२०८१, २१ बैशाख शुक्रबार

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस


काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी नेपाल, दुवई र बहराइनका होटलमा विद्यार्थीहरुलाई इन्टर्नशिपमा पठाउन सफल भएको जनाएको छ । यस्तो नेपालमै पहिलो पटक भएको दाबी गरिएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै होटल तथा पर्यटन व्यवसायका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०७६ सालदेखि क्याम्पसमा वीएचएम कार्यक्रम शुरु गरेको जानकारी दिइयो ।

उक्त कार्यक्रमले होटल व्यवस्थापन, पर्यटन व्यवस्थापन एवम् अतिथि सत्कारसँग सम्बन्धित गहन तथा व्यावहारिक ज्ञान प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई होटल, पर्यटन एवम् सम्बन्धित अन्य व्यवसायमा आवश्यक ज्ञान र सीप प्रदान गरी दक्ष जनशक्ति तयार गर्नु हो ।

विद्यार्थीहरुले आफू भर्ना भएका कलेजहरुमा तीन बर्षसम्म अध्ययन गरेपछि एक वर्ष स्वदेशी तथा विदेशी होटल एवं पर्यटन क्षेत्रमा इन्टर्नशिपका लागि जानुपर्छ । इन्टर्नशिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यता छ ।

यस्तो अवस्थामा पद्मकन्या क्याम्पसले आफ्ना प्रथम समूहका विद्यार्थीहरुलाई आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी नेपाल, दुवई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउन सफल भएको ब्याचलर अफ होटल म्यानेजमेन्टकी कार्यक्रम निर्देशक एवं क्याम्पस प्रमुख प्राडा जयालक्ष्मी प्रधानको भनाइ छ ।

कार्यक्रमअन्तर्गत हरिकला भुसाल लगुना बिच रिसोर्ट तथा स्पा बहराईनमा वेटर्स इन्टर्नशिप छात्रवृत्ति र रश्मि पौडेल सोही रिसोर्टमा फुड एण्ड वेभरेज सर्भिस इन्टर्नशीप छात्रवृत्तिमा गएका छन् ।

यसैगरी, निशा खत्री लगुना बिच रिसोर्ट तथा स्पा बहराईनमा रिसेप्सनिष्ट इन्टर्नशीप छात्रवृत्ति, प्रतीक्षा भण्डारी सोही रिसोर्टमा फुड एण्ड वेभरेज सर्भिस इन्टर्नशिप छात्रवृत्तिमा छन् ।

यस्तै, रिजा श्रेष्ठ र रोजिना खड्का हायात रेजेन्सी दुवई र गेलेरिया दुवईमा अपरेशन इन्टर्न कुलिनरी किचन इन्टर्नशिप छात्रवृत्तिमा रहेको जनाइएको छ ।

अर्की विद्यार्थी सोनिया चेम्जोङ मेरियट होटेल काठमाडौंमा फुड एण्ड वेभरेज सर्भिस प्लेसमेण्ट सपोर्ट तथा निरमाया चौधरी थारु रेडिसन होटल काठमाडौंमा फुड एण्ड वेभरेज सर्भिस प्लेसमेण्ट सपोर्ट छात्रवृत्तिमा छन् ।

विदेशमा इन्टर्नशिपका लागि पठाउँदा प्रतिविद्यार्थी ७५ हजार रुपैयाँ छात्रवृत्ति दिइएको थियो । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य बिमा व्यवस्थापनमा उक्त रकम उनीहरुले खर्च गरेका थिए ।

क्याम्पसमा स्नातक तहको वीएचएम कार्यक्रमलाई वीएचएम प्लसको रुपमा अध्ययन–अध्यापन भइरहेको छ । वीएचएम प्लस भनेको विद्यार्थीहरुलाई नियमित पाठ्यक्रमको अतिरिक्त होटेल तथा पर्यटन व्यवसायलाई आवश्यक पर्ने ‘हस्पिटालिटी सफ्ट स्किल्स’ मा व्यावसायिक क्षमता विकास गर्नु रहेको उपप्राध्यापक उमेश रेग्मीले बताए ।

यस्ता व्यावसायिक कक्षाका लागि विद्यार्थीसँग अतिरिक्त शुल्क नलिइएको क्याम्पसले जनाएको छ । ‘हस्पिटालिटी सफ्ट स्किल्स’ अन्तर्गत ननक्रेडिट कोर्षमा दुई महिने ‘प्रोफेसनल इंगलिस ल्याङग्वेज कोर्ष’ पद्मकन्याका प्राध्यापक, होटेल एसोसिएसन नेपाल, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुले अध्यापन गराउने गरेका छन् ।

ननक्रेडिट कोर्षअन्तर्गत बारिष्टता तालिम (अन्तर्राष्टिय मान्यताप्राप्त प्रमाणपत्र), बार टेण्डिङ एण्ड मिक्सोलजी, आइस कार्भिङ, फ्रुट एण्ड भेजिटेवल कार्भिङ वर्कशप छन् ।

यसै सत्रदेखि वीएचएम कार्यक्रमलाई पढ्दै कमाउँदै कार्यक्रमको रुपमा सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसअन्तर्गत विद्यार्थीलाई हप्तामा पाँच दिन कक्षा कोठामा पढाउने र बाँकी दुई दिन काठमाडौंका पाँचतारे होटेलमा ‘आउटडोर क्याटरिङ’ मा सहभागी गराउने योजना क्याम्पसको छ । यसका लागि काठमाडौंका द सोल्टी होटेल जस्ता होटेलहरुसंग प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

यसै सत्रदेखि वीएचएम कार्यक्रमका विद्यार्थीहरुलाई अतिरिक्त कक्षाअन्तर्गत आधारभूत तहको चिनियाँ भाषा कक्षा सञ्चालन गरिने भएको छ । यो कक्षा कन्फ्यूसियस इन्स्टिच्यूट चीन र त्रिभुवन विश्वविद्यालयसँग सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।

‘हस्पिटालिटी एक्स्पोजर प्रोग्राम’ अन्तर्गत हरेक सेमेष्टरमा विद्यार्थीलाई थप व्यावसायिक बनाउनका लागि होटेल तथा पर्यटन व्यवसायसँग सम्बन्धित होटल भ्रमण कार्यक्रम, आवश्यकता बमोजिम ‘इन–फ्लाइट क्याटरिङ भिजिट’, वाइनरी (वाइन उद्योग), ब्रेवरी (बियर उद्योग) को अवलोकन भ्रमण गराइँदै आएको छ । यसका लागि विद्यार्थीले अतिरिक्त शुल्क बुझाउनु पर्दैन ।

वीएचएम कार्यक्रम पद्मकन्या क्याम्पसमा आत्मनिर्भर कार्यक्रमको रुपमा सञ्चालित भएकाले चार बर्षको शुल्क ६ लाख रुपैयाँ रहेकोमा यस वर्ष क्याम्पसले सम्पूर्ण विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराएर ४ लाख ५० हजार रुपैयाँमा अध्यापन गराइँदै आएको जनाइएको छ । महिलाहरुलाई होटल व्यवस्थापनमा प्रोत्साहन गर्नका लागि क्याम्पसले यसरी छात्रवृत्ति उपलब्ध गराएको हो ।

यसबाहेक क्याम्पसले वीएचएमका विद्यार्थीका लागि स्वदेशमा आठ दिन र विदेशमा १५ दिनसम्म होटल तथा पर्यटन भ्रमण कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल भित्रका होटेल तथा पर्यटन भ्रमण गर्दा प्रतिविद्यार्थी १ हजार २ सय प्रतिदिन तथा नेपाल बाहिरको हकमा प्रतिविद्यार्थी १ हजार ५ सय प्रतिदिन उपलव्ध गराउने गरिएको छ ।

वीएचएमका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्पसले छात्रवृत्तिका विभिन्न योजना ल्याइएको छ । त्यसअन्तर्गत त्रिवि पूर्ण छात्रवृत्ति योजनामा १० प्रतिशत विद्यार्थी, होटल तथा पर्यटन व्यवसायको सहकार्यमा स्थापित जेहेन्दार छात्रा छात्रवृत्ति अन्तर्गत १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति, जेहेन्दार छात्रा प्रोत्साहन छात्रवृत्तिअन्तर्गत सेमेष्टर सत्रान्त परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहन छात्रवृत्ति दिइने जनाइएको छ ।

यस्तै, स्थानीय निकाय छात्रवृत्तिअन्तर्गत गरिव तथा विपन्न एवं सीमान्तकृत समुदायका छोरीको उच्च शिक्षामा पहुँच वृद्धि गर्नका लागि क्याम्पस र स्थानीय निकायको समन्वयमा छात्रवृत्ति कार्यक्रम सञ्चालित रहेको क्याम्पसले जनाएको छ । यसैगरी, विश्वविद्यालय अनुदान आयोगले पनि विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

अन्य छात्रवृत्तिको लागि सरकारी निकाय एवं गैरसरकारी संघ संस्थासँग आवश्यक पहल भइरहेको उपप्राध्यापक रेग्मीले बताए । विभिन्न निकायमा भविष्यमा सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा वीएचएम अध्यापन गराउने क्याम्पसको योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ४ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने