२०८०, १६ चैत्र शुक्रबार

दशैँतिहारको साइत पात्रोमै राख्न माग

दशैँतिहारको साइत पात्रोमै राख्न माग


काठमाडौँ, ६ कात्तिक : दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएको हो । विसं २०७६ को पञ्चाङ्गमा सबै साइत राख्ने व्यवस्था गर्न माग गरिएको हो ।

धर्मसभाका अध्यक्ष एवं समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले घटस्थापनाका दिन चित्रा र वैधृति शान्ति गरेर जमरा राख्नुपर्नेमा साइत मात्र सार्वजनिक गर्दा सर्वसाधारण अन्योलमा परेको बताउनुभयो । “पहिले सरोकार भएका सबैलाई राखेर बैठक गरी निर्णय गरिन्थ्यो, त्यो परम्परा तोडिएकाले विजयादशमीका दिन ९ः३९ बजे देवी विसर्जन गरेर ९ः५१ मा देवीको प्रसाद लगाउने साइत दिइयो, हनुमानढोकामा देवी विसर्जन गरेर १२ मिनेटमा राष्ट्रपति निवास पुग्न सकिन्छ कि सकिँदैन भन्नेसम्म पनि विचार गरिएन”, उहाँले भन्नुभयो ।

सरोकार भएका सबैसँग छलफल नगर्दा विगत वर्षमा पात्रोमा उल्लेख गरेको एक महीनापछि ल्होसार मनाइएको अध्यक्ष भट्टराईले बताउनुभयो । पञ्चाङ्गकार एवं समितिका पूर्वसदस्य लोकराज पौडेलले सबैसँग सल्लाह गरेर निर्णय गर्न आह्वान गरे बैठक भत्तासमेत नलिने जानकारी दिनुभयो । बैठक भत्ताका लागि बजेट नभएरै समितिले बृहत्रुपमा छलफल नगर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सो कुरा भन्नुभएको हो ।

कात्तिक ९ र १० मा पण्डित सम्मेलन
धर्मसभाले कात्तिक ९ र १० गते राजधानीमा पाँचौँ पण्डित सम्मेलन गर्ने घोषणा गरेको छ । सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढी व्यक्तिको उपस्थिति हुने कार्यक्रम संयोजक पवित्रबहादुर खड्काले बताउनुभयो । सम्मेलनमा भाग लिन भारतबाट समेत ३० जना पण्डितको समूह आउने जनाइएको छ । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

सम्मेलनमा नेपालको धार्मिक तथा सामाजिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय, धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्थाको चिरफार र चौथो पण्डित सम्मेलनको समीक्षा गरिनेछ । सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणका उपायका बारेमा सम्मेलनमा छलफल गरिने आयोजक समितिका सदस्य कृष्णप्रसाद खनालले बताउनुभयो । बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : ३२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय