२०८१, ७ बैशाख शुक्रबार

हवाई यात्रुको सङ्ख्या वृद्धिसँगै दुर्घटना दर बढ्दो

हवाई यात्रुको सङ्ख्या वृद्धिसँगै दुर्घटना दर बढ्दो


काठमाडौँ, १६ पुस: विश्वभर हवाई यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यात्रु सङ्ख्या बढेसँगै यसका चुनौती पनि चुलिदै गएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०१७ मा विश्वव्यापी नियमित उडानका यात्रु आवागमन अघिल्लो वर्षको तुलनामा सात दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

हवाई ट्राफिक आवागमनका दृष्टिले एशिया प्रशान्त क्षेत्र विश्वकै सर्वाधिक हवाई यात्रु आवागमन हुने क्षेत्रमा परेको छ । जसले कूल हवाई ट्राफिकको ३४ प्रतिशत अंश ओगटेको छ । त्यस्तै हवाई ट्राफिक वृद्धिका दृष्टिले यस क्षेत्रमा सन् २०१६ को तुलनामा सन् २०१७ मा सर्वाधिक अर्थात १० दशमलव ७ प्रतिशत वृद्धि भएको छ । नेपालमा पनि हवाई यात्रुको आवागमन बढ्दो छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जिव गौतमका अनुसार सन् २०१७ को जनवरीदेखि अक्टोवरसम्मको १० महीनाको तुलनामा सन् २०१८ को सोही अवधिमा अन्तर्राष्ट्रिय वायुयान आगमनतर्फ दुई दशमलव २० प्रतिशत र आन्तरिक वायुयान आवागमनतर्फ दुई दशमलव ७३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रु आवागमनतर्फ १३ दशमलव ८५ प्रतिशत र आन्तरिक हवाई यात्रु आवागमनतर्फ १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा अन्तर्राष्ट्रिय कार्गो ढुवानीतर्फ सात दशमलव ५० प्रतिशतले वृद्धि भएको छ भने आन्तरिकतर्फ नौ दशमलव १२ प्रतिशतले कमी आएको छ ।

एकातर्फ हवाई यात्रुको आवागमन बढिरहेको छ भने दुर्घटनाको जोखिम पनि उत्तीकै बढ्दै गएको छ । आइकाओको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१८’ का अनुसार यस वर्ष विश्वमा नियमित उडानमा सञ्चालित पाँच हजार ७०० केजीभन्दा माथिका मानवीय क्षमतायुक्त १३ वटा वायुयान दुर्घटना भएको थियो भने दुर्घटनामा परी ५४४ यात्रुको मृत्यु भएको थियो । अघिल्लो वर्ष पाँच वटा वायुयान दुर्घटना हुँदा ५० जनाकोे मृत्यु भएको थियो । यसरी हेर्दा वायुयान दुर्घटना दर अघिल्लो वर्षभन्दा यो वर्ष दुई दशमलव पाँच गुणाले वृद्धि भएको देखिन्छ भने मृत्युदर १० गुणाभन्दा बढी पाइएको छ ।

नेपालको सन्दर्भमा सन् २०१७ मा दर्ता भएका वायुयानमध्ये पाँच हजार ७०० केजीभन्दा माथिका मानवीय क्षमतायुक्त एक वायुयान दुर्घटना भएको थियो । सो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो । यसवर्ष उक्त समूहमा मानवीय क्षमतापुक्त कुनै दुर्घटना नभएपनि सोभन्दा कम मानवीय क्षमतायुक्त हवाई जहाज, हेलिकोप्टरतर्फ दुईवटा दुर्घटना भएको थियो । सो दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो । साथै, यस वर्षको मार्च महीनामा अन्तर्राष्ट्रिय उडानमा रहेका विदेशी दर्ताको वायुयान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । क्यानका उपमहानिर्देशक राजन पोखरेलकाअनुसार विगत १० वर्षमा विश्वमा उडान सुरक्षामा निरन्तर प्रगति भइरहेको आइकाओको प्रतिवेदनले देखाएको छ ।

क्यानले प्रकाशित गरेको ‘नेपाल एभिएसन सेफ्टी रिपोर्ट २०१८’ ले पनि नेपालको उडान सुरक्षाको क्षेत्रमा निरन्तर सुधार आएको देखाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका तीन वटा तथा अन्य मुलुकका २६ वायुसेवा गरी कूल २९ अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले २३ वटा गन्तब्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् । सन् २०१८ को पहिलो १० महीना अर्थात् अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ लाख ४२ हजार ५७८ हवाई यात्रुको आवागमन भएको छ भने आन्तरिकतर्फ २३ लाख ८५५ यात्रुको आवागमन भएको छ ।

हाल मुलुकमा ५० वटा विमानस्थल छन् जसमध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै निर्माणाधीन विमानस्थल पाँच वटा छन् । हालसम्म ३१ विमानस्थलमा कालोपत्र भइसकेका छन् । थप पाँच विमानस्थलमा कालोपत्र गर्ने कार्य भइरहेको छ । पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मुलुकको हवाई सेवालाई सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन सरोकार भएका निकायको सक्रियता आवश्यक भएको खाँचो औँल्याउनुभयो । क्यानको २० औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले क्यान र यसअन्तर्गका सेवालाई विश्वप्रतिस्पर्धी रुपमा अघि बढाउने सङ्कल्पकासाथ अघि बढ्न आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले क्यानको भूमिकालाई प्रभावकारी बनाउन सेवा प्रदायक र नियामक निकायको रुपमा दुई भिन्न निकाय बनाउने प्रक्रिया अघि बढेकाले यसलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । “दुई निकाय बनाउने कुनै अन्तर्राष्ट्रिय निकायको दबाब नभई हाम्रै आवश्यकताले उठाएको विषय हो, अहिले एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ, अब भैरहवालगायत क्रमशः अन्य अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछन्, त्यसैले बलियो नियामक निकाय र सेवा प्रवाह गर्न आवश्यक भएकाले कर्मचारीलाई मर्का नपर्नेगरी व्यवस्थापन गर्छौ”,उहाँले भन्नुभयो ।

पर्यटनराज्यमन्त्री धनबहादुर बुढाले हवाई क्षेत्रलाई सुरक्षित गर्न आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विस्तारलाई प्रभावकारी रुपमा अघि बढाउन सरकार लागि परेको बताउनुभयो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका साथै बुटिक विमानस्थलको रुपमा अघि बढाउन लागिएको र आगामी वैशाख १ गते उद्घाटन गर्ने गरी योजना बनाइएको जानकारी दिनुभयो ।

क्यानका महानिर्देशक गौतमले मुलुकको हवाई सेवालाई सुरक्षित र प्रभावकारी बनाउन आधुनिक प्रविधिको भरपुर प्रयोगसँगै पूर्वाधार निर्माणलाई तीब्रता दिइएको धारणा व्यक्त गर्नुभयो । हेलिकोप्टर सोसाइटी अफ नेपालका अध्यक्ष रामेश्वर थापा र एयरलाइन्स अपरेटर एशोसिएशनका महासचिव मनोज कार्कीले सञ्चालित वायुयानको प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि पूर्वाधार निर्माणलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ८ : ४९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता