२०८१, १० बैशाख सोमबार

६० लाख नागरिकका लागि भारतसँग खोप किन्न पहल

६० लाख नागरिकका लागि भारतसँग खोप किन्न पहल

प्रभावकारिताबारे भारतमै प्रश्न


काठमाडौं, २६ पुस :  कोभ्याक्सबाट प्राप्त हुने खोप आउनुभन्दा पहिला नै सरकारले २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गरेको छ । त्यसका लागि सरकारले भारतसँग चरणबद्ध छलफल गरिरहेको छ ।

कोभ्याक्सको खोप सन् २०२१ को पहिलो चौमासिकपछि मात्रै आउने जानकारी पाएकाले त्यसअघि नै खोप किनेर जनतालाई लगाउने योजना बनाएको स्वास्थ्य मन्त्रालयका कोरोना खोप सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेतीले बताए । कोभ्याक्स सुविधाबाट पनि २० प्रतिशत जनतालाई पुग्ने खोप आउँछ ।

सरकारले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतको सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरिरहेको एस्ट्राजेनेका र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खरिदका लागि छलफल गरिरहेको छ । यी भ्याक्सिनले भारतमा इमर्जेन्सी भ्याक्सिनेसनका लागि अनुमति पाइसकेका छन् । नेपालले मूल्यलगायत विषयमा औषधि उत्पादक कम्पनीसँग समन्वय गरेर सहजीकरण गरिदिन भारतलाई आग्रह गरेको थियो । तापक्रम मिल्ने र नेपालले स्टोरेज गर्न सक्ने भएकाले पनि यी दुई कम्पनीका खोप ल्याउन सरकारले द्विपक्षीय छलफल गरिरहेको छ ।

दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले तीन सातादेखि खोप खरिदका लागि यी दुई कम्पनीका अधिकारीसँग छलफल गर्दै आएका छन् । आचार्यले दुई साताअघि सेरमका अतिरिक्त निर्देशक प्रकाश सिंहसँग नेपाली दूतावासमै छलफल गरेका थिए । त्यस्तै, शुक्रबार सेरमका महाप्रबन्धक प्रसेन आध्यासँग पनि खोप खरिदबारे छलफल गरेका छन् । राजदूत आचार्यले २२ पुसमा भारत बायोटेकका कार्यकारी निर्देशक डा। भी कृष्णमोहन र उनको टिमसँग छलफल गरेको नेपाली दूतावासले जनाएको छ । छलफलमा दुवै कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने सहमति जनाएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप उपलब्ध गराउन भारतीय समकक्षी डा। एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीलाई चिठी लेखेका थिए । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार खोपका लागि दूतावासका तर्फबाट भारतको नीति आयोग, स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालयसँग समन्वय भइरहेको छ । भारत सरकारको सहजीकरणमा निजी कम्पनीहरूबाट खोप खरिद गर्ने सरकारको योजना छ । तर, भारतबाटै खोप खरिद गर्ने निर्णय भने भइसकेको छैन ।

‘भारत सरकारका तर्फबाट विदेश मन्त्रालयको उत्तरी डिभिजनका अधिकारीहरूले दुई खोप निर्माता कम्पनीलाई खोप नेपाल लैजान सहजीकरणका लागि आग्रह गरिसकेको छ भन्ने रिपोर्ट हामीकहाँ आएको छ,’ स्रोतले भन्यो, ‘नेपाललाई सेरम र भारत बायोेटेक दुवैले प्रस्तुतीकरण गरिसकेका छन् र सहुलियत दरमा नेपाललाई खोप बिक्रीका लागि सकारात्मक रहेको जवाफ दिएका छन् ।’

यस विषयमा जानकार अधिकारीका अनुसार सेरम इन्डियाको खोप पाँच एमएलले दशजनालाई लगाउन पुग्छ भने भारत बायोटेकको २० एमएल खोप दशजनालाई लगाउन पुग्ने खालको छ । ‘इमर्जेन्सी भ्याक्सिनेसनका लागि यी दुई कम्पनीसँग हाम्रो कुराकानी रहेको छ । यसमा केही दिनमै नतिजा आउने गरी काम गरिरहेका छौँ,’ दिल्लीस्थित दूतावास स्रोतले भन्यो । तुलनात्मक रूपमा सेरमको खोप भारत बायोटेकको भन्दा सस्तो देखिएको छ ।

सरकारले खोप खरिदका लागि भारतलगायत चीन, बेलायत, अमेरिका, जर्मनी, अस्ट्रेलिया र रसियासँग परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरेको थियो । तीमध्ये भारत, चीन र रसियाले मात्र नेपाललाई खोप उपलब्ध गराउन सक्ने जानकारी दिएका छन् । त्यसमा पनि दुई भारतीय कम्पनीले बनाएका खोप नेपालमा भण्डारण गर्न सकिने अर्थात् दुईदेखि आठ डिग्री सेन्टिग्रेट तापक्रममा राख्न मिल्ने छन् ।

‘नेपालमा नियमित खोप भण्डारण गर्ने क्षमतामै भारतीय कम्पनीका खोप पनि भण्डारण गर्न सकिन्छ । त्यसैले सेरम इन्स्टिच्युट इन्डिया र भारत बायोटेक कम्पनीले बनाएको खोपको भण्डारण नेपालमा पनि सहज छ,’ कोरोना खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज डा उप्रेतीले भने । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पनि दुईदेखि आठ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न मिल्ने खोपलाई खरिद गर्न प्राथमिकतामा राखेको बताए ।

प्रवक्ता गौतमका अनुसार दुई हप्ताभित्र खोप कहाँबाट कसरी ल्याउने भन्ने टुंगो लाग्नेछ । ‘कुन खोप ल्याउने भन्ने विषयका छलफल अहिले अन्तिम चरणमा छन्,’ उनले भने । चीनको प्रतिखोप ११ डलर र भारतको सात डलर पर्दै छ, रसियाको खोपको भने अझै मूल्य यकिन हुन नसकेको उनको भनाइ छ ।

डा। उप्रेतीका अनुसार अहिले स्वास्थ्य मन्त्रालयले खोप उत्पादन गर्ने कम्पनीहरूसँग पनि सीधै छलफल गरिरहेको छ । ‘मन्त्रालयले सम्बन्धित कम्पनीलाई तिमीले उत्पादन गरेको खोप कति संख्यामा कुन मूल्यमा दिन सक्छौ भनेर जानकारी समेत मागेको छ,’ उनले भने ।

संयोजक डा। उप्रेतीले बताएअनुसार खोप ल्याउने पहिलो प्रयास जिटुजीमार्फत नै हो । यदि जिटुजीमार्फत खोप ल्याउन सम्भव नभए सरकारले खोप उत्पादन गर्ने कम्पनीसँग सीधै किन्नेछ । तर, त्यस प्रक्रियाबाट पनि सम्भव नभएको खण्डमा नियमित खरिदको प्रक्रियामा जाने बताइएको छ ।

अग्रपंक्तिमा खटिने नौ लाखजनाका लागि भारतले अनुदानमा खोप दिने

भारतले महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका नौ लाख स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ मजदुरलगायतलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । सरकारले कुल जनसंख्याको २० प्रतिशत नागरिकलाई पुग्ने गरी भारतबाट खोप खरिद गर्ने तयारी गरिरहेको छ ।

यहीबीच भारतले तीन प्रतिशत जनसंख्यालाई पुग्ने खोप अनुदानमा दिने जनाएको हो । १ माघमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्नुअघि नै भारतले खोप उपलब्ध गराउने घोषणा गर्ने जानकारी सरकारलाई प्राप्त भएको स्रोतको भनाइ छ ।

‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणअघि नै भारत सरकारका तर्फबाट अनुदानमा खोप उपलब्ध गराउने घोषणा हुने जानकारी आएको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘भारतले आफ्ना स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी तथा सफाइकर्मीलाई एक सातापछि खोप दिन सुरु गर्दै छ, त्यही आसपासमा नेपालका लागि पनि उसले खोप दिने घोषणा गर्ने जानकारी आएको छ । दिल्लीस्थित नेपाली दूतावासले यस विषयमा समन्वय गरिरहेको छ ।’

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन १ माघमा नयाँदिल्ली जाँदै छन् । भारतले आश्वासनअनुसार खोप उपलब्ध गराएमा सरकारले बाँकी १७ प्रतिशत जनसंख्यालाई पुग्ने गरी भारतबाट खोप खरिद गर्नेछ ।

भारतमा आगामी सातादेखि खोप लगाउन सुरु

भारत बायोटेकको कोभ्याक्सिनको तेस्रो चरणको परीक्षणको तथ्यांक नै सार्वजनिक नभएकोमा भारतमै प्रश्न उठेका छन् । भारतमा १६ जनवरीबाट राष्ट्रव्यापी रूपमा कोरोना खोप कार्यक्रम सुरु हुने भएको छ । भारत सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, शिक्षामा काम गर्ने जनशक्ति तथा प्रहरीलगायत गरी तीन करोडलाई खोप लगाउने जनाएको छ ।

भारतले अक्सफोर्ड–एस्ट्राजेनेका र कोभ्याक्सिन गरी दुई खोपको उत्पादन मात्र होइन, प्रयोग नै सुरु गरेको छ । अक्सफोर्ड–एस्ट्राजेनेका खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमै उत्पादन गरिरहेको छ, जुन विश्वको सबैभन्दा ठूलो खोप उत्पादक हो । उसले महिनाको पाँच करोडका दरले खोप उत्पादन गरिरहेको जनाएको छ ।

त्यस्तै, भारत बायोटेकको खोप कोभ्याक्सिन कति प्रभावकारी छ भन्ने धेरै तथ्यांक बाहिर नआउँदै स्वीकृति प्रदान गरिएकोमा प्रश्न पनि उठिरहेका छन् । यो खोप ठूलो मात्राको ट्रायल हुनै बाँकी छ, प्रभावकारिताको विषयमा पनि ‘डेटा’ सार्वजनिक नगरिएको भन्दै भारतीय पे्रेसमा बहस भइरहेको छ ।

भारतका औषधि महानियन्त्रक भिजी सोमानीले भने कोभ्याक्सिन सुरक्षित रहेको र यसले बलियो रोग प्रतिरोधी प्रतिक्रिया प्रदान गर्ने बताए । उनले ३ जनवरीका दिन कोरोनाविरुद्धका दुई खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएका थिए । अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरिएको ‘एस्ट्राजेनेका’ र स्थानीय प्रयोगशाला ‘भारत बायोटेक’को ‘कोभ्याक्सिन’लाई भारतले अनुमति दिएको हो ।

भारतमा स्वीकृति पाएका दुवै खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ, जुन घरायसी फ्रिजमा हुने तापक्रमबराबर हो । त्यस्तै, अहिलेकै स्वास्थ्य संरचनामा पनि यी खोप वितरण गर्न सकिने पनि जनाइएको छ । जब कि फाइजर–बायोनेटले विकास गरेको खोप माइनस ७० डिग्री तापक्रममा राख्न सकिन्छ ।

‘भारतमा खोप लगाउन थालिएको १५ दिनभित्र हामी दक्षिण एसियाली छिमेकी मुलुक तथा विश्वका अन्य क्षेत्रमा निर्यातको अनुमति दिन्छौँ,’ भारतको विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘त्यसमध्ये केही हामी आफैँ किनेर छिमेकीलाई उपहार दिनेछौँ, केही भने निर्यात गर्नेछौँ ।’ छिमेकी मुलुकमा खोप निर्यात गर्दा भारत सरकारले खरिद गर्ने दरबराबरमै गर्ने पनि उनले बताए ।

भारत संसारमा दोस्रो धेरै कोरोना संक्रमित भएको मुलुक हो । भारतमा एक करोड तीन लाखभन्दा धेरै मानिसलाई कोरोना लागेको प्रमाणित भएको छ भने करिब एक लाख ५० हजारको मृत्यु भइसकेको छ । भारतमा ९० हजार स्वास्थ्यकर्मीलाई खोप दिलाउने कार्यमा तयार बनाउन देशव्यापी अभ्यास गरिएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ पुस आईतबार  ८ : ३६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने