२०८१, १२ श्रावण शनिबार

चर्पी नहुने गरिब प्रहरी चौकीमा : फाटेको फरियाले बेरेको झुपडीमा बस्ने मुसहरले चर्पी कसरी बनाउने?

चर्पी नहुने गरिब प्रहरी चौकीमा : फाटेको फरियाले बेरेको झुपडीमा बस्ने मुसहरले चर्पी कसरी बनाउने?


काठमाडौं, माघ ११ :युनिसेफ र सरकारको प्रोजेक्ट सफल भएको रिपोर्ट बनाउन र बजेट फस्र्योट गर्न हरिपुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो । अब खुला ठाउँमा शौच बस्नेलाई प्रहरी लगाएर पक्राउ गर्न थालिएको छ । पक्राउ परेका मिथुन माझी भन्छन्, ‘चौकीमा रक्सीका बोतल छरिएका थिए, खाल्डो खनेर पुर्न लगाए अनि हामीलाई आइन्दा फोहोर गर्ने छैनौँ भनेर कायलनामा गराएर छोडे ।’

सर्लाही जिल्ला हरिपुर नगरपालिका–८ को मुसहर बस्तीमा मेरो घर छ । सानो झुपडीमा १७ जनाको परिवार छ । केटाकेटी र बुढाबुढी धेरै छन् । तन्नेरीहरू काम गर्न निस्किन्छौँ । कोही इँटाभट्टामा काम गर्छौँ, म बोरा उठाउने भरिया हुँ ।अस्ति एक दिन बिहान झिसमिसे हुँदै थियो । म शौच गर्न निस्किएको थिएँ । झाडीभन्दा अलिपर सेतो गाडी थियो । कसैले रोकिराखेको होला भन्ने लाग्यो । म शौच बस्नासाथ गाडीबाट एक हुल मान्छे निस्किए । हाम्रै वडाका अध्यक्ष र सामाजिक कार्यकर्ता पनि रहेछन् । टोलीमा सबैभन्दा अगाडि प्रहरी थिए । मलाई उनीहरूले झ्याप्पै समाते । वरपर शौच बसेका अरू तीनजना (कृष्ण महरा, शंकर महरा र धनीराम महरा)लाई पनि समातिहालेछन् ।

उज्यालो भएपछि हामी चारैजनालाई गाउँ घुमाइयो । सार्वजनिक ठाउँमा शौच गर्ने यिनीहरू हुन्, चिनिराखौँ भनेर बेइज्जत गरे । खुला ठाउँमा शौच गरेमा यसैगरी गाउँ घुमाउँछौँ भनेर सबैलाई धम्क्याए । गाउँ घुमाएपछि हामीलाई चौकीमा लगियो । चौकी फोहोर थियो, पछाडिपट्टि रक्सीका बोतल फालिएका थिए । हामीलाई ती समेट्न लगाइयो, बेल्चा र कोदालो दिएर लौ खाल्डो खन भने । हामीले खन्यौँ । बोतल र सबै फोहोर त्यसैमा हाल्यौँ । चौकी सफा भयो । अनि हामीलाई आइन्दा फोहोर गर्नेछैनौँ भनेर कायलनामा गराएर छोडे । चौकीबाट त छुट्यौँ । तर, चर्पी बनाउन सकेका छैनौँ । न जग्गा छ, न पैसा छ । डर लागिरहेको छ फेरि कुन दिन गस्ती आउने हो ।

इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रमेश पाल भन्छन्–
नगरपालिका र एनजिओले पत्र लेखेपछि पुलिस पठाएका हौँ । उनीहरूलाई समातेर गाउँ घुमाइएको हो, तर चौकीमा थुनेको होइन, लाज हुने भइहाल्यो, चौकीमा थुन्नुपर्दैन भनेर छोडिएको हो ।

शिवहरि ज्ञवाली, अधिकारकर्मी
अफिसमा काम गरिरहेको थिएँ । दलितसम्बन्धी संस्थामा मसँगै काम गर्र्ने मनोज पासवानले फोन गर्नुभयो । उहाँको घर सर्लाही हरिपुर हो । उहाँको भनाइ थियो, ‘हाम्रो मान्छेलाई प्रहरीले समातेर लग्यो ।’ किन भनेर मैले प्रश्न गरें, उहाँको जवाफ थियो, ‘खुला ठाउँमा दिसा गरेको भनेर पक्रेछ ।’ म आश्चर्यचकित भएँ । त्यही ठाउँमा म १५–२० दिनअघि मात्रै गएको थिएँ । हरिपुरको मुसहर वस्तीका वासिन्दासँग गरिखान खेत छैन, बस्न घर छैन, झुपडीमा बस्छन् । एक धुर जग्गामा १७ जनासम्मको परिवार बस्छन् । भुपडीमा नअटेका छोराछोरी सार्वजनिक मठमा सुत्न जान्छन् । ज्यालादारी गरेर परिवार पाल्ने उनीहरूले झुपडी पनि फाटेको फरियाले बारेका छन् । त्यही भुपडी अट्ने जग्गाको पनि लालपुर्जा छैन । उनीहरू पूर्णरुपमा भूमिहिन हुन् । उभिने जग्गा र ओत लाग्ने घर छैन भने शौचालय कहाँ बनाउने, कसरी बनाउने ? तर, खुला ठाउँमा शौच बसेको भनेर त्यही वस्तीका चार जना पक्राउ परे भन्ने खबर आयो ।

यसअघि पनि यही आरोपमा गाउँका एक जनालाई प्रहरीले पक्राउ गरेर मलंगवा लगेको थियो । दुई दिन हिरासतमा राखेर ५ हजार जरिवाना गराई छाडेको रहेछ । प्रहरीले यतिसम्म ज्यादती गर्‍यो होला र भन्ने जिज्ञासा लागिरहेको थियो । फेरि चार जना पक्राउ गर्‍यो भन्ने सुनेपछि पुष्टि गर्न म काठमाडौंबाट सर्लाही जाने निधो गरेँ ।

गत मंगलबार साँझ ७ बजे हरिपुर पुगेँ । साथी मनोजले गाउँको कथा दोहोर्‍याउनुभयो । गाउँका तन्नेरी दिनभरी इटा भट्टामा काम गर्छन् । अधिकांश बालबालिका विद्यालय जाँदैनन् । अलिकति हुर्किनासाथ काममा जान्छन् । अरू कति भारतको पञ्जाबतिर पनि जान्छन् । दिनभरि श्रम गर्दा पनि परिवारलाई राम्रो लगाउन र खान पुग्दैन । कुपोषणले गाउँ ग्रसित छ । अघिल्लो जाडोमा त्यहाँ पाँच जनाले ज्यान गुमाएका थिए । तर उनीहरूको जीवनको विषयमा कतै बहस हुँदैन ।युनिसेफजस्तो राष्ट्रसंघीय संस्थाले सरसफाइको बारेमा चेतना फैलाउनु राम्रो हो । मुसहर बस्तीमा चर्पी किन बनेन भनेर चासो दिनु पनि ठिकै हो । तर, उनीहरूको आर्थिक र सामाजिक अवस्थालाई वेवास्ता गरी चर्पी बनाउन बाध्य बनाउनु अन्याय हो । अझ प्रहरी लगाएर पक्राउ गराउनु त घोर अत्याचार हो ।

युनिसेफका स्थानीय प्रतिनिधि र जनप्रतिनिधिको पहलमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सरोकारवाला निकाय स्थानीय वासिन्दालाई चेतनशील र समृद्ध बनाउनभन्दा दण्डित गर्न उत्साही छन् । जनप्रतिनिधि, एनजिओका कर्मचारी र प्रहरी झिसमिसेमै ढुक्छन् र शौच बस्न आउनेलाई पक्राउ गर्छन् । पछिल्लो पटक कृष्ण माझी, शंकर महरा, धनीराम महरा र मिथुन भनिने जितेन्द्र महरा यसरी नै पक्राउ परेका हुन् । पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय हरिपुर लगियो । समुदायमा सरसफाइका लागि हैकम चलाउने प्रहरीको चौकी भने फोहोर थियो । मदिराका बोतल यत्रतत्र छरिएका थिए । पक्राउ परेका गाउँलेलाई खाल्डो खन्न लगाइयो । मदिराका बोतल टिपेर खाल्डोमा पुर्न लगाइयो । ‘अब फोहोर गर्ने छैनौँ’ भन्ने सपथ खुवाएर छाडियो ।

पक्राउ परेका चारजना छुटे । तर त्रास गाउँभरि छ । फेरि गस्ती आयो भने पक्राउ गर्ला भन्ने डर छ । चर्पी बनाउने जग्गा छैन, धन छैन । यो सब किन भइरहेको छ ? यसको पनि कारण छ । गाउँमा शौचालय बनाउनुअघि नै नगरपालिकालाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरियो । परियोजना सफल भएको देखाउने र बजेट फस्र्योट गर्ने उद्देश्यले हतार हतारमा यस्तो घोषणा गरिएको थियो । तर त्यसको मार विपन्न मुसहरलाई परेको छ ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : २६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्