२०८१, १० बैशाख सोमबार

दुई तिहाइका प्रधानमन्त्री अब छलछामको भरोसामा

दुई तिहाइका प्रधानमन्त्री अब छलछामको भरोसामा


काठमाडौं, ३ पुस । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने स्थायी कमिटीको निर्णयलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले चुनौती दिएका छन् । यसलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले प्रधानमन्त्री ओलीले पार्टी निर्णय अवज्ञा गरेको रूपमा अथ्र्याएका छन् ।

बुधबार नेकपाको स्थायी कमिटीले मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपतिकहाँ समावेदन दर्ता नगर्ने र संवैधानिक परिषद्का प्रमुख र पदाधिकारीहरूको नियुक्ति सहमतिमा गर्ने निर्णय गरेको थियो । तर, त्यसको अर्को दिन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ताबारे प्रक्रिया अगाडि बढाएनन्, बरु अध्यादेशकै जगमा संवैधानिक परिषद्को बैठक पनि बोलाए ।

‘प्रधानमन्त्रीले पार्टी निर्णयको फेरि अवज्ञा गरे । अध्यादेशकै जगमा परिषद् बैठक बोलाए, यद्यपि अर्का अध्यक्षको आपत्तिपछि बैठक स्थगित भयो । अर्को कुरा, प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे निर्णय गराएनन्,’ नेकपा सचिवालयका एक सदस्यले भने, ‘विगतमा जस्तै यसपालि पनि प्रधानमन्त्री पार्टी निर्णयप्रति गम्भीर देखिएनन् । छलछाम र षड्यन्त्रको राजनीति गरे ।’

ओलीले अध्यक्ष प्रचण्डलाई छलफलका लागि भन्दै बिहीबार साढे तीन बजे बालुवाटार बोलाएका थिए । तर, त्यसअघि साँझ ५ बजे परिषद्को बैठक बस्ने सूचना सदस्यहरूलाई पठाइसकेका थिए । यही विषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच केहीबेर तनावपूर्ण संवाद भएको थियो ।

यस विषयमा ओली र प्रचण्डबीच सहमति नभई संवाद टुंगिएको थियो । प्रधानमन्त्री ओलीसँगको छलफललगत्तै प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटार बोलाएर छलफलको ‘ब्रिफिङ’ सुनाएका थिए । उनले प्रधानमन्त्री ओली अझै अध्यादेश फिर्ताका लागि पूर्ण रूपमा तयार नभइसकेको जानकारी गराएको छलफलमा सहभागी एक नेताले बताए ।

‘उहाँ ९प्रचण्ड० ले अध्यादेश फिर्ता नलिए तत्काल स्थायी समिति बैठक बस्नुपर्ने हुन सक्छ, विवाद पुरानै अवस्थामा फर्किन्छ भनेपछि प्रधानमन्त्रीले प्रक्रिया पुर्‍याएर फिर्ता गर्ने भन्दै द्विविधायुक्त जवाफ फर्काउनु भएको थियो,’ सचिवालयका एक नेताले भने, ‘त्यसैले पार्टी निर्णयपछि पनि अध्यादेश फिर्ता हुन्छ नै भन्ने सुनिश्चितता अझै देखिएन ।’

स्रोतका अनुसार पार्टी निर्णयविपरीत अध्यादेश फिर्ता नलिई बैठक राखेर नियुक्ति प्रक्रिया अगाडि बढाए विवाद संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष आवेदन दिने तहमै फर्किने अध्यक्ष प्रचण्डको चेतावनी थियो । प्रधानमन्त्री ओलीसँग प्रचण्डको पहिलो माग थियो, ‘अध्यादेश फिर्ता गर्ने निर्णय भइसकेको छ । तर, तपाईंले त्यही अध्यादेशअनुसार परिषद् बैठक बोलाउनु भएको छ । विना सर्त बैठक स्थगित गर्नुस् ।’

प्रचण्डको बैठक स्थगन गर्नुपर्ने मागमा प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘यसलाई धेरै गम्भीरतापूर्वक लिनुपर्दैन । पुरानै बैठकको निरन्तरता हो ।’ ओलीको यस्तो जवाफपछि प्रचण्डले आपत्ति जनाए, ‘यस्ता जालीझेली कुरा नगर्नुस् । बैठक स्थगित भएन भने पार्टीले अर्को निर्णय लिन्छ ।’

त्यसपछि प्रधानमन्त्री ओलीले फेरि भने, ‘बैठकबाट कुनै निर्णय हुँदैन ।’ स्रोतका अनुसार त्यसपछि प्रचण्डको अडान थियो, ‘बैठक नै बस्न मिल्दैन । तत्काल बैठक स्थगित गर्नुस् । बैठक स्थगित गर्नुभएन भने पार्टीको बैठक बोलाएर थप निर्णय लिन बाध्य हुन्छौँ ।’ प्रचण्डले सहमति उल्लंघन गरेर पार्टी निर्णयलाई चुनौती दिए तत्काल स्थायी कमिटी डाक्ने र पुनः राष्ट्रपति कार्यालयमा संसद्को विशेष अधिवेशनको आवेदन गर्ने जानकारी समेत गराएका थिए ।

बैठक स्थगन गर्नैपर्ने प्रचण्डले अडान लिएपछि प्रधानमन्त्री ओलीले प्रचण्डकै अगाडि मुख्य सचिवलाई फोन गरेर बैठक स्थगित भएको सूचना सदस्यहरूलाई दिन निर्देशन दिएका थिए । त्यसैअनुसार पौने चार बजेतिर परिषद् सदस्यका सचिवालयमा एसएमएसमार्फत बैठक स्थगित भएको सूचना पुर्‍याएको थियो ।

देउवा निकट स्रोतका अनुसार मंगलबारकै बैठकको निरन्तरताका रूपमा बिहीबार साँझ पाँच बजे अर्को बैठक बस्न थालेको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयबाट परिषद् सदस्यहरूलाई दुई बजेतिर टेलिफोनमार्फत सूचना दिइएको थियो । तर, प्रधानमन्त्रीसमेत सहभागी नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सर्वसम्मत निर्णय भइसकेको अवस्थामा परिषद् बैठक बोलाएपछि सभामुख सापकोटा र विपक्षी दलका नेता देउवा आश्चर्यमा परेका थिए । सभामुख र विपक्षी दलका नेताले बैठकमा सहभागी नहुने सूचना दिएका थिए ।

प्रधानमन्त्री ओलीसँग प्रचण्डको दोस्रो माग थियो– अध्यादेश फिर्ता प्रक्रिया अगाडि बढाउनुपर्ने । स्रोतका अनुसार प्रचण्डले भनेका थिए, ‘अध्यादेश फिर्ताबारे स्थायी कमिटीले तपाईंकै उपस्थितिमा सर्वसम्मत निर्णय गरिसकेको अवस्था छ । त्यही अध्यादेशमा टेकेर बैठक बोलाएर गलत त भयो नै । अब यसलाई आज (बिहीबार) कै मन्त्रिपरिषद् बैठकबाट फिर्ताको प्रक्रिया अगाडि बढाउनुस् ।’

तर, प्रधानमन्त्री ओलीले भने तत्काल अध्यादेश फिर्ता नहुने स्पष्ट पारेका छन् । स्रोतका अनुसार ओलीको भनाइ थियो, ‘अध्यादेश फिर्ता लिन्छु । तर, एक–दुई दिनमा सक्दिनँ । यसमा राष्ट्रपति कार्यालय पनि जोडिएको छ । परामर्श गरेर फिर्ता हुन्छ ।’

यसमा प्रचण्डले कसैलाई थाहा नदिई गैरसंवैधानिक रूपमा अध्यादेश ल्याउन सकिने, तर फिर्ता लिन सबै ठाउँमा परामर्श गर्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले लामो समयदेखि अड्किएको संवैधानिक परिषद्को नियुक्तिको सुनिश्चितता हुनुपर्ने पुरानै अडान दोहोर्‍याएका थिए । ‘अध्यादेश त पहिला राष्ट्रपतिसँग छलफल गरेर, प्रक्रिया पुर्‍याएर फिर्ता हुन्छ, तर तीन वर्षदेखि रिक्त रहेका आयोगहरूमा नियुक्ति सुनिश्चित हुन्छ कि हुँदैन रु’ प्रचण्डसमक्ष ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्तासँगै सहमतिमा संवैधानिक अंगका पदाधिकारी नियुक्ति गर्न सकिने, तर त्यसका लागि स्थायी कमिटी बैठकमा प्रस्तुत बैठक माग गरिएको पत्र, आरोप–प्रत्यारोपका पत्राचार तथा दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिएर विवाद समाधानका लागि २६ भदौकै निर्णयमा फर्किनुपर्ने अडान राखेका छन् । मंगलबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले त्यही अडान राखेका थिए भने प्रचण्डले छलफलका लागि प्रस्तुत अध्यक्षहरूको प्रतिवेदन फिर्ता गर्ने कुनै सहमति नभएको जानकारी गराएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने