२०८१, १२ जेष्ठ शनिबार

‘छोरा छिट्टै उखुको पैसा लिएर आऊ, उपचार नपाए बाँच्दिनँ होला’

‘छोरा छिट्टै उखुको पैसा लिएर आऊ, उपचार नपाए बाँच्दिनँ होला’


काठमाडौं, ३ पुस :  सर्लाही गोडैता नगरपालिका–१० का ९० वर्षीय देवनारायण मण्डललाई चिसो बढेसँगै दमले च्यापेको छ । छोरा बिकाउ मण्डल ऋण काढेर काठमाडौंको चिसो मौसममा आन्दोलन गर्न गएका छन् ।

घरकै छिँडीमा बाँसको टाटीले बेरेर उनीहरूले एउटा भैंसी पालेका छन् । त्यही भैंसी पनि ब्याउन नसकेर बिरामी छ । बिकाउकी पत्नी रेखादेवी त्यही भैंसीको छेउमा बसेर रुँदै थिइन् । रेखादेवीसँग न ससुराको उपचार गर्न पैसा छ, न त बिरामी भैँसीको उपचार गर्न पशुचिकित्सक बोलाउन सकेकी छिन् ।

‘छोराले पैसा लिएर आउँछ, अनि मेरो उपचार गर्छ,’ गत सोमबार देवनारायणले अलिअलि आशा र धेरै निराशा व्यक्त गरे, ‘छोराले पैसा लिएर आए त उपचार गथ्र्यो होला, तर खै म धेरै बाँचौंला जस्तो लागेको छैन ।’

लगातार बढेको चिसोमा पर्याप्त न्यानो हुनेगरी घरमा प्रबन्ध गर्न नसकेकाले ससुराको स्वास्थ्य बिग्रिँदै गएको रेखादेवीले बताइन् । ‘उहाँ पैसा लिएर आउँछु भनेर काठमाडौं जानुभएको छ । उहाँ गएदेखि ससुरा बुबाको पनि स्वास्थ्य झन् बिग्रिएको छ,’ गहभरी आँसु बनाउँदै रेखादेवीले भनिन्, ‘भएको एउटा भैँसी पनि ब्याउन नसकेर मर्ला जस्तो भएको छ । डाक्टर बोलाउन पैसा छैन । उहाँ पनि कहिले आउनु हुन्छ थाहा छैन ।’

शिवशरण पासवानकाे घर
काठमाडौंको चिसोमा मुटु कमाउँदै बिकाउ आन्दोलनमा सहभागी छन् । यसअघि उखु किसानले गरेको आन्दोलनमा पैसा नभएकै कारण उनी काठमाडौं जान पाएका थिएनन् । यसपालि भने गाउँकै एक जना महाजनसँग १० हजार रुपैयाँ ऋण काढेर काठमाडौं पुगेका हुन् । बाबु, श्रीमती र ६ छोरीका सहारा हुन्, बिकाउ । उनीसँग कमाइखाने आफ्नै जग्गा छैन ।

त्यसैले हुन्डा (भाडा) मा जग्गा लिएर उखु खेती गरेर त्यसकै आम्दानीबाट परिवार पाल्दै आएका थिए । उखु बिक्री गरेको पैसा चिनी उद्योगले नदिएपछि सय कडा तीन (३६ प्रतिशत) को दरमा ब्याजमा महाजनसँग लिएको तीन लाख ५० हजार रुपैयाँ ऋणमा डुबेका छन्, उनी । चिनी मिलले उनलाई उखुको पैसा नदिएको चार वर्ष बितिसक्यो । त्यसयता ऋण बढेको बढ्यै छ, पैसा पाउने संकेतसम्म छैन ।

आन्दोलन गर्न बिकाउ घरबाट हिँडेदेखि नै परिवारका सबैजना बिरामी जस्तै बनेका छन् । मण्डलले चार धुर ऐलानी जग्गामा खपडाले छाएको घर बनाएका छन् । चिसो बढ्दो छ, घरमा घेराबेरासम्म छैन । त्रिपालले छेकेर जसोतसो चिसो स्याँठ छेक्ने प्रयास गरेका छन् । तर, ९० वर्षका बाबु र लालाबालालाई चिसोबाट जोगाउन त्यो पर्याप्त छैन ।

फसलको आम्दानी नपाएपछि सर्लाही, रौतहट र नवलपरासीका उखु किसान २८ मंसिरदेखि काठमाडौंमा आन्दोलनमा छन् । तर, माइतीघर मण्डलामा दिनहुँ धर्ना दिइरहेका उनीहरूसँग सरकारले वार्ता गर्ने तत्परतासम्म देखाएको छैन ।
‘मर्नुपरे काठमाडौंमै मर्छु, पैसा नलिई घर फर्किन्नँ’

सर्लाहीकै गोडैता नगरपालिका–१० का जयमंगल चौधरीका दाजु नथुनी पनि आन्दोलन गरेर भए पनि पैसा लिएर मात्र आउँछु भन्दै काठमाडौं गएका छन् । ‘दाजुले यसपालि त पैसा नलिई फर्किन्नँ भनेका छन्,’ जयमंगलले भने, ‘काठमाडौंबाट दाजुले आजसम्म कसैलाई भेट्न पाएको छैन, पैसा माग्न त आइयो, कोसँग माग्ने, कसलाई भन्ने अन्योलमा परेको छु भन्छन् ।’

दिनप्रतिदिन बढ्दो ब्याज पनि तिर्न नसक्ने भएपछि घरमा पालेको माउ बाख्रो र चारवटा कुखुरा बेचेर नथुनीलाई परिवारले आन्दोलन गर्न काठमाडौं पठाएको हो । ‘बरु यतै मरौँला, पैसा नपाएसम्म घर आउँदिनँ भनेका छन् दाजुले,’ जयमंगलले भक्कानिँदै भने ।

उनीहरूको परिवार चलाउने एक मात्र माध्यम फसल बिक्रीबाट भएको आम्दानी हो । त्यसको पैसा लामो समयदेखि नपाउँदा ऋणमाथि ऋणमा डुब्दै गएको छ, चौधरी परिवार । काठमाडौंमा रहेका नथुनीले फोनमा भने, ‘उखु बेचेको पैसा आउला, ऋण तिरौँला र परिवार चलाउँदा भन्दाभन्दै ऋण बढेर लाखौँ पुग्यो । यसपटक बरु मर्नु परे पनि तयार छौँ, पैसा नपाई घर फर्कन्नौँ ।’
घरछेउमा चिनी मिल खुल्यो, ऋणै ऋणमा डुबायो

गोडैता–१० कै रामबाबु मण्डल पनि छोराबुहारीलाई सम्झाइबुझाई काठमाडौं पुगेका छन् । सोमबार उनको घरमा पुग्दा बुहारी रिनादेवीले ससुरा पैसा लिन काठमाडौं गएको बताइन् । रामबाबुले पनि भाडामा जग्गा लिएर उखु रोपेको लामो समय भएको थियो । गाउँनजिकै धन्कोलमा अन्नपूर्ण चिनी उद्योग खुलेपछि बढीभन्दा बढी उखु बेचेर पैसा कमाउने सपना देखेका थिए, रामबाबुले । विगतदेखि नै एक बिघामा उखु खेती गर्थे । घरनजिक चिनी उद्योग खुलेपछि उनले भाडामा थप खेत लिएर उखु खेती गरे ।

०७४–७५ मा उखु पनि राम्रो फल्यो । सबै उखु घर नजिकको चिनी मिलमा पुर्‍याए । तर, अहिलेसम्म उद्योगले पैसा दिएन । उखु बेचेको पैसा आउला र तिरौँला भन्दै पुरानो घर भत्काई चार लाख रुपैयाँ ऋण लिएर नयाँ घर पनि बनाए । तर, अहिले त्यही घरका लागि लिएको ऋण उनका लागि अभिसाप बनेको छ ।

भाडाबापत तिर्नुपर्ने ऋण त छँदै थियो, घर बनाएको ऋण पनि थपियो । दुवैगरी उनको थाप्लोमा आठ लाख रुपैयाँ ऋण पुगेको छ । दिनरात ऋण तिर्ने चिन्ताले सताइरहन्छ । आन्दोलनका लागि काठमाडौं जान उनले थप १० हजार रुपैयाँ सापटी लिएका छन् । ‘काठमाडौंमा बिहानै गएर सडकमा उभिन्छौँ र साँझ लजमा फर्केर भोकभोकै सुत्छौँ,’ उनले टेलिफोनमा भने, ‘पैसा सकिँदै गयो, भोलि के पर्छ पर्छ भनेर पेटभरि खान पनि सकेको छैन ।’
‘मर्नै परेपछि मन्त्रीकै ढोकामा गएर मर्छौँ’

सोही ठाउँका शिवशरण पासवानलाई पनि यसपटक आन्दोलनमा सहभागी हुन काठमाडौं जान मन थियो । तर, खुट्टाको औँलाको कापमा निस्किएको घाउका कारण तीन महिनादेखि हिँडडुल गर्न सकेका छन् । त्यही घाउ निको पार्ने ओखतीमुलो गर्न पनि उनीसँग पैसा छैन । पासवानले ऐलानी जग्गामा बनाएको बाँसको टाटी र खपटाको घर पनि गत वर्षकै वर्षायाममा भत्कियो ।

पैसा नभएका कारण उनले नयाँ घर ठड्याउन सकेनन् । चिनी मिलले पैसा देला र लडेको घर उठाउँला भन्दाभन्दै गएको अर्को वर्षायाम पनि सकियो । उनको परिवार गत वर्षदेखि नै स्थानीय सार्वजनिक भवनमा बसिरहेको छ । जस्तापाताबाट शीत चुहिने सार्वजनिक भवनमा लालाबालालाई यो जाडोबाट कसरी बचाउने भन्ने चिन्तामा छन्, उनी । ‘यो ठण्डी कसरी कट्ला ? आफू त जसोतसो चिसो सहिन्थ्यो, यी स–साना लालाबालालाई कहाँ लैजानु ?’ उनी भन्छन् ।

मासिक शुल्क तिर्न नसकेपछि उनले छोरालाई स्कुलबाट निकाल्नुपर्‍यो । उखु लगाएको जग्गाको भाडाबापतको रकम र घर खर्च चलाउँदा लागेको दुई लाख रुपैयाँ ऋणको ब्याज तिर्न धौधौ परिरहेको छ, पासवानलाई । दुई छोरा पनि पढ्न छाडेर मजदुरीमा लागेका छन् । उनीहरूको कमाइबाट जसोतसो दुई छाक टारिरहेका छन् ।

खुट्टाको घाउ निको पार्न १० हजार रुपैयाँ सापटी लिएका छन्, जसको ३६ प्रतिशत ब्याज तिर्नुपर्छ । थप ऋण पत्याउने महाजन पाएका छैनन् । त्यसैले रोग पालेरै बसिरहेका छन् । ‘ऋण गरेर भए पनि अब आन्दोलन गर्न काठमाडौं जान्छु । उपचार गर्न पैसा छैन । यसै मर्ने उसै मर्ने, मर्नै परेपछि किन यसरी लुकेर बस्नु ? काठमाडौं गएर मन्त्रीको ढोकामा गएर मर्छु,’ उनले आक्रोश पोखे ।

नातिनी बितिन्, बिरामी छोराको उपचार गर्न पैसा छैन

सोही गाउँका शुभलाल महतो पनि आन्दोलनमा सहभागी हुन नसकेकामा दुःखमनाउ गर्छन् । ‘आन्दोलनमा नजाने पैसा पाउँदैनन् भन्छन्, म बुढो मान्छे कसरी आन्दोलन गर्न जानु,’ उनी भन्छन् । उनका एक मात्र छोरा पनि बिरामी छन्, तर पैसा नभएकैले उनको उपचार हुन सकेको छैन । केही समयअघि एक नातिनीको मृत्यु भयो । उनको उपचारमा लागेको ऋण पनि तिर्न सकेका छैनन् । ‘उद्योगले उखुको पैसा दिए मात्र पनि छोराको उपचार गराउँथेँ,’ उनी भन्छन् । उपचार गर्न नसकी छोरालाई पनि गुमाउनुपरे बुढेसकालको सहारा कोही नहुने चिन्तामा छन्, उनी ।

रामनगर, गोडैता, धन्कौल र बसबरियालगायत गाउँमा पुग्दा केही उखु किसान कुम्लोकुटुरो कसेर काठमाडौं जान गाडी भाडाको जोहो गर्दै थिए । जिल्लाबाट आन्दोलनका लागि ४०–४५ जना सुरुमै काठमाडौं पुगेको उखु किसान संघर्ष समिति संयोजक रामस्वार्थ राय बताउँछन् । ‘हाम्रो माग समयमै सम्बोधन नभए भोकभोकै भए पनि सबै उखु किसानलाई काठमाडौं उतार्छौँ,’ उनले टेलिफोनमा भने । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : १५ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको