखबारले बाग्मती प्रदेशका उम्मेदवारका नामहरू छापेको देखेँ, अनलाइनमा पनि । किन छापिन्छ, कहाँबाट छापियो, के भएर छापियो त्यो सबै बुझ्छु मैले ।

अर्को, नेकपा (एमाले)को पक्षमा पनि हो कि ? विपक्ष पनि हो कि ? जस्तो गरेर एमालेलाई खुइल्याउन लाग्ने छन् । अर्को, खुला र सोझै आक्रमण गर्ने विरोधीहरू छन् । कोही भित्रबाट अलिकति घुसपैठ गरेर एमालेलाई कमजोर पार्न खोज्ने र मुख्यरूपमा बाहिर÷भित्रका सबैको उद्देश्य चाहिँँँ एमालेको मिसन–२०८४ लाई कमजोर पार्ने नै हो ।

आन्तरिक प्रतिस्पर्धाको असर पार्टीभित्र कस्तो पर्ला ? स्थायी रूपमा दुई धारका रूपमा विभाजन भइरहने सम्भावना कत्तिको छ ?

त्यस खालको विभाजनको कुनै सम्भावना छैन । अराजकताको स्थिति अलिकति देखापर्न सक्छ । किनभने समाजमा नै अराजकता छ । राज्यले नै अराजकता फैलाइरहेको छ, त्यसको प्रतिबिम्वका रूपमा । तर, एमालेभित्र अराजकता टिक्नसक्ने कुरा होइन, त्यो काम लाग्ने कुरा पनि होइन । हिजोका दिनमा पनि गलत अन्दाज गरेर पार्टीभित्र चुनाव हुँदाखेरि पक्षविपक्ष बनाउँथे मान्छेलाई । स्थानीय रूपमा रहेको अन्तरविरोध र विभाजनलाई राष्ट्रिय रूपमा नै विभाजित गरेका छौँ भन्ने भ्रम थियो । त्यस भ्रमले बहकिएर कतिपय मानिस आज कुन ठाउँमा पुगेका छन् हामी देख्न सक्छौँ । अहिले त त्यो खालको स्थिति पनि होइन नि ।

केही केही मान्छेका अभिव्यक्ति सुन्छु म । अहिले पार्टीका साढे पाँचलाखभन्दा बढी स्थायी सदस्यहरूमध्ये अराजकताका साथ बोलिरहेका मान्छे एकदर्जन पनि पुग्दैनन् । त्यस्ता मान्छे आफै खुइलिन्छन्, जनता कार्यकर्ताले कहाँ मन पराउँछन् र ? त्यस्ता मान्छे कार्यकर्ता पङ्तीबाटै एक्लिन्छन् । अर्को कुरा छद्म किसिमले गरेका कामहरू अलिक समयसम्म छद्म हुन्छन् । त्यसपछि त छद्म हुँदैनन्, सतहमा आउँछन् । त्यसो हुँदा त्यस्ता कुराहरू सफल हुन सक्दैनन् । त्यसकारण, नेकपा (एमाले) सुदृढ, एकताबद्ध, अनुशासित र गतिशील रूपमा अगाडि बढ्छ ।

आन्तरिक लोकतन्त्रको जुन अभ्यास भइरहेको छ, पार्टीभित्र माथिदेखि नै चिरा परिरहेको छ भन्ने ढङ्गले सञ्चारमाध्यमहरूमा आइरहेको छ, यसमा कार्यकर्तालाई सन्देश हुने गरी स्पष्ट पारिदिनुहुन्छ कि ?

मैले त्यस्तो केही भनिरहनुपर्दैन, हाम्रो कार्यकर्तापङ्ती यसै स्पष्ट छ । केही पनि नभएको र कस्तो प्रतिकूल अवस्थाबाट आन्दोलन सुरु गरेर अथक र अनवरत सङ्घर्ष गर्दै यहाँसम्म ल्याइपु¥याएको कुरा पार्टीपङ्तीले देखेको छैन र ? त्यसकारण यी पर्खालपरि बसेर स्याल हुइँया मच्चाउनेहरूलाई पर्खालभित्र एमालेमा के छ भन्ने कुरा थाहा छैन । एमालेले बाहिरको स्याल हुइँय्या सुन्छ, भित्र त्यस्तो स्थिति छैन । नेतृत्व एकढिक्का छ ।
तल्लो कमिटीमा भइरहेको प्रतिस्पर्धा स्वाभाविक हो भन्न खोज्नुभएको ?

हो, स्वाभाविक हो । लोकतान्त्रिक प्रतिस्पर्धा हो ।

यसको प्रभाव नेपाली समाजमा धेरथोर परिरहेको छ, एमालेले चिर्नु आवश्यक ठान्दैन ?

पर्दैन, त्यो आफै चिरिएको छ । केही गर्नै पर्दैन । कर्कलोलाई बन्चरो हान्न पर्दैन क्या । हाम्रो पार्टी, कार्यकर्तापङ्ती स्पष्ट छ । कार्यकर्तापङ्तीले सानातिना गल्ती गर्दैन भन्न सकिँदैन । तल्लो तहका सबै कमिटीमा चुनाव/प्रतिस्पर्धा हुनसक्छ । त्यसलाई माथिसँग जोडेर हेर्नुपर्ने कुनै जरूरी छैन ।

नेकपा (एमाले)ले पार्टी जीवनमा गरेको लोकतान्त्रिक अभ्यासले अन्य पार्टीलाई पनि लोकतान्त्रिक अभ्यास अबलम्बन गर्न बाध्य बनाएको विगतदेखिको अवस्था हो । अहिलेको आन्तरिक प्रतिस्पर्धालाई एमालेमा लोकतान्त्रिक अभ्यासको बहाली भन्ने ढङ्गले पनि प्रचारबाजी भइरहेको छ, यसमा अध्यक्ष कमरेडको सन्देश ?

नेकपा (एमाले)को हकमा लोकतन्त्रको बहाली भन्न्नु शब्दकै दुरूपयोग हो । किनभने, पार्टीभित्र लोकतान्त्रीकरण, पार्टी लोकतान्त्रीकरण हुनुपर्छ भन्ने अभियानको नेतृत्व पार्टीहरूमध्ये एमालेले गर्यो र एमालेभित्र मैले नै गरेको हो । त्यसकारण त्यो मान्छेहरूलाई थाहा छैन भन्ने कुरा होइन । थाहा छ । यसले सुरु गर्यो । अरुले अलि अलि सिक्दैछन् । अरुलाई विचारको मतलब छैन । कांग्रेसको महाधिवेशन भयो, त्यहाँ विचारको कुनै मतलबै भएन । न दस्तावेज पेश भयो, न नीति, न योजना, न कार्यक्रम पेश भयो । अर्काे महाधिवेशनसम्म के गर्ने भन्ने नै छैन । को नेता हुने भन्ने मात्रै छ । को नेता हुने भन्ने कुरासँग नेपाली जनतालाई के मतलब ? कार्यक्रम नीति नभएपछि सभापति को हुन्छ भन्ने कुरा जनतालाई के मतलब ? त्यसैले उनीहरूको अधिवेशन जनताको विषय हुँदैन ।

हाम्रोमा जनताको विषय हुन्छ । हामीसँग नीति, योजना कार्यक्रम छ, त्यो कसले कार्यान्वयन गर्नसक्छ, हाम्रा उद्देश्य छन् ती उद्देश्यमा पुग्नका लागि कसले भूमिका खेल्नसक्छ भन्ने कुराको हिसाब किताव हुन्छ । लोकतन्त्रको अन्ध प्रयोग होइन, सचेत प्रयोग हुन्छ । कहिले काहीँ लोकतन्त्रको सचेत प्रयोग गर्दा कमीहरू रहेका हुनसक्छन् । कार्यकर्ताले सूचनाको अभावमा गल्ती पनि गर्न सक्छन् । त्यो गलत परिणाममा पनि पुग्न सक्छ । तर, पछि त्यो गलत परिणाम थियो भन्ने सावित हुन्छ । त्यसबाट शिक्षा लिनुपर्छ । लोकतन्त्र भनेकै यही हो ।

लोकतन्त्रमा गलत परिणाम आउँदैन भन्ने होइन, आउन सक्छ । गएको निर्वाचनमा आयो । नेकपा (एमाले)को नीति, विचार, व्यवहार र जे काम हुन् ती देखाइसकेपछि एमालेले बहुमत होइन दुइतिहाई पाउनुपथ्र्यो । तर, मतदाताले गल्ती गरे । गल्ती गर्दो रहेछन् त मतदाताले । एमाले त्यो स्थितिमा पुगेन । कमसे कम बहुमत आउन पथ्र्यो, त्यो पनि आएन । त्यो मतदाताले अलि बुझेनन् ।

यही कुरा पार्टीभित्र विभिन्न अधिवेशनमा आएका प्रतिनिधिहरू जोमतदाता हुन्छन्, उनीहरूले मतदान गर्दा गर्न सक्छन् । यहाँ नीतिको कुरा छैन, नेतृत्व निर्माणको कुरा गर्दा व्यवहारमा प्रतिफल निकाल्नुपर्छ भन्नुभन्दा पनि कसले भनसुन गर्यो ? कसले प्रचार पुर्ययो ? कसले विभिन्न ढङ्गले प्रभावित ग¥यो भन्ने कुरालाई हेरेर पनि मतदान भएको हुन सक्छ । मुख्यकुरा पार्टीको राष्ट्रिय गन्तव्य के हो ? उद्देश्य के हो ? त्यस उद्देश्यलाई आफ्नो ठाउँमा पूरा गर्नका लागि स्थानीय नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ । तर, कहिलेकाहीँ पर्याप्त सूचनाका अभावमा नेतृत्व चयन गर्ने मतदाताले कमजोरी गरिराखेका हुन्छन् ।

तपाईंले अघि भन्नुभयो, ‘कहिलेकाहिँ जनताले पनि भ्रममा परेर गलतलाई पनि छनोट गर्नपुग्छन्’ भनेजस्तै ‘पपुलिस्ट’ धारले त यतिबेला जनतामा प्रभाव पारेको देखियो, सेन्टिमेन्ट क्याच गर्नखोजेको देखियो त ?

थोरै क्याच गर्न खोजेको देखियो । धेरै क्याच गर्यो भन्ने स्थिति पनि होइन ।

नयाँ र पुरानो दल भन्ने जुन भाष्य सिर्जना गरिँदै छ, त्यसको आडमा आउने ०८४ को चुनावसम्म पुग्दा त यसले अझै प्रभाव पार्छ भन्ने अनुमान गरिँदैछ, तपाईंलाई के लाग्छ ?

यस्तो ठाउँमा उनीहरूले आफ्नो स्पेस लिन त खोजिहाल्छन् । तर, मुख्यरूपमा नेपाली कांग्रेसको अयोग्यता, अकर्मण्यता, नीतिहीनता, विधिहीनता, चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म जस्तो नीतिका कारण जनतामा सुशासनको डेलिभरी हुनसकेन । जसले गर्दा जनतामा निराशा पैदा भएको छ । कांग्रेस न देशको पक्षमा बोलेको जनताले सुन्छन्, न स्वाधीनताको वकालत गर्छ, न राष्ट्रिय हितको पैरवी गर्छ न प्रतिनिधित्व गर्छ, न जनताका समस्या देख्छ, न बोल्छ ! कांग्रेसको यस्तो अकर्मण्यताबाट जनता त फ्रस्टेट हुने भए । अनि यस्तोखाले जनताको निराशा (फ्रस्टेसन) लाई केही पेडहरूले दुरूपयोग गर्नखोजेका छन् । अनि मनलाग्दी भाष्यहरू क्रिएट गर्दै प्रहार गर्न खोजिरहेका छन् । कांग्रेसका कारण जन्मेको फ्रस्टेसन यता एमालेलाई पनि त्यही कोटिमा राख्न खोजिरहेको देखिन्छ ।

तर, राजनीतिक दल पुरानो त्यतिबेला हुन्छ जतिबेला त्यो दलसँग नयाँ नीति हुँदैन, अगाडि कसरी बढ्ने, लक्ष्य के हुने भन्ने कुनै सोच हुँदैन । अहिलेका नयाँ भनिएका दलहरू त एमाले भन्दा धेरै हदमा थोत्रा भइसके । छ महिनाका थोत्रा । छ महिना किनभने, मैले पहिले पनि भनेको थिएँ— पिपलको बिरुवा बढ्न समय लाग्छ तर बढिसकेपछि सयकडौँ वर्ष टिक्छ । युगौँयुग दुनियाँलाई छहारी दिन्छ । तर, तितेपातीको बिरुवा तिन महिनामा हलक्क आउँछ, तिन वर्षको पिपलको बिरुवाभन्दा तिन महिनाको तितेको बिरुवा अग्लो हुन्छ । चौथो महिनामा हेर्नुभयो भने त्यो तिते बुढो भएर ढलिसकेको हुन्छ । त्यसकारण यस्ता भुल्काहरू, यस्ता तितेहरू हलक्क बढे, उम्रिए, लौ केके न यिनले त ‘हाइट गेन’ गरे, यिनै हुने भए भन्ने जस्तो भ्रम हामीले पाल्नु हुँदैन ।

२०८४ को चुनावमा चाहिँँ यिनले ‘हाइट’ लिने हो कि भन्ने देखिन्छ, यसबारे ?

२०८४ मा चाहिँ यो भुल्काले केही हाइट लिन्छ । २०८४ मा सम्भावना के छ भने यदि कांग्रेसले आफूलाई करेक्सन गरेन भने, रास्वपालाई फाइदा पुग्न सक्छ । तर, नेकपा (एमाले)लाई त्यसको असर त्यति पर्दैन । हामी बहुमत ल्याउँछौँ । हामीसँग तिनको तुलना नगरौँ । त्यसपछि के हुन्छ भन्ने सवालमा यस्ता तिते भुल्काहरू त्यहाँसम्म टिक्न सक्छन् कि सक्दैनन् भन्ने हुन्छ । यिनीहरूका लागि त्यो चुनाव नै भद्रगोल हुन्छ ।अहिलेजस्तो सजिलो हुँदैन । हिजोको जस्तो सेन्टिमेन्टको कुरा होइन । केही सांसद भए तर सकियो, तिनकै अरुले के पाए त ?

‘कुल्ली दाइले बाटो बनायो अर्कैले मोटर गुडायो’ भनेजस्तै, त्यही सडकमा उभिएकाहरुले त अर्कैले गुडाएको गाडी हेरिरहनु परेको छ । केहीले त मोटर गुडाए, अरुले हेरेको हेरैको अवस्था छ । कसैलाई बनाइदिनका लागि मात्र हो जस्तो देखिएपछि यसको औचित्य के त, यसको फरक के त भनेर खोजी गर्छन् त मानिसले । सांसद किन बनाइयो, के गरे त ? अरु किन हुन पाएनन् ? के फरक पर्यो त ? म किन भइन त ? भन्छ त मोटर हेरेर सडकमा बस्नेले । अर्काे पल्ट तिमी हैन म उठ्छु भन्छ । तिमीले एकपल्ट पालो पुराइसक्यौ । पालो नै पुराउनु त हो नि, काम त केही गरेनौ भनेर प्रश्न उठाउँछ । पार्लियामेन्टमा गएर चटके कुरा गर्न त म पनि गरिहाल्छु भन्न थाल्छ र भोलि नै समस्या हुन्छ ।

त्यसैले कांग्रेससँग तुलना गरेर नयाँ र पुराना भन्नसक्छन् मानिसहरूले । तर एमालेसँग तुलना किन हुँदैन भने कांग्रेस जस्तो नीतिविहीन हो एमाले ? कांग्रेसजस्तो विधिहीन हो ? गन्तव्यहीन हो ? चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म जसरी जे गरेर भएपनि इज्जतै फालेर, आफ्नो त हैसियत भएन तर मुलुकलाई समेत तल झारेर, आफ्नो जात पहिचान नै फालेर चुनावमा जानेजस्तो पार्टी त होइन एमाले ! विकास, समृद्धिको कुनै नारा, कुनै योजना छ कांग्रेससँग ? त्यसैले उससँग एमालेको तुलना हुनसक्तैन । कांग्रेससँग तुलना गर्दा नयाँ पुराना भन्नसक्छन् । तर, ऊसँगको निराशाका कारण मानिसले सबैलाई उस्तै भन्ने भ्रम बोक्न सक्छन् ।

एमालेले गरेका राष्ट्रियताका कामहरू, विकासका कामहरू, जनताका पक्षमा गरेका वकालतहरू, स्वाधीनताको पक्षमा लिएका अडान, समृद्ध मुलुक र सुखी नेपाली बनाउने पक्षमा भएगरेका सबै कामहरू अघिल्तिर राखेर जनताले कसी लगाउँदा यो गठबन्धनकाहरू र यी नयाँ भनिएका सबैसँग एमालेको तुलना हुनसक्छ र ?

हामी चुनौती दिन सक्छौँ— एमालेसँग नीतिमा प्रतिस्पर्धा गर्नुपर्यो, नीतिको नवीनतामा प्रस्तुत गर्नुप¥यो नि आफूलाई ! विकासको नवीनतामा प्रस्तुत गर्नुप¥यो नि आफूलाई कांग्रेसले ! सक्छ ? सक्तैन ।

जुन भाष्य निर्माण गरिँदै छ त्यसलाई चिर्न के छ एमालेको योजना ?

वास्तवमा त्यस्तो भाष्य क्रिएट भएकै छैन । खोजेका हुन् केहीले । सामाजिक सञ्जालतिर यस्तो गराउन खोजिएको छ । केही सञ्चार माध्यमहरूमा त्यस्तो गराउन खोजिएको छ । केही ‘पेड’ मान्छेहरू त्यस्तो ध्याउन्नमा लागेका छन् । तिनीहरू मुलुकको स्थिरता, विकास र समृद्धिबाट डराएका छन् । तिनले यस्तो गराउन खोजेका छन् । यो कुरा आफैँ विश्लेषण गर्न सक्छन् जनता । जनता त देख्छन् नि । सचेत छन् नि । जान्दछन् नि । त्यो सामाजिक सञ्जाल नै मात्र समग्र मुलुक होइन, खास जनतालाई त्यसको चासो पनि छैन ।

अहिले पनि, यस्तो घेराबन्दीका बिचमा पनि सबैभन्दा पपुलर पार्टी कुन हो, नेकपा (एमाले) हैन ? त्यतिबेला पार्टीलाई ध्वस्त पार्न खोजिएको हैन ? दुई–दुई पटक पार्टी फुटाइएको हैन ? प्रचण्डले एकपटक, माधव नेपालको अर्काेपटक । अनि आफ्नो सरकारलाई ढाले । दक्षिणपन्थीका हातमा सोझै गएर समर्पित भएका हैनन् ? यिनीहरूका नाम जे राखेको भएपनि उद्देश्य एउटै हो । विभिन्न नाउँका साना कांग्रेसहरू हुन् ।
तसर्थ, उनीहरू र हामीहरू फरक छौँ । नीति फरक छ, गन्तव्य फरक छ । उनीहरू मुलुक मिलिजुली बन्धक बनाउने ध्याउन्नमा छन् । हामी समृद्ध नेपाल सुखी नेपाली बनाउने सोच लिएर अघि बढिरहेका छौँ । हाम्रो नीति, विधि, नेतृत्व सबैथोक भएरै त कांग्रेस हामीलाई देखेर तर्सन्छ र लौ आओ बचाओ भन्दै यस्ताहरूसँग घाँटी जोडेर हिँड्छ । गर्छ के ? सरकारदेखि सरकारसम्म र चुनावदेखि चुनावसम्मको मात्रै यात्रा गर्छ । अनि हामीसँग उसको तुलना हुनसक्छ ? अनि हामी फरक छैनौँ, फरक हैनौँ ? यस्ता सबैखाले एमाले विरोधी प्रपञ्चको ‘ब्याकग्राउन्ड’मा कुनै शक्तिले काम गरेको छ कि त्यतिकै आएको हो पपुलिस्टवाद ?

आजको दुनियाँमा बिना ‘ब्याकग्राउन्ड’ स्वतः स्फूर्त यो सब चिज हुँदै हुँदैन । यी पपुलिस्टवादीहरू पनि त पुराना भए नि । एक पटक चुनाव लडिसकेपछि पनि नयाँ भइरहन्छ ? पुराना भइसके । नयाँ भनेको के हो ? एकदम ताजा हुनु प¥यो नि । अब ताजा छन् त ? पोहरपरार दर्ता भए, चुनाव लडिसके । सरकारमा गइसके । पुराना पार्टीकै लाइनमा गइसके नि ! ‘हाउ मेनी इअर्स वल्ड ? टेन इअर्स वल्ड, ट्वान्टी इअर्स वल्ड ?’ भनेको त कति पुरानो भन्ने हो नि ! अब त कति पुरानो भन्ने हैन र ? वल्ड भनेको ८० वर्षको मात्र होइन । यिनीहरू त पुराना हुन् । पुराना भइसकेका छन् । नयाँ हुन त नयाँ चिज चाहियो नि । नेतृत्व पनि त नयाँ हुनुपर्छ होला ! उनीहरूका मुहारहरू अब पुराना भइसके ।

संविधान जारी गरेपछि नेकपा (एमाले)ले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय आकाङ्क्षाका रूपमा अघि बढ्यो । यसलाई पार्टीले गन्तव्य बनायो । तर, मुलुकको मुख्य कार्यभार यही हो भन्ने कुरा जान्दाजान्दै पनि गठबन्धन सरकारले यो गन्तव्यलाई राष्ट्रिय योजना आयोगका पञ्चवर्षीय कार्यक्रम (१६औँ योजना) देखि अर्थमन्त्रालयका वार्षिक कार्यक्रमहरूमा समेत कहिँकतै यो शब्दको उल्लेख र उच्चारण नै गरेको देखिएन । यस सम्बन्धी कुनै कार्यक्रम पनि अघि बढाएको पाइएन, यसलाई सबैको साझा गन्तव्य बनाउन सकियो भने राम्रो हुन्थ्यो कि !
अघिल्लो वर्षको ‘मूलबाटो’ कै अन्तर्वार्तामा मैले तपाईंहरूलाई भनेको थिएँ— अहिलेको चुनावी स्पर्धा ‘समृद्ध नेपाल, सुखी नेपाली’ का पक्षधर र त्यसका विरोधीहरूका बिचको प्रतिस्पर्धा हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि चाहिने नीति, कार्यक्रम र क्रियाशील लगाव भएका दल र त्यसको विरोधीहरू बिचको प्रतिस्पर्धा हो भनेको थिएँ । अखिर त्यस्तै भयो ।

मूलतः ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन राष्ट्रियताको रक्षा, स्वाधीनताको रक्षा, सार्वभौमिकताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हितहरूको रक्षा, स्वाभिमानको जगेर्ना र स्वाभिमान माथि उठाउने काम गर्न आवश्यक छ । हामी त्यही गरिरहेका छौँ । तर, यो गठबन्धन जुन सरकारका विरुद्ध रचियो, त्यो सरकार जुन लक्ष्य लिएर अघि बढेको थियो— मुलुकको विकास, समृद्धिको आधार मार्फत् संविधान निर्देशित समाजवादतर्फ लम्कन आधार निर्माणको लक्ष्य लिएर अघि बढेको थियो । राष्ट्रिय हितहरूको रक्षा नगरी, जनताको समृद्धिको हितको रक्षा नगरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको बाटोमा हिँड्ने आँट र तागत जोकोहीलाई आउने कुरा पनि थिएन । यो कुरा पनि बुझ्न आवश्यक छ ।

त्यसो त यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाम उच्चारण गर्न सक्तैन । त्यस्तो शब्द उनीहरू उच्चारण गर्नै चाहँदैनन् । अभिशप्त छन् । समृद्ध नेपाल कसरी बोल्ने उनीहरूका मुखबाट ? यदि जनताले थाहा पाए भने, जनता सचेत भए भने, समृद्धि खोजे भने उनीहरूले के दिने ? छ नीति ? छ कार्यक्रम ? छ भिजन ? छ मुलुकप्रतिको निष्ठा ? त्यसैले उनीहरू समृद्ध नेपाल भन्ने सुन्नै चाहँदैनन् । बोल्न पनि सक्तैनन् । उनीहरूको मुखबाट यो शब्द उच्चारण हुनै सक्तैन । जनता समृद्ध बनाउने शब्द उनीहरूको शब्दकोशमै छैन । किनभने यो लडाइँ त्यस विरोधीहरू र ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेका बिचको लडाइँ हो !

त्यसो हो भने नेकपा (एमाले) नै एउटा सिङ्गो राष्ट्रिय शक्तिका रूपमा सरकारको नेतृत्व गरेर यो कार्यक्रमलाई अगाडि बढाउनुपर्ने अवस्था एकातिर छ । अर्काेतिर एमालेप्रतिको आकर्षण पनि देखिन्छ र अन्य दलबाट प्रवेश पनि भइरहेकै अवस्था छ । यही सन्दर्भमा प्रदेश अधिवेशनहरू चलिरहेको यतिबेला कयौँ नेता कार्यकर्ताहरू चाहिँ जिम्मेवारीविहीन हुने हुन् कि भन्ने व्यवस्थापनको समस्या पनि बढेको हो कि जस्तो देखिँदै छ, यसलाई कसरी लिनुभएको छ ?

अलिकति त्यस्तो समस्या होला । तर, मुख्य कुरा के हो भने मैले देशबाट के पाएँ भनेर हिसाब गर्ने कि मैले देशका लागि कति योगदान गरेँ भनेर सोच्ने ? यो अरू पार्टीमा रहेको विषाक्त विचार हाम्रो पार्टीमा पनि अलिकति घुसपैठ भएजस्तो छिरेर आउँछन् । यो सामाजिक प्रभाव होला । तर, हाम्रो पार्टी मैले के पाएँ, देशले मलाई के दियो हैन, मैले देशलाई के दिएँ ? मबाट देशले के पायो ? भनेर सोच्नेहरूको पार्टी हो र, त्यस्तै बनाउनुपर्छ । कुरा व्यक्तिको व्यवस्थापनको होइन, जनताका समस्याहरूको समाधान हो, राष्ट्रका समस्याहरूको समाधान हो । एकजुट भएर गरिने कुरा त्यो हो ।

व्यक्तिको व्यवस्थापन भनेको के हो ? मुख्य कुरा त मान्छेको जीविकाको प्रश्न होला । अनि, जीविकाको प्रश्नबाट मुक्त भएकाहरूको आकाङ्क्षाको व्यवस्थापन ? नत्र के हो व्यक्तिको व्यवस्थापन ? जीविकाभन्दा माथि सुविधानको कुरा आउँछ । अझ उन्नत स्तरको सुविधाको खोजी हो ? त्यसो भएपछि थप सुविधाको व्यवस्थापन हो ?
तसर्थ हामी देशभक्त शक्तिहरू, प्रगतिशील शक्तिहरू, परिवर्तनकारी शक्तिहरू मूलरूपमा व्यक्तिको व्यवस्थापन होइन, जनताका समस्याहरूको सम्बोधनमा केन्द्रित हुने हो । मैले देशबाट के पाएँ होइन, मैले देशलाई के दिएँ भन्ने कोणबाट लाग्ने हो नि । मैले देशका लागि केही गर्नुपर्छ भन्ने सोचबाट निर्देशित हुने हो । जहाँसम्म जिम्मेवारीको कुरा छ, सबैको एकै किसिमको जिम्मेवारी हुँदैन । सबैले आफूलाई योग्य ठान्छन्, जेसुकै कामका लागि पनि योग्य ठान्छन् होला । तर कुरो त्यसो होइन ।

यदाकदा देखिन्छ, म फलानो भन्दा के कम छु भनेको सुनिन्छ । ममा के कमी छ र ? शारीरिक रूपमा त उसमा कमी नहोला, नाक छ, मुख छ, आँखा छन्, हातगोडा छन्, सबै छ । तर, यो हार्डवेयरको कुरा हो । तर सफ्टवेयरको कुरा मुख्य हो । सफ्टवेयर हार्डवेयर जस्तो सजिलो पनि छैन । शारीरिक रूपमा सबल हुनेको यस्तो सफ्टवेयर चाहिँ के कत्तिको छ भन्ने हो नेतृत्व भनेको ।

मान्छेको योग्यताको प्रश्न भनेको पनि उसको व्यवहारबाट देखिन्छ । उसको विचारमा, व्यवहारमा, उसको सक्रियतामा, उसको कौशलमा देखिनु पर्छ । ऊ आफैँले सही मूल्याङ्कन गर्नुपर्नेमा आकाङ्क्षाहरूको थिचाइमा परेर उसले आफ्नो मूल्याङ्न पनि सही रूपमा गर्न सक्तैन । कहिलेकाहिँ मान्छे आफ्नो आकाङ्क्षाहरूको भारीको थिचाइमा पर्छ र आफ्नै मूल्याङ्न पनि सही ढङ्गले गर्न सक्तैन । समस्या त्यहाँनिर हुन्छ । त्यसैकारण हामीले प्रतिस्पर्धा राखेका हौँ । ताकि उसको मूल्याङ्कन अरूले पनि गरून् । योग्य मान्छे, उपयुक्त मान्छे पनि कहिलेकाहिँ पछि पर्छ । केही न केहीको कमी रह्यो, त्यसकारण पछाडि परेको हुन्छ ।

एमालेका अधिवेशनहरूका सवालमा बाहिर जुन हल्ला आइरहेको छ, यो स्याल हुइँयाँ मात्र हो । यो त हाम्रो आन्तरिक लोकतन्त्रको अभ्यास हो । पार्टीहरूमा हुन जरुरी छ । त्यही कुरा माओवादीमा नाउँमात्रको अधिवेशन अथवा भेला भएर दशकौँदेखि उही नेतालाई भजाएर पठाएको कुरा चासो नै नभएजस्तो बन्छ । कांग्रेसको नीति, विधि कहिँ कतै कहिल्यै हुँदैन । मान्छेहरूको घुइँचोमा नेता चुन्ने नाउँमा जे पनि हुन्छ । नेकपा (एमाले)ले विधिसम्मत तरिकाले, स्थानीय तहका कमिटीदेखि केन्द्रीय तहसम्म नेतृत्व चयनका लागि गरेको स्वस्थ लोकतान्त्रिक अभ्यासमाथि स्याल हुइँयाँ गर्न केहीलाई कति पनि लाजघिन लाग्दैन । यो ‘डेमोक्रेटिक एक्ससाइज’ गर्ने, मान्छेले आफ्नो मूल्याङ्कन आफैँ गर्ने कुरा हो ।

अरूको नजरमा उ, खरो उत्रन सकेन भने उसले आफूमा के कमी रहनगयो, प्रतिस्पर्धामा पछाडि कहाँ परेँ भनेर आत्ममूल्याङ्कन गर्ने अवसर पाउँछ । कतै स्टामिना कमी भो कि, हातले काम गरेन कि, दौडन सकिएन कि, हार्टले, लङ्सले केले कम काम ग¥यो त, मसलले काम गरेन कि, मस्तिष्कले कम काम ग¥यो कि भनेर हेर्ने हो नि । प्रतिस्पर्धामा खेलाडीहरू किन पछि परेका हुन्छन् भन्दा उनीहरूका यस्तै अङ्गहरू मध्ये कुनै न कुनैले कमजोर प्रस्तुति गरेर नै पछि परेका हुन्छन् । आफ्नो मूल्याङ्कन आफैंले गर्न नसक्ता कहिले कहिले मान्छेलाई धक्का पनि पर्न सक्छ । त्यो कुरा सहेर अघि बढ्नु पर्छ । हामीभित्रको लोकतान्त्रिक अभ्यासको कुरालाई जित हारको पगरी गुथाएर फलानोले जित्यो, फलानोले हा¥यो, फलनाले समर्थन गरेकाले हार्यो भनेर गरिने हल्लाका पछाडि लाग्नुको अर्थ छैन ।

नेतृत्वको नाम लिएर, दोस्रो तहका नेताको नाम लिएर पनि तल जुनखाले सन्देश गएको देखिन्छ, यो कुरालाई नेतृत्व तहबाटै जोड्ने जोडिने कुरामा कतै केही कमजोरी भएको हो कि भन्नेखालको महसुस पनि हुन्छ । यसलाई कसरी हेर्ने अध्यक्षज्यू ?

नेतृत्वले मूल्याङ्कन गरिरहेको हुन्छ कार्यकर्ताको । सबैभन्दा फराकिलो गरी मूल्याङ्कन गरेको त वास्तवमा नेतृत्वले नै हुन्छ । त्यसकारण नेतृत्वको मूल्याङ्कनमा विश्वास गरेर भर पर्यो भने पार्टीमा स्वस्थता हुन्छ । आफ्नो मूल्याङ्कन आफूले पनि सही ढङ्गले गर्न सकेन र नेतृत्वले गरेको मूल्याङ्कन पनि उसलाई स्वीकार्य भएन भने ऊ आफैँमा समस्या पैदा हुन्छ । त्यसो भएपछि उसले फेरि मतदाताका बिचमा जानु पर्छ ।
मतदाताका बिचमा जाँदा कहिलेकाहिँ मतदातामा सूचनाको कमीका कारण, अनुपयुक्त परिणाम पनि आउन सक्छ । उपयुक्त व्यक्ति नछानिएर अनुपयुक्त व्यक्ति पनि छानिन सक्छ । तर, त्यतिबेलाका निम्ति जो छानियो त्यही सत्य हो । अनुपयुक्त छ भने पनि समयक्रममा प्रमाणित होला । अनुपयुक्त नै रहेछ भने पनि ऊ अनुपयुक्त प्रमाणित हुन्छ नै ।

कहिले कहिले अर्काे व्यक्ति भए कस्तो हुन्थ्यो भन्ने कुरा देखाउन त उसले पाउँदैन । कमजोर नै भए पनि उसको प्रस्तुति कस्तो हुन्थ्यो होला भन्ने पर्छ । हो, यस्तो अवस्थामा लिडरसिपले मूल्याङ्कन गरेको हुन्छ । उसको कार्यक्षमता, आनिबानी, आचारण के छ ? त्यस्ता कुरामा ध्यान दिन नेतृत्वमा लाग्नेहरूको दायित्व पनि हो । नेतृत्वको नाम भजाएर दौडमा जित्छु भन्नेहरूको कुरा नगरौँ तिनीहरू त कमजोर पात्र हुन् । जहाँसम्म हाम्रा अधिवेशनहरूमा नेतृत्वको नाम लिएर तल जे भयो भनिदै छ, त्यसको कुनै अर्थ छैन । त्यस्तो कुरा बाहिरी हल्ला मात्रै हो । एमालेको पर्खालभित्र के भइरहेको छ भन्ने पर्खाल बाहिरकाहरूले यसो कतै छर्रा छर्न सकिन्छ भन्ने बदनियत भएकाहरूले गरेका हल्लाको कुनै तुक छैन । नेकपा (एमाले)भित्र त्यस्तो कुनै समस्या छैन । जटिल अवस्थाबाट त पार्टीलाई यहाँ ल्याउन सफल भएका छौँ भनेपछि अब त्यस्तै जटिलता परिहाल्छ कि भनेर जालो थाप्नेहरूको ढोक्सा रित्तो हुन्छ । बस् ।

‘मिसन–२०८४’ केन्द्रित पार्टी गतिविधिहरू अघि बढिरहेका छन् । हिजो हामीले जनतालाई सुसूचित गर्न सकेनौँ, जनतामा विपक्षीहरूले छरेको भ्रम चिर्न जति सक्नुपर्ने हो सकेनौँ भन्नुभयो । २०८४ सम्म आइपुग्दा त्यो भ्रम चिरेर सफल हुनेबारे केही प्रस्ट पारिदिनुहुन्छ कि ?

‘मिसन–२०८४’ त शब्दका लागि शब्द दिएको मात्रै त होइन नि । ‘मिसन–२०८४’ भनेको ‘मिसन–२०८४’ नै हो । यसका निम्ति हामीले भगिरथ प्रयत्न गर्नुपर्छ । अहिलेको अवस्थालाई एक्ज्याक्ट्लिी डब्ल्याउनु पर्छ । जुन ठाउँमा आज हामी छौँ, जुन स्थितिमा छौँ त्यस अवस्थाबाट माथि उठ्नै पर्छ, डब्ल्याउनु नै पर्छ । मिसन–२०८४ योजना विनाको ब्ल्याङ्क–फायर होइन । त्यसो भएर हामीले यो ‘मिसन–२०८४’ ल्याएका हौँ । केही नबुझी, हचुवाका भरमा ल्याएका होइनौँ । यो कुनै ‘ब्ल्याङ–फायर’ गरेर छोड्नका निम्ति ल्याएको होइन । ‘ब्ल्याङ्क–फायर’बाट कुनै सिकार हुनेवाला छैन । हामी त्यस्तो ‘ब्ल्याङ्क–फायर’मा छैनौँ । हामी योजनाबद्ध छौँ । हाम्रो ‘मिसन–२०८४’ सफल हुन्छ ।

उपत्यका विशेष प्रदेश कमिटी आफैँमा विशिष्ट किसिमको छ । फरक भुगोलको, गैरभुगोल क्षेत्रको राजनीतिक काम गर्ने कमिटी हो । यो विशेष कमिटीलाई विशेष निर्देशन वा विशेष सुझाव र पार्टीको अपेक्षाबारे केही भन्नुहुन्छ कि अध्यक्षज्यू ?
यो कमिटीको धेरै महत्त्व छ । यसले गर्नुपर्ने काम धेरै छन् । यसले धेरै प्रभावकारी ढङ्गले काम गर्नुपर्छ । अहिलेसम्मको काम सन्तोष गर्नमिल्ने स्तरको अलि छैन । यही स्तरको, यही तरिकाको काम गराइले ‘मिसन–०८४’ मिट गर्दैन । ‘मिसन–०८४’ का लागि विशेष सोच, विशेष नीति, विशेष योजना, विशेष प्रबन्ध, विशेष क्रियाशिलता आवश्यक छ । सदस्यता विस्तादेखि कमिटी विस्तार तिनको सही मिसनमा परिचालनसम्मका तौरहरूमा तीब्रता जरुरी छ ।

कमिटी बनायो, छाडिदिएर काम छैन । यो कस्तो हो भने, तपाईंसँग बिऊ त हुन्छ नि, भकारीमा होला, पोकामा होला । बिऊ त हुन्छ तर मलजल सहितको बारीमा लगेर तपाईंले छर्नुभयो भने, उमार्नुभयो भने न त्यसको प्रतिफल पाउनुहुन्छ । त्यसलाई छरेर मात्रै पनि पुग्दैन, उमारेर, गोडमेल गरेर, यसअघिको भन्दा अझै उन्नत प्रतिफल लिनुपर्ने गरी काम गर्नुपर्छ । हाम्रो मिसन भनेको त्यही बिऊजस्तै हो । असल जातको बिऊ छ, राम्रो उत्पादन दिने बिऊ छ, तर भकारीमा छ, पोकामा छ, थैलोमा छ भने के काम ? हाम्रो शरीरमा रक्त सञ्चारजस्तो हुनु पर्छ । मुटुले पाउदेखि टुप्पीसम्म नै रक्त प्रवाह गर्छ । लिन्छ छोड्छ यो प्रक्रिया गरिरहन्छ र त हामी जीवित छौँ भन्ने हुन्छ । सिङ्गो पार्टीको जुनसुकै अङ्ग पनि त्यस्तै हुनुपर्छ । त्यसले ‘सिस्टलिक’ र ‘डिस्टलिक’ दुइटै हिसाबले फ्याक्ने लिने, त्यो ढङ्गले हाम्रो काम, गति र परिणाम हुनु पर्छ । सबैतिर चलायमान, ताकि शरीरको कुनै पनि अङ्ग, कुनै पनि सेल निस्क्रिय बसेको हुँदैन । नदेखिँदा पनि काम भइरहेको हुन्छ ।

विशेष क्षेत्रको भूमिका हेर्ने हो भने हिजो पञ्चायत कालमा पनि शिक्षक, पेशागत, युवा–विद्यार्थी, मजदुरहरूको विशेष भूमिका रहेको छ । ०६२/६३ मा पनि यो क्षेत्र निकै क्रियाशील ढङ्गले परिचालित भयो । यो क्षेत्र कहिँ न कहिँ लाभकारी क्षेत्रमा पनि छ । कहिले काहिँ अवसरका लागि डोलायमान भएको पनि देखिन्छ, बहकिएको पनि देखिन्छ । एमाले विभाजनमा यो क्षेत्रले अलि बढी ऊर्जा प्रदान गरेको हाम्रो निष्कर्ष पनि छ । यस पछाडि त्यही खालको तत्त्व, त्यही खालको प्रवृत्तिले काम गरेको छ । यो क्षेत्रलाई अझै ऊर्जाशील ढङ्गले परिणामुखी बनाएर परिचालन गर्नेबारे अध्यक्षज्यूको थप सुझाव वा निर्देशन छ कि ?

मानिसको जाति सचेत छ । यो जातिको विकास कसरी भयो । मानव जाति कसरी कृषि र पशुपालनको युगमा प्रवेश ग¥यो भन्ने हो भने सङ्कनलबाट सञ्चयमा गएपछि विकास भयो । उसले वनमा सिकार गरेर ल्याउँथ्यो । अब घरमै पाल्नथाल्यो । सञ्चय भयो । विकास भयो । कृषिमा लाग्यो थप सञ्चय तर्फ गयो । आमरूपमा यो चेतनाको अभिव्यक्ति हो । सञ्चयले विकास र प्रतिस्पर्धा बढाएको छ । यो राम्रो कुरा हो ।
तर, यो नराम्रो कुरा पनि हुनजान्छ कहिले कहिले सञ्चय गर्ने कुरामा गलत प्रवृत्ति र गलत तरिकाले मान्छेलाई गलत प्रवृत्ति, गलत प्रक्रिया तर्फ धकेलिदिन्छ । सञ्चय त गर्ने अति सञ्चय गर्ने, अवसर पाइरहेकाले अझै अवसर खोज्ने नपाएकालाई नदिने वा छेक्नेथुन्ने कुरा गलत हो ।
त्यसैले, हामीले यस प्रवृत्तिको स्वाभाविक र मौलिकतालाई बुझ्नु पर्छ । सङ्ग्रहको प्रवृत्तिको स्वाभाविकता । यसको प्राकृतिक आचारण, प्रवृत्तिलाई बुझ्नु पर्छ । यसलाई विकृतितर्फ जानबाट रोक्नु पर्छ हाम्रो काम त्यही हो । सञ्चयको प्रवृत्ति पनि नहोस् भन्नेठान्नु पनि बेकार हो । यो क्षेत्र अलि बढी स्वार्थी पनि छ । यति हो कि त्यो स्वार्थ पुरा गर्न वा सञ्चय गर्नेतिर अनुचित उपाय, प्रवृत्ति वा अन्याय, असामाजिक, गैरमानवीय बन्न दिनु हुन्न । त्यसतर्फ हाम्रो सचेत प्रयत्न हुनुपर्छ । हामी प्रशिक्षित गर्न सक्छौँ ताकि त्यसो गर्दा ऊ इमानदार हुन सक्छ र देशप्रति सकारात्मक योगदान दिनेतर्फ लाग्नसक्छ ।

जहिलेसुकैको आन्दोलनमा पनि युवाहरूको भूमिका अग्रणि हुन्छ । त्यो इन्जिनको काम गर्ने एउटा उत्प्रेरक शक्ति, त्यसका वरपर अन्य युवाहरू गोलबद्ध हुन्छ । त्यसले एउटा ममेन्टम, आन्दोलन सिर्जना गरेपछि त्यसले आफूतर्फ आकर्षण गर्छ । त्यसका पछाडि अर्काे शक्तिहरू लाग्छन् । तर, रेलका सबै डब्बा इन्जिन होइनन् । तिनमा फ्युल पनि हुँदैनन्, इन्जिन पनि हुदैन । तर, गन्तव्यमा पुग्ने चिज नै बोकेर हिँडिरहेका हुन्छन् । इन्जिन हामीले निर्माण गर्ने हो, डब्बा तयार गर्ने हो, प्यासेन्जर गन्तव्यको भरपर्दाे ठाउँमा पु¥याउँछ है भनेपछि चढ्ने गर्छन् । विगतका आन्दोलनमा पनि त्यही हो र आउने आन्दोलनका लागि पनि त्यही हो ।

तसर्थ, यो विशेष क्षेत्रको असाधारण महत्त्व छ । यो बौद्धिक ढङ्गले सञ्चालन गरिनुपर्ने ठाउँ हो । बौद्धिक तरिकाले बुझेर सञ्चालन गरिनु पर्ने ठाउँ हो । यदि बौद्धिकताको कमी भयो भने यो क्षेत्रले टेर्दैन । बौद्धिकता छैन भने किन लिडर मान्छ, मान्दैन । यो इन्जिन चल्दैन, यो डब्बाले गन्तव्यमा लैजाँदैन भन्ने ठान्यो भने त मानिस किन चढ्छ ?

त्यसकारण तपाईंहरूले विश्वासिलो, भरपर्दाे, बलियो इन्जिन बनाउनु पर्यो , ताकि यसले तानोस्, गन्तव्यसम्म पु¥याओस् । ताकि आकर्षण बढोस् । तरिकालाई नवीकृत गर्नुहोस्, योजनालाई नवीकृत गर्नुहोस् । नत्र भने पुरानो भइन्छ । डक्टर पढेको छ तर अहिलेको औषधि विज्ञानसँग ऊ ‘अप–टु–डेट’ छैन भने के काम ? २० वर्षअघिको ज्ञान मात्रै छ अहिलेको छैन भने अहिलेको रोगको पहिचान गर्ने क्षमता ऊसँग कसरी होस् ? ‘अप–टु–डेट’ भइरहेको छैन भने ऊ पुरानो हुन्छ । विचार पनि त्यही हो । राजनीतिमा पनि यही कुरा लागु हुन्छ । शैली, तरिकामा पनि यही कुरा लागु हुन्छ । तसर्थ नवीकृत भएर चल्नुहोस् ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  २ : ५७ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको