२०८१, १२ श्रावण शनिबार

महानगरका प्रवक्ताको सिफारिसमा भारतीयलाई नागरिकता, वडा अध्यक्षसहित १६ विरुद्ध मुद्दा

महानगरका प्रवक्ताको सिफारिसमा भारतीयलाई नागरिकता, वडा अध्यक्षसहित १६ विरुद्ध मुद्दा


विराटनगर, १९ कार्तिक :भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र सिफारिस गर्ने विराटनगर महानगरपालिका प्रवक्ता उद्धव अर्यालयसहित १६ विरुद्ध आइतबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। प्रहरीले अनुसन्धानको मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै झुटा विवरण पेश गरी विदेशीले नेपाली नागरिकता लिएको, दिलाएको अभियोगमा मुद्दा दायर गरेको हो।

भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिने महानगरपालिका पवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष अर्यालले पछिल्लो समय दुई भारतीयलाई नेपाली नागरिकताका लागि सिफारिस गरेको खुलेको छ। अर्यालसहित वडा सदस्य रमेश साह र सुन्दरहरैंचा नगरपालिकामा बसोबास गर्ने वडा सचिव पुष्पा तिम्सिनाविरुद्ध मुद्दा दायर भएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए। बाबु बनेर भारतीयलाई नागरिकता दिलाउने मुख्य भूमिकामा रहेका विराटनगर १ घर भइ मोरङको कटहरी गाउँपालिका १ मा बस्दै आएका ५५ वर्षीय सत्यनारायण पोद्धारलाई मुख्य अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ।

पोद्धारले अहिलेसम्म झुटा विवरण पेश गर्दै आफू बाबु बनेर सातजना भारतीयलाई नागरिकता दिलाएको अनुसन्धानका क्रममा खुलेको छ। स्रेस्तेदार ओझाका अनुसार झुटा विवरण पेश गरी छोरा बन्ने र नागरिकता लिने भारतीय नागरिक २२ वर्षीय संजीव पोद्धार, २० वर्षीय धिरज पोद्धार, जितेन्द्र पोद्धार, २५ वर्षीय राजेन्द्र पोद्धार, रोशनकुमार पोद्धार, १८ वर्षीय मिथिलेश पोद्धार र १९ वर्षीय पवन पोद्धारलाई पनि मुद्दाको प्रतिवादी बनाइएको छ।
स्रोतका अनुसार मिथिलेश र पवनलाई नागरिकता दिलाउनका लागि वडा अध्यक्ष अर्यालले पछिल्लो पटक सिफारिस गरेको र वडा सदस्य रमेश साह साक्षी बसेको खुलेको छ।

अन्य पाँच जनालाई भने त्यस अघि नै सत्यनारायणले बाबु बनेर नागरिकता दिलाइसकेको खुलेको छ। भारतीय नागरिकलाई नेपाली नागरिकता दिनका लागि सर्जीविन गर्नेहरु विराटनगर १ की ४७ वर्षीय सीमादेवी राम, ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोसी गाउँपालिका १ का ४५ वर्षीय सुरेश पोद्धार र मोरङको कटहरी गाउँपालिका १ का ४३ वर्षीय बैजनाथ शर्माविरुद्ध पनि मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता गरिएका मध्ये मुख्य अभियुक्त सत्यनारायण मात्रै पक्राउ परेका छन्। वडा अध्यक्ष अर्यालयसहित अन्य १५ जना फरार छन्। सत्यनारायण पक्राउ परेको थाहा पाएसँगै अर्यालसहित अरु फरार बनेको प्रहरीले जनाएको छ।

मुख्य अभियुक्त सत्यनारायणले कान्छी श्रीमती पट्टीका छोरा देखाउँदै मोटो रकम लिएर भारतीयलाई नेपाली नागरिकता दिलाउने काम गर्दै आएको एक प्रहरी अधिकारीले बताए।जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्धारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएको खुलेको छ।

मोरङ प्रहरीले किर्ते गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्धार पक्राउ गरेपछि सातजना भारतीय नागरिकलाई उनी नै बाबु बनेर नेपाली नागरिकता दिलाएको र यसमा जनप्रतिनिधि समेत संलग्न रहेको खुलेको हो। समय अभावका कारण आइतबार मुख्य अभियुक्त सत्यनारायणको वयान सरेको छ। सोमबार वयान भए लगत्तै थुनछेक बहस हुनेछ।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : १५ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय