JavaScript must be enabled in order for you to see "WP Copy Data Protect" effect. However, it seems JavaScript is either disabled or not supported by your browser. To see full result of "WP Copy Data Protector", enable JavaScript by changing your browser options, then try again.
Logo

हामी कक्षा कोठालाई छाडेर शिक्षक संगठनमा कार्यरत रहेका हौइनौं



–श्यामप्रसाद पाण्डे, अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन, काभ्रे

० नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षको कार्यभार फेरि पनि सम्हाल्ने अवसर पाउनु भएको छ, कस्तो अनुभूति गरिरहँनु भएको छ ?
– खासै नौलो अनुभूति भएको छैन । विगत ५ वर्षदेखि गरिरहेको कामको निरन्तरता भएकाले नयाँ अनुभव नभए पनि थप जिम्मेवारी प्राप्त गरेको अनुभूति भने भएको छ ?

० तपाईले किन कार्यकाल दोहो¥याउन चाहनु भएको हो ? गर्नै पर्ने काम के बाँकी थिए र ?
–जिल्लामा रहेर एक कार्यकाल काम गर्दा र हालको परिवर्तित सन्दर्भमा पनि रहेर काम गर्ने इच्छा रहेको र गाउँ नगरहरुलाई समन्वय गर्नुपर्ने जिम्मेवारी पनि भएकाले दोहो¥याउने इच्छा गरको हुँ । यसमा विश्वास गरी सर्वसम्मत रुपमा जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।

० परिवर्तित सन्दर्भमा आम शिक्षकहरुका खास समस्याहरुलाई संगठनले कसरी हेरेको छ ?
–परिवर्तित सन्दर्भ भन्नाले स्थानीय तहमा माध्यमिक तहको शिक्षाको अधिकार गएको छ । त्यस अवस्थामा स्थानीय सरकार र शिक्षकहरुबीच केही असमझदारी हुने स्थिति पनि छ । केही पालिकाहरुमा शिक्षकहरुलाई त्रसित गराउने खालका कृयाकलापहरु शुरु गरेको गुनासो आउन थालेको छ । यस परिस्थितिमा संगठनले आफ्नो स्थानीय समितिहरुलाई सवल र कृयाशील बनाउनु र आवश्यकताअनुसार विभिन्न खाले दवावमुलक कार्यक्रममा संलग्न गराउनु आवश्यक छ । त्यस कामका लागि संगठनको जिल्ला समितिले भूमिका खेल्नेछ ।

० स्थानीय तहले शिक्षकहरुको शिक्षण पेशालाई असहज बनाउने त्यस्तो के संभावना देख्नु भएको छ ?
–स्थानीय तहमा गएको शिक्षाको अधिकार सम्बन्धमा केही अस्पष्टता भएको र दैनिक कार्यकारी अधिकार समेत स्थानीय तहका जनप्रतिनिधिहरुले प्रयोग गर्न खोजेको अवस्था छ । त्यस्तै कतै–कतै शिक्षकहरुलाई प्रतिशोधपूर्ण सरुवाको धम्की समेत दिएको पाइएको छ । यस्ता कुराहरुलाई नीतिगत रुपमा समाधान गर्नुपर्ने आवश्यकता छ । त्यस्तै शिक्षा सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा शिक्षकहरुलाई संलग्न नगराइने खतरा पनि त्यत्तिकै छ ।

० राष्ट्रिय शिक्षक संगठनले चाहिं कस्तो नीतिको आवश्यकता भएको ठानेको छ त ?
– स्थानीय सरकारले नीति निर्माण गर्दा शिक्षकका पेशागत संघ÷संगठनहरु र शिक्षाविदहरुलाई सहभागी गराउनु आवश्यक छ । त्यस्तै विद्यालयहरुलाई स्वायत्त रुपमा सञ्चालन हुन दिने र त्यसको अनुगमन स्थानीय सरकारले गर्ने व्यवस्था गर्ने तथा प्रधानाध्यापकहरुलाई अधिकार सम्पन्न र उत्तरदायी बनाउने नीति निर्माण गर्नु आवश्यक छ । प्रधानाध्यापक तथा स्रोत व्यक्तिहरुलाई आवधिक रुपमा परिवर्तन गर्ने व्यवास्था गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । शिक्षकहरुलाई बढी क्रियाशील बनाउनको लागि प्रोत्साहित गर्ने नीति बनाउन जरुरी भएको हामीले ठानेका छौं ।

० तपाईले भनेको जस्तो नीति निर्माण हुँदा शिक्षामा कस्तो सुधार हुने ठान्नु भएको छ ?
– विद्यालय क्षेत्रलाई समुदायले ध्यन नदिएको र राजनीतिक क्षेत्रले हस्तक्षेपकारी भूमिका खेलेको अवस्थामा शैक्षिक गुणस्तर अपेक्षाकृत प्राप्त हुन सकेको छैन । यस अवस्थामा अधिकार सम्पन्न प्रधानाध्यापकले आफ्नो विद्यालयलाई योजनामुताविक सञ्चालन गर्न सक्छ र शिक्षकहरुलाई आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुन्छ । कामै नगरी पद ओगटेर बस्ने र एकपटक पद प्राप्त गरेपछि सँदाको लागि त्यही पदमा रहँने अवस्थाले शिक्षाको गुणस्तर सुधार्न सकिएको छैन । यसमा परिवर्तन गरियो भने गुणस्तरमा सुधार आउँछ भन्ने हाम्रो विश्वास छ ।

० त्यसो हो भने अहिले आफ्नो क्षमता देखाउने अवसर शिक्षकलाई नभएको हो र ?
– कतिपय अवस्थामा शिक्षकले आफ्नो क्षमता देखाउन वातावरण पाएका छैनन् भने अन्य कतिपय अवस्थामा शिक्षकले क्षमता देखाउन चाहेका छैनन् । सबै स्तरका शिक्षकको एउटै मूल्यांकन हुने भएकाले हाल शिक्षकको तत्परता कम देखिन्छ । तसर्थ कार्यप्रगतिका आधारमा मूल्यांकन गर्ने व्यवस्था हुँदा क्षमता देखाउन अवसर प्राप्त हुन्छ ।

० अब, जिल्लाका सबै शिक्षकहरुले अनुभूति गर्ने गरी के परिवर्तन हुन्छ ?
– परिवर्तित सन्दर्भमा जिल्ला शिक्षा कार्यालय तथा जिल्ला शिक्षा समितिको अस्तित्व नै अनिश्चित भएको छ । यस अवस्थामा संगठनको जिल्ला समितिले विगतमा जिल्ला शिक्षा कार्यालयमा गर्दै आइरहेको प्रतिनिधित्व अब कम हुने देखिन्छ । तसर्थ संगठनले जिल्ला तहमा बढी प्राज्ञिक र पेशागत विकासका कामहरु गर्नै पर्ने हाम्रो बुझाई छ । अब हामी शैक्षिक गुणस्तर सुधारका लागि गुणस्तरीय शिक्षक तयार गर्ने काममा बढी ध्यान दिनेछौं । त्यस्तै संगठनका गाउँ तथा नगर समितिहरुलाई सशक्तीकरण गर्नु पनि हाम्रो अर्को काम हुनेछ ।

०सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षण गरेनन् भन्ने आरोप आइरहन्छ, यसलाई संगठनले कसरी लिएको छ ?
– यो आरोपमा केही सत्यता छ । तर हाम्रा संगठनका सदस्यहरु आफ्नो विद्यालयमा नियमित उपस्थित रहँने र कुशलतापूर्वक शिक्षण गर्ने गर्नुहुन्छ । अन्य संस्थामा आवद्ध शिक्षकहरुको बारेमा हाम्रो संगठनले केही गर्न मिल्दैन । हामी आफ्ना सदस्यहरुलाई त्यस्तो अनियमितता गर्न दिंदैनौं । त्यस्तो छ भने जानकारी दिनु भएमा संगठनले कारबारही गर्नेछ ।

० पेशामा कृयाशील भएको कुरा त गर्नुभयो तर पनि राज्यको लगानीको तुलनामा सामुदायिक विद्यालयल उपलब्धी दिएको देखिंदैन नी, किन होला ?
– अहिलेको अवस्थामा समाजले चाहेजस्तो उपलब्धी दिन नसकेको कुरा सत्य नै हो । त्यसोभन्दैमा सबै सामुदायिक विद्यालयको उपलब्धी कमजोर भने छैन । हाम्रा सदस्यहरुले नेतृत्व गर्नुभएका केही विद्यालयहरु संस्थागत विद्यालयभन्दा पनि राम्रो उपलब्धी दिन सक्षम देखिएका छन् । उपलब्धी दिनका लागि शिक्षक मात्रै जिम्मेवार रहँन सक्दैन । त्यसका लागि सरोकारवाला सबै पक्षको उत्तिकै भूमिका आवश्यक रहन्छ । विद्यालय व्यवस्थापन र प्रशासन, जिल्ला शिक्षा कार्यालय स्थानी समुदाय सबैले सहयोग पु¥याउने हो भने उपलब्धी वृद्धि गर्न सकिन्छ । हाल समुदायले चाहेको अंग्रेजी माध्यमलाई नै उपलब्धी मान्ने हो भने त्यसअनुसारको शिक्षक व्यवस्थापन पनि हुनु जरुरी छ ।

० संस्थागत विद्यालयमा जाने विद्यार्थी र अभिभावकको मन सामुदायिक विद्यालयले किन जित्न नसकेको होला ? कतै कक्षाकोठा रित्तिने संभावना देख्नु हुन्छ कि ?
– समुदायिक विद्यालयमा अभिभावकहरुले मागेको अंग्रेजी शिक्षा समयमा दिन सकेको भए आजको अवस्था आउने थिएन । अहिले केही विद्यालयहरुले त्यो प्रायास गरेको भए पनि समुदायले छिट्टै विश्वास गर्ने देखिन्न । त्यसैले सामुदायिक र संस्था दुवै विद्यालयहरुलाई एकै माध्यममा एउटै पाठ्यक्रम÷पाठ्यपुस्तक पढाउने गरी नीति निर्माण गर्नुपर्ने देखिन्छ । त्यसो नभएसम्मका लागि विद्यालयले समय सापेक्ष सुधार गर्दै जाने र समुदायको मन जित्ने प्रयत्न गर्दै आएका छन् । र केही विद्यालयहरुले सफलता पनि प्राप्त गरिरहेका छन् । तसर्थ कक्षाकोठा नै खाली होला जस्तो मलाई लाग्दैन ।

० किन सामुदायिक विद्यालयका शिक्षकहरुले नै संस्थागत विद्यालयमा आफ्ना बालबालिका पठाउँछन् त ?
– सबै सामुदायिक शिक्षकहरुले संस्थागत विद्यालयमा आफ्ना बालबालिका पढाएका छैनन् । र शिक्षकले आफ्नो बालबालिका सामुदायिक विद्यालयमा राख्दैमा गुणस्तर सुधार हुन्छ भन्ने पनि छैन । त्यसका लागि राज्यबाट सुविधा लिने सबै जनप्रतिनिधि तथा राष्ट्रसेवकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यलयमा पठाउने हो भने अवश्यक सुधार हुनेछ ।

० तर पनि संस्थागत विद्यालयमा अध्ययनका लागि पठाउनु भनेको त आफैप्रति विश्वास नभएर हैन र ?
– सबै शिक्षकहरुलाई आफ्ना बालबालिका आफ्नै विद्यालयमा पढाउन सम्भव पनि छैन । र आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका राख्दा उनीहरुको पढाइमा नकारात्मक प्रभाव पर्ने कुरालाई पनि नकार्न सकिन्न ।

० शिक्षण पेशालाई मर्यादित र अनुशासित बनाउन के गर्नु पर्ला ?
– गर्नुपर्ने कुराहरु त धेरै नै छन् । त्यसबारेमा छुट्टै लेख नै तयार गर्न सकिन्छ । छोटोमा भन्नुपर्दा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउन सकियो भने शिक्षकहरुको पनि प्रतिष्ठा बढ्नेछ । त्यसका लागि शिक्षासँग संवद्ध सबै निकायहरुलाई जिम्मेवार र उत्तरदायी बनाउनु पर्दछ ।

० जिल्लामा थुप्रै शिक्षक संघ÷संगठन छन्, तपाईंहरुको शिक्षक संगठन चाहिं अरुभन्दा के कुरामा भिन्न भएको ठान्नुहुन्छ ?
– पहिलो कुरा त हाम्रो संगठन देशकै पहिलो शिक्षक संगठन हो । र यो पेशागत संगठन हो । यसले कुनै पनि राजनीतिक विचारधारा या कुनै राजनीतिक पार्टीप्रतिको आवद्धतालाई स्वीकार गरेको छैन । विशुद्ध पेशागत संगठनको रुपमा रहेको यो संगठन राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा समेत नेपालको सबैभन्दा ठूलो र सबैभन्दा कृयाशील संगठनको रुपमा रहेको छ । स्थापनाकालदेखि नै संघर्ष र आन्दोलनमा हुर्किएको यो संगठनले धेरै पेशागन उपलब्धीहरु हाँसिल गराउन सफल भएको छ ।

० शैक्षिक गुणस्तरलाई सुधार गर्न त संघ÷संगठनमा भन्दा पनि शिक्षकहरु विद्यालयमै क्रियाशील हुनुपर्ने होइन र ?
– शिक्षकहरुको आधारभूमि भनेको कक्षाकोठा नै हो । हामी कक्षा कोठालाई छाडेर शिक्षक संगठनमा कार्यरत रहेका हौइनौं । विद्यालय समयभन्दा बाहेकको समय हामी संगठनमा खर्च गर्दछौं । अन्य संगठनका जस्तो विद्यालय छाडेर संस्थागत काममा लाग्ने अनुमति हाम्रो संगठनले दिएको छैन ।

० जिल्लाका संस्थागत विद्यालयका शिक्षक खासै राजनीतिमा देखिदैनन् तर सामुदायिक विद्यालयका शिक्षकहरु चाँहि राजनीतिमा मरिमेटेको देखिन्छ नि ?
–संस्थागत विद्यालयका शिक्षकहरुलाई संचालकहरुले शिक्षकहरुका पेशागत अधिकारबाट बञ्चित गरिएको अवस्था छ । त्यसकारण वहाँहरु पेशागत राजनीतिमा आउन नसक्नु भएको हो । तैपनि इस्टु जस्ता संस्था पनि पेशागत राजनीतिमा छन् । जहाँसम्म सामुदायिक विद्यालयका शिक्षकहरुले राजनीति मरिहत्ते गरेको कुरा छ, त्यो कुरा सत्य होइन । सामुदायिक विद्यालयका शिक्षकहरुले पेशागन संघ÷संगठन खोल्न पाउने आफ्नो संवैधानिक अधिकार प्रयोग गरेका हुन् । यदि कसैले यो अधिकारलाई दुरुपयोग गरेर शिक्षण पेशालाई आघात पर्ने गरी पार्टी राजनीतिमा लागेको छ भने त्यस्तालाई भने कारबाही गरिनुपर्छ ।

० शैक्षिक क्षेत्रलाई राजनीतिले किन हस्तक्षेप गरेको जस्तो लाग्छ यहाँलाई ?
– शिक्षा क्षेत्रमा राजनीतिले जति हस्तक्षेप गर्नुपर्ने हो त्यति हस्तक्षेप नगरेरै यो अवस्था आएको जस्तो लाग्छ । विगतमा मन्त्रालय बाँडफाँड हुँदा शिक्षा मन्त्रालय कुनै पनि पार्टीको प्रथामिकतामा परेको थिएन । तसर्थ विद्यालयको गुणस्तर सुधार गरी शिक्षा क्षेत्रलाई अगाडि बढाउन राजनीतिक हस्तक्षेप आवश्यक छ तर, राजनैतिक आस्थाका आधारमा भेदभाव भने गरिनु हुँदैन ।

० हालको शिक्षण सिकाई क्रियाकलाप प्रति तपाई सन्तुष्ट हुनुहुन्छ ?
–सामुदायिक विद्यालयमा हाल बालमैत्री शिक्षण विधि प्रयोग गर्ने गरिएको छ । यसले विद्यार्थीहरुको परीक्षामा पाउने नतिजा त्यति धेरै उत्कृष्ट नदेखिएता पनि उनीहरुको समग्र विकासमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । त्यसबाहेक गरेरै सिक्ने वातावरणको विकास पनि भइरहेको छ । यस हिसाबले सामुदायिक विद्यालयको शिक्षण सिकाई क्रियाकलापहरु सन्तोषजनक रुपमा परिवर्तन भइरहेका छन् ।

० सामुदायिकभन्दा संस्थागत विद्यालयका शिक्षकहरु जाँगरिला किन हुन्छन् ? शिक्षण सिकाई क्रियाकलाप पनि भिन्न भएर अब्बल उपलब्धी प्राप्त गर्न सकेको हो र ?
–सामुदायिक विद्यालयका शिक्षकहरुलाई उत्प्रेरित गर्ने खालका नीतिगत व्यवस्थाहरु कमजोर रहेका छन् । तर, संस्थागत विद्यालयमा शिक्षकहरुलाई दवावमुलक अवस्थामा काम गर्नुपर्ने भएकाले बढी तत्परता जस्तो देखिन्छ । तर, संस्थागत विद्यालयमा अध्ययन गरेको विद्यार्थीहरु समाजमा सजिलै घुलमिल हुननसक्ने र समुदायमा सफल व्यक्तिको रुपमा स्थापित पनि हुन नसक्ने देखिएको छ । त्यस हिसाबले संस्थागत विद्यालयको गुणस्तर परीक्षाको नतिजामा देखिएता पनि विद्यार्थीको जीवनमा भने कमै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

पाँचखालका विद्यालयमा पठनपाठन सुरु

धुलिखेल ५ असोज : पाँचखाल नगरपालिका भित्र रहेका नीजि तथा सरकारी विद्यालयहरुमा पठनपाठन सुरु भएको

काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा

धुलिखेल, १७ भदौँः काभ्रेको तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्र कार्यरत शिक्षकको निःशुल्क कोरोना बिमा गरिदिने भएको

बेथानचोक गाँउपालिकाले बैकल्पीक शिक्षण सिकाई बन्द गर्ने

धुलिखेल २४ साउन : काभ्रेको बेथानचोक गाँउपालिकाले बैकल्पीक शिक्षण सिकाई सहजिकरण कार्यबन्द गर्ने निर्णय गरेको

महाभारत गाउँपालिकामा शिक्षकलाई कम्प्युटर तालिम

धुलिखेल २० साउन : काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाँउपालिकामा कार्यरत शिक्षकहरुलाई कम्प्युटर तालिम दिने

नमोबुद्ध र पनैती नगरपालिकाले तत्काल विद्यालयमा पठन पाठन नगर्न आग्रह

धुलिखेल २० साउन : काभ्रेको नमोबुद्ध र पनौती नगरपालिकाले तत्काल पठन पाठन सुरु नगर्न विद्यालयहरुलाई

पूर्व मन्त्री बाँस्कोटाको पहलमा मण्डनदेउपुरका सामुदायिक विद्यालयको यसरी फेरिदैँ मुहार

धुलिखेल, ५ साउनः सरकारमा सहभागि भएको छोटो समयमै विवादपछि राजिनामा दिएका पूर्व सञ्चार तथा सूचना