गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहको आक्रमण , प्रहरीका असई घाइते

जनकपुर ५ माघ : धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । लुटेरा समूहको आक्रमणमा परी धनुषामा प्रहरीका असई घाइते भएका छन् ।
धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ ।
गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।
घटनास्थल पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा पोखरेललाई आक्रमण भएको थियो ।
लुटपाट र आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए । पक्राउ परेका मध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।