२०८१, ८ बैशाख शनिबार

तपाइको मङ्सिर महिना कस्तो हुने छ ? हेर्नुहोस मंसिर महिनाको मासिक राशिफल

तपाइको मङ्सिर महिना कस्तो हुने छ ? हेर्नुहोस मंसिर महिनाको मासिक राशिफल


मंसिर महिनाको सङ्क्रान्ति शनिवार परेको छ र सूर्यको राशिसङ्क्रमणको समयमा तुला लग्न, शुक्लपक्षको नवमी तिथि र कुम्भ राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले मंसिर महिनाभरि बृश्चिक राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने सङ्केत छ, शुक्र ग्रहले यस महिनाको १३ गते आफ्नै राशिमा प्रवेश गर्नेछ । यो महिनाको प्रारम्भमा नै बुध र बृहस्पति ग्रह अस्त अवस्थामा देखिन्छन्, बुध ग्रह त अझ बक्री पनि छ । महिनाको उत्तरार्द्धमा दुबै ग्रह उदाउने छन् । अस्त अवस्थाको बुध १४ गते उदाउने छ, यसको बक्रता १७ गतेबाट समाप्त हुनेछ, त्यस्तै बृहस्पति ग्रहको पूर्व दिशामा २१ गते उदय हुनेछ । अन्य ग्रहहरू यथावत् अघिल्लो महिनाजसरी नै विचरण गर्नेछन्, जस्तै कुम्भ राशिमा मङ्गल, बृश्चिक राशिमा बुध र बृहस्पति, धनु राशिमा शनिश्चर, कर्कट राशिमा राहु र मकर राशिमा केतु ग्रहको भ्रमण हुनेछ । यस महिनाको २८ गते शनिश्चर ग्रह अस्त अवस्थामा पुग्ने सङ्केत छ । महिनाको पूर्णअवधि बृहस्पतिसहितको बुधादित्य योग रहने छ ।

यस्तो ग्रह परिवेशमा आम व्यक्तिमा के कस्तो प्रभाव पर्छ त ? त्यसको पनि आकलन गरौं । सूर्यले शनिवारको विहानै वृश्चिक राशिमा प्रवेश गरेकोजस्तो देखिए पनि सूर्योदयपूर्व नै भएकाले शुक्रवारको प्रवेश मानिने छ । त्यसैले यो महिना सेतो पदार्थ र खासगरी विलासिताका सामाग्रीहरू मोटरवाहन, गहगहना आदिको दाम बढ्ने छ । घिउ, तेल, रसादि वस्तु र नुनको मूल्य भने स्थिर रहने छ । शासकवर्गमा मतभेद एवं वैमनस्य रहने छ । शासनप्रणालीमा चित्त नबुझ्नाले कतैकतै जनतामा विद्रोहको मनस्थिति सिर्जना भई सङ्घर्षको परिस्थितिसमेत बन्नेछ । सूर्यले मङ्गल ग्रहको घरमा प्रवेश गरेको हुँदा कतैकतै अग्निभय र दुर्घटनाजन्य घटना पनि घट्न सक्छन् । सुतीजन्य र ऊनीका कपडाको दाम बढ्ने छ । उत्तरी भूभागमा हिमपात हुने र चिसोको प्रकोप बढ्न सक्छ र चिसोजन्य रोगव्याधि रुँघामर्की र ज्वरोका कारण सर्वसाधारणमा असर पर्नेछ । अब मंसिर महिनाभरिमा विभिन्न राशिका व्यक्तिहरूमा के कस्तो असर पर्नेछ, त्यसको लेखाजोखा गर्दैछु र यस क्रमको चर्चा क्रमशः मेषादि राशिबाट प्रारम्भ गर्दैछु ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सूर्यले आठौं घरमा प्रवेश गरेको छ । पहिलेदेखि नै अष्टमभावमा भाग्येश बृहस्पतिको समेत उपस्थिति छ, अचानक विविध समस्या देखा पर्न सक्छन् । जुवाजन्य क्रियाकलापबाट धननाशको योग छ । तर राशिस्वामी मङ्गल लाभस्थानमा रहेकाले केही राहत मिल्नेछ, मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । आठौं भावमा बुधादित्य योग रहेकाले वैदेशिक क्षेत्रबाट लाभ पाइने आशा गर्न सकिन्छ । यो महिना तपाईंले सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुनेछन् । यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१ र २९ गतेको चन्द्रमासमेत अनिष्ट रहेकाले ती दिनमा तपाईंले बढी सतर्क रहनु बुद्धिमानी हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मंसिर महिना सातौं भावमा रहेको सूर्यको प्रभाव हुने महिना हो । त्यसैले यो सकारात्मक मान्न सकिंदैन । राशिस्वामी शुक्रले महिनाको उत्तरार्द्धमा छैटौं भावमा प्रवेश गर्दैछ, त्यसैले महिनाको अन्तिम समय अझ कमजोर बन्नेछ । महिनाको प्रारम्भमा आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ । तर सूर्यको प्रभावले यो महिना तपाईंका लागि मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने समय भएकाले यो अवधि एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । २८ गते अष्टम भावमा रहेको शनिसमेत अस्ताउने हुँदा दुर्घटनाजन्य प्रकोप पनि देखिन सक्छ । यो महिना कुनै किसिमको विघ्न र जोखिम नआओस भन्ने उद्देश्यले तपाईंले कुल र पितृको आराधना गर्ने वा हनुमान् चालिसाको नियमित पाठ गर्दा राम्रो हुन्छ । खासगरी यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अलि बढी अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
छैठौं भावमा बुधादित्य योग परेको छ, यसको प्रभावले यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू बढ्ने छन् । परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ । तर लामो समयदेखि सातौं भावमा शनिको उपस्थिति छ, अतः अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । समग्रमा यो महिना सामान्यतया सबैले शुभफल नै पाउने छन्, यद्यपि राशिस्वामी बुध ग्रह अस्त रहेकाले अझ राम्रो होस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा गाईलाई खानेकुरा दिएको जाति हुन्छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गतेको चन्द्रमा तपाईंका लागि हितकारी नहुने भएकाले सचेत हुनु आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पञ्चम भावमा सूर्यको उपस्थिति भएकाले यो महिना मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । धनस्थानको मालिक पनि सूर्य नै भएकाले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । एउटा स्मरणीय यात्रा हुने सङ्केत पनि छ । तर तपाईंको राशिमैं रहेको राहुले शुभफल प्रदान गर्न कन्जुस्याइँ गरिरहेको छ, त्यसैले चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । पञ्चमेश मङ्गल पनि अष्टम भावमा रहेकाले भ्रमका पछि कुद्नु राम्रो हुँदैन । हडबडी र शीघ्रताका कारण चोटपटकको सम्भावना हुनसक्छ । त्यसैले दुर्घटनाजन्य जोखिमको निवारणका लागि तपाईंले सिद्धि गणेशको पूजाआराधना गर्नु वा दैनिक रूपमा भगवती दुर्गाको सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्नु उत्तम हुनेछ । विशेषतः यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते तपाईंको राशिस्वामी चन्द्रमा समेत अनिष्ट हुनेहुँदा सतर्कता अपनाउनु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चतुर्थ भावमा राशिस्वामी सूर्यको प्रवेश भएकाले शुभ फलदायी समय देखिंदैन । यस अवधिमा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । उता भाग्येश मङ्गलसमेत सप्तम भावमा रहेकाले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना देखिंदैन । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । तर चतुर्थ भावमैं बसेको बृहस्पति अनुकूल नै छ, तर अस्त अवस्थामा रहेकाले त्यति भरपर्दो भने छैन । यो महिना नकारात्मक प्रभाव हाबी नहोस् भन्ने उद्देश्यले तपाईंले दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुनेछ । खासगरी यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१ र २९ गतेको चन्द्रमा समेत अनिष्ट हुने भएकाले ती दिनमा अझ बढी सतर्कता अपनाएको जाति हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मंसिर महिनामा तृतीय भावमा राशिस्वामी बुध, चतुर्थेश र कर्मेश बृहस्पति एवं सूर्यको उपस्थिति छ, त्यसैले यो महिना पारिवारिक जीवन सुखद रहनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा भने सावधान हुनु बेस हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले शुभ परिणाम प्राप्त गर्नेछन् । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । बुध ग्रह अस्त रहेकाले यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् र शुभफलमा बृद्धि भइरहोस् भन्ने कामनाले तपाईंले कुनै एउटा आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नु राम्रो हुनेछ । यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गतेको चन्द्रमासमेत अशुभ भएकाले सामान्य सचेतता अपनाउनु हितकारी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दोस्रो भावको सूर्यको शुभफल हुँदैन, उता राशिस्वामी शुक्र सुरुमा बाह्रौं भावमा रहेकाले १३ गतेसम्म शुभफल पाउन निक्कै मिहिनेत गर्नु पर्ने देखिन्छ । त्यसैले यस महिनाको पूर्वार्द्धमा शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामर्थ्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । तर महिनाको उत्तरार्द्धमा शुक्रको सकारात्मक फल भएकाले यसको प्रभावले प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत पनि छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । सञ्चार माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । समग्रतामा यो महिना शुभफल प्राप्त गर्न तपाईंले हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु राम्रो हुनेछ । विशेष गरी यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गतेको तपाईंका लागि चन्द्रमा प्रतिकूल हुने हुँदा उक्त दिनमा बढी सतर्कता अपनाउनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यो महिना तपाईंको राशिमा सूर्य, बुध र बृहस्पतिले भ्रमण गर्नेछन् । उता राशिस्वामी मङ्गल भने चतुर्थ भावमा रहने छ, सूर्यको प्रभावले धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनु हुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । दोस्रो भावको शनिश्चर तथा चतुर्थ भावमा बसेको राशिस्वामी मङ्गलको प्रभावले यस अवधिमा घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ पाउन गाह्रो देखिन्छ । आर्थिक रूपले समेत राम्रो समय देखिंदैन । खर्चको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ । यो महिना कुनै असुविधा नहोस् भन्ने उद्देश्यले शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नु वा खान दिनु राम्रो हुनेछ । खासगरी यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यो महिना तपाईंको राशिबाट बाह्रौं भावमा राशिस्वामी बृहस्पतिका साथमा सूर्यको उपस्थिति हुने भएकाले यस समयमाम क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछन् । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । पारिवारिक वातावरण सुमधुर हुनेछैन । मन अध्यात्मतर्फ आकर्षित हुनेछ । समस्या र कठिनाइलाई प्रतिरोध गर्ने कोशिश गर्नु राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ र सबै किसिमका जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यो महिना शुभफल प्राप्त गर्न दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु राम्रो हुन्छ । विशेषतः यो महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१ र २९ गते चन्द्रमासमेत अनिष्ट हुनेहुँदा अलि बढी सतर्कता अपनाउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राज्यस्थानमा रहेको सूर्य, बृहस्पति र भाग्येश बुधको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । प्रणय सम्बन्धका निमित्त राम्रो समय छ, दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि यो समय श्रेष्ठ छ । तर दोस्रो भावको मङ्गल र बाह्रौं भावमा रहेको शनिश्चरको प्रभावले आर्थिक पक्ष त्यति बलियो देखिंदैन । दोस्रो घरलाई वाणि पनि भनिन्छ, त्यसैले मुखलाई समेत नियन्त्रणमा राख्नु बेस हुनेछ । अवाञ्छित व्यक्तिहरूउपर निर्भर रहनु पर्ने बाध्यता हुनसक्छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷चोरी हुने सङ्केत पनि छ । उता व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेतता अपनाउनु पर्ने देखिन्छ । यद्यपि पञ्चमेश शुक्रको प्रभावले यस अवधिमा विपरीत परिस्थितिलाई सही ढंगले निवारण सकिन्छ । यो महिना अशुभ फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले आफ्ना दाजुभाइ र बन्धुबान्धव जम्मा पारी गुलियो भोजन गराउनु राम्रो हुनेछ । खासगरी यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कर्मक्षेत्रमा रहेको सूर्य, बुध र बृहस्पतिको प्रभावले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । राशिस्वामी शनिश्चर लाभ स्थानमा रहेकाले नयाँ काम र उद्यम सुरु हुने सम्भावना छ । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा सक्रिय हुँदा यस अवधिमा धनको वर्षा नै हुने सम्भावना समेत छ । समग्रतामा यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । तर राशिमा बसेको मङ्गल ग्रहको फल सकारात्मक हुँदैन, त्यसैले यो महिना शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले मङ्गल ग्रहको उपासना गर्नु राम्रो हुन्छ । विशेषतः गोचरमा ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते चन्द्रमाको प्रतिकूलता हुने भएकाले ती दिनमा सतर्कता अपनाउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्यस्थानमा पुगेको सूर्यको मिश्रित प्रभाव प्राप्त हुनेछ, उता राशिस्वामी बृहस्पति समेत अस्ताएको समय भएको हुँदा बढी आशावादी र महत्त्वाकाङ्क्षी बन्नु पनि उचित हुँदैन । समग्र ग्रहगोचरको विश्लेषण गर्दा उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । तर भाग्येश मङ्गल बाह्रौं भावमा रहेकाले स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । खर्चको मात्रामा बृद्धि भइरहन्छ । समग्रतामा समय सकारात्मक नै भए पनि यस अवधिमा केही मानसिक उल्झन र समस्यामा केन्द्रित हुनुपर्ने देखिन्छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । खासगरी यो महिनामा शुभफल प्राप्त गर्न तपाईंले बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु वा नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर प्रत्येक मङ्गलबारका दिन बग्दो पानीमा बगाउनु उचित हुनेछ । यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  १० : ३७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता