२०८०, १५ चैत्र बिहीबार

भोजपुरको प्रदेशसभाः राजेन्द्र राई भर्सेज अजम्बर काङमाङ !

भोजपुरको प्रदेशसभाः राजेन्द्र राई भर्सेज अजम्बर काङमाङ !

खबरघर

१२ कात्तिक, भोजपुर । भोजपुरका एमाले नेता अजम्बर राई काङमाङले ०६९ को असारतिर अशोक राईसँगै पार्टीबाट विद्रोह गरे । लगत्तै भोजपुरका अर्का एमाले नेता राजेन्द्र राईले सामाजिक सञ्जालमा लेखे- वर्गीय मुक्तिको झण्डा बोक्न यो राजेन्द्र राई मैदानमा खडा छ ।

अहिले परिस्थितिले फेरि एकपटक राजेन्द्र र अजम्बरलाई आमने सामने खडा गरिदिएको छ, त्यो पनि चुनावी मैदानमा । वर्गीय मुक्ति र जातीय मुक्तिका दुई योद्धाको चुनावी भिडन्त १ नम्बर प्रदेशकै सम्भवतः सबैभन्दा रोचक बन्नेछ । त्यसैले यसपटक भोजपुरको प्रदेश सभा ‘क’ चर्चामा छ ।

एमाले-माओवादी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र र कांग्रेस संघीय गठबन्धनका साझा उम्मेदवार अजम्बर अहिले दुवैजना भोट माग्दै जनताको घरदैलोमा हिँडिरहेका छन् । प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका एमालेका राजेन्द्र, वाम तालमेलमा माओवादीले प्रतिनिधिसभा पाएपछि प्रदेशको उम्मेदवार बनेका छन् ।

करिव ३० वर्षसम्म एउटै पार्टीको राजनीति गरेका राजेन्द्र र अजम्बरको बाटो फेरिएको ५ वर्षपछि चुनावी बाटोमा जम्काभेट भएको छ । एमाले केन्द्रीय सदस्य राजेन्द्र र संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अजम्बरमध्ये कसले जित्लान् भोजपुरको प्रदेशसभा (क) को चुनाव ? अहिले चासोको विषय बनेको छ भोजपुरमा ।

भोजपुरमा कतिपय व्यक्ति राजेन्द्र र अजम्बरका साझा शुभेच्छुक छन् । उनीहरुले दुवै नेतालाई एकै पदमा नभिडाउने प्रयास नगरेका होइनन् । तर, राजनीतिमा व्यक्तिले चाहेर भन्दा पार्टीले चाहेर निर्णय हुन्छ । अब ती शुभेच्छुकहरुले राजेन्द्र वा अजम्बर एक रोज्नुपर्ने बाध्यता आइलागेको छ ।

भोजपुर १ आजसम्म वामपन्थीले कहिल्यै नहारेको क्षेत्र हो । ०४८ देखिका हरेक निर्वाचनमा एमालेले जित्दै आएको यस क्षेत्रमा ०६४ मा माओवादीले जितेको थियो । यो क्षेत्रबाट तीनपटक पराजित भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की यसपटक भोजपुर छाडेर सुनसरी झरिसकेका छन् ।

यसपालि कांग्रेसले सो क्षेत्रमा पूर्वएमाले नेता अजम्बर राईलाई समर्थन गरेर चुनावी माहोललाई रोचक बनाइदिएको छ । त्यसो त संघीय समाजवादी र कांग्रेसको चुनावी तालमेल यो पहिलो होइन । यसअघि स्थानीय तहको चुनावमा पनि कांग्रेस र संघीय समाजवादी यस क्षेत्रका टेम्के मैयुम र साल्पा सिलिछो गाउँपालिकामा मिलेर चुनाव लडेका थिए ।

दुई राईको राजनीतिक यात्रा

चुनावी आँकलन गर्नुभन्दा अघि अजम्बर र राजेन्द्रको सम्बन्धका बारेमा केही चर्चा गर्नुपर्ने हुन्छ ।

दुवैको राजनीति ४० को शुरुवाती दशकदेखि भएको हो । अजम्बर तत्कालीन मालेसम्बद्ध अनेरास्ववियुको जिल्ला कमिटीमा हुँदा राजेन्द्र स्कुलस्तरीय प्रारम्भिक कमिटीमा थिए ।

अजम्बरका अनुसार राजेन्द्रलाई उनी र कमलजंग राईले सदस्यता दिएका हुन् । तर, राजेन्द्र भने अजम्बर आफूभन्दा माथिल्लो कमिटीमा रहे पनि सदस्यता उनले दिएको होइन भन्छन् ।

पछि राजेन्द्र अखिलको केन्द्रीय कमिटीमा रहँदा अजम्बर विश्वविद्यालय कमिटीमा थिए ।

भोजपुर टेम्के मैयुमका अजम्बर र षडानन्द नगरपालिकाका राजेन्द्रले युवा विद्यार्थी फ्रयाक्सन कमिटी बाहेक कहिल्यै सँगै काम गर्नु परेन । राजेन्द्र ०४३ तिर काठमाडौं आएपछि आरआर क्याम्पसको स्ववियु सदस्य हुँदै २०४९ मा सभापति निर्वाचित भए ।

अजम्बर भने भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य भए । ०४७ सालमा केपी शर्मा ओली अध्यक्ष भएर युवा संघ स्थापना भएपछि अजम्बरको राजनीति भोजपुर संयोजक हुँदै युवा संघतिर मोडियो । राजेन्द्र राई भने विद्यार्थी संगठनमा चर्चित बने ।

पार्टीभित्रको बैचारिक संंघर्षमा पनि अजम्बर र राजेन्द्र सधैं नदीका दुई किनाराजस्तै अलग-अलग धारामा बगिरहे । ०५४ सालमा एमाले बिभाजनपछि अजम्बर मालेतिर लागे । राजेन्द्र एमालेको बचाउमा खडा भए ।

अजम्बर माले सम्बद्ध युवा संघको महासचिव हुँदा राजेन्द्र एमाले सम्बद्ध अनेरास्ववियुको महासचिव हुँदै २ पटक अध्यक्ष बने ।

पार्टी पुनः एकीकरणपछि राजेन्द्र अखिलको अध्यक्ष भए भने अजम्बर युवा संघको सचिव भए । राजेन्द्र अखिल अध्यक्षबाट विदा भएपछि अजम्बर युवा संघको अध्यक्ष बने । पार्टीर्भित्रको अन्तरसंघर्षमा राजेन्द्र माधव नेपाल पक्षमा थिए भने अजम्बर झलनाथ पक्षमा ।

०६५ को आठौं महाधिवेशनमा राजेन्द्र प्रतिनिधि बन्न सकेनन्, तर अजम्बर झलनाथ प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भए । तर, ०६९ मा अजम्बर एमालेबाट बाहिरिएपछि राजेन्द्र केन्द्रीय सदस्य मनोनित भए । ०७० सालमा राजेन्द्रले भोजपुर १ मा टिकट पाएनन् । अजम्बर भने संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर एमालेसँग तेस्रो भए ।

चुनावी अंकगणितः वामपन्थी गठबन्धन अगाडि

अहिले राजेन्द्र र अजम्बर एउटै प्रदेशसभामा उम्मेदवार बनेका छन् । मुख्य प्रतिस्पर्धी पनि यिनै दुई भाइ हुन् । यो प्रदेशसभामा षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका पूरै पर्छन् ।

टेम्के मैयुमको १ देखि ५ नम्बर वडा यस क्षेत्रमा पर्छन् भने भोजपुर नगरपालिकाका १, २, ३, ४, ५ र १० नम्वर वडा पर्छन् । पौवादुम्मा गाउँपालिकाका वडा नम्बर १ र २ पनि यही क्षेत्रमा पर्छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा षडानन्द नगरपालिकाको मेयर कांगे्रेसले जितेको छ भने उपमेयर एमालेले । साल्पा सिलिछोमा पनि अध्यक्ष कांग्रेस र फोरमको गठबन्धनले जितेको छ । भोजपुर नगरपालिकाका ६ मध्ये २ वडा कांग्रेसले र ४ वटा एमाले-माओवादीले जितेका छन् ।

टेम्के मैयुममा ५ वडामध्ये ४ वटा एमालेले जितेको छ भने एउटा कांग्रेस र फोरमको गठबन्धनले जितेको छ । पौवादुम्माका एक-एक वडा एमाले र माओवादीले जितेका छन् । समग्र मत विश्लेषण गर्दा यो क्षेत्रमा वामपन्थी गठबन्धनको मत १८ हजार ३५७ छ भने लोकतान्त्रिक गठबन्धनको मत १४ हजार ३४ मत छ । टेम्के मैयुममा त्यसबेला माओवादी पनि कांग्रेस र फोरमसँग मिलेकाले लोकतान्त्रिक गठबन्धनको समग्र मतमा केही माओवादीको पनि जोडिएको छ ।

दुवै गठबन्धनको स्थानीय तहको मत विश्लेषण गर्दा करीव ४ हजारले वामपन्थी गठबन्धन अगाडि छ । तर, प्रदेशसभा सदस्यको चुनावमा स्थानीय तहको मत सबै तीनै दलका उम्मेदवारमा जाँदैन । यसमा उम्मेदवारको व्यक्तित्वले पनि फरक पार्न सक्छ ।

अजम्बर एकपटक चुनाव लडिसकेका र भोजपुरको स्थानीय राजनीतिमा निरन्तर लागिरहेका नेता हुन् । राजेन्द्र राई पनि अनेरास्ववियुको अध्यक्षबाट विदा भएपछि विशेष गरी पछिल्ला ५ वर्षयता धेरैजसो गाउँघरमै क्रियाशील भइरहेका छन् । दुवै नेताको क्रियाशीलता लोभलाग्दो छ ।

अजम्बर र राजेन्द्र प्रतिस्पर्धा गरिरहेको क्षेत्र शिक्षा र जागरणको हिसाबले पूर्वाञ्चलकै सचेत मतदाता रहेको क्षेत्र हो । नारी अधिकारकी अग्रज योगमायादेखि शिक्षाको ज्योती छर्ने आबाल ब्रम्हचारी षडानन्दको जन्मभूमि हो यो क्षेत्र । यहाँ बाहुन, क्षेत्री र राई, तामाङ, शेर्पा समुदायको मिश्रित बसोबास छ ।

हटसिटमा हारजितः दुवै ढुक्क

दुवै उम्मेदवार एउटै समुदायका भएकाले यहाँको चुनाव अझ रोचक बनेको छ । नत्र यसअघि यो क्षेत्रबाट घनेन्द्र बस्नेत बाहेक सधैं एमालेले जनजाति उम्मेदवार उठाउने गरेको थियो । कांग्रेसले प्रायः क्षेत्री उम्मेदवार उठाउँथ्यो । यसपटक दुवै एउटै पृष्ठभूमि र एउटै समुदायका अनि एकै पुस्ताका प्रभावशाली युवा नेताको भिडन्तले भोजपुर १ हटसिट बन्न पुगेको छ ।

चार हजार मत अगाडि रहेको वामपन्थी गठबन्धन राजेन्द्र राईको व्यक्तित्वका कारण पनि अझ फराकिलो मतान्तरले जित्नेमा ढुक्क देखिन्छ । प्रतिनिधिसभामा माओवादीका सुदन किराती र प्रदेश २ मा मुख्यमन्त्रीका उम्मेदवार एमाले नेता शेरधन राई उम्मेदवार बनेका कारण पनि वामपन्थी मत अझ बढ्ने दाबी एमाले नेताहरुको छ ।

अजम्बर राईले एकताका बाहुन क्षेत्रीय विरोधी अभिव्यक्ति दिएका कारण खस आर्यको मत राजेन्द्र राईले पाउने आँकलन उनीहरुको छ । राजेन्द्रलाई कुनै समय संघीय समाजवादीका कार्यकर्ताले ‘राई बाहुन’ भनेर व्यंंग्यसमेत गर्थे । उनी त्यसको फाइदा पनि लिने दाउमा देखिन्छन् ।

उता कांग्रेसको समर्थन पाएका अजम्बर राप्रपा र माओवादीका पनि कतिपय मत पाउने आशमा बिजयको सपना देखिरहेका छन् । कांग्रेसले प्रतिनिधिसभामा उमेशजंग रायमाझी र प्रदेश २ मा गोविन्द कार्की दुवै खस आर्य उम्मेदवार उठाएकाले सो समुदायको मत विभाजित नहुने अजम्बरको आश छ ।

१ नम्बर प्रदेशको सीमांकनः राजेन्द्र-एस, अजम्बर-नो

राजेन्द्र राई र अजम्बर राईबीच चुनावी प्रतिस्पर्धामा केही एजेण्डा मुखरित भएका छन् । अजम्बरले पहिचानको मुद्दा अघि सारेका छन् भने राजेन्द्रले सम्वृद्धिको मुद्दालाई प्राथमिकता दिएका छन् ।

अजम्बर जातीय मुक्तिलाई प्राथमिकता दिन्छन्, राजेन्द्र वर्गीय मुक्तिपछि मात्र जातीय मुक्ति सम्भव छ भन्छन् ।

अजम्बरले प्रदेश नम्बर १ को प्रादेशिक बिभाजन विभेदपूर्ण रहेको भन्दै यसको संशोधन हुनुपर्ने विषयलाई चुनावी एजेण्डा बनाएका छन् । जातिगत बसोबासका आधारमा प्रदेशको सीमांकन हुनुपर्ने उनको भनाइ छ ।

अजम्बरले अनलाइनखबरसँग भने- संघीयतामा प्रदेशको विभाजन न्यायोचित छैन । १ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनुपर्छ । प्राकृतिक भूगोललाई आधार बनाएर मात्रै प्रदेश बिभाजन भएको छ । हामी मानवीय भूगोलका आधारमा पहिचानसहितको प्रदेश बनाउनुपर्छ भन्नेमा छौं ।

राजेन्द्र राईको एजेण्डा अजम्बरसँग मिल्दैन । उनले अहिलेको प्रादेशिक बिभाजन भौगोलिक र मानवीय दुवै हिसाबले वैज्ञानिक रहेकाले यसलाई तत्काल चलाउनुनपर्ने बताएका छन् । लामो छलफलबाट संविधानसभाले गरेको प्रदेश बिभाजन आफूलाई मान्य रहेको उनले बताए ।

राजेन्द्रले भने- एक नम्बर प्रदेश संरचना धेरै लामो छलफलबाट तय भएको हुनाले तत्कालै यसको हेरफेर सम्भव छैन । हाम्रो प्रदेश हिमाल, पहाड र मधेस सबै मिलेको हुनाले यसलाई अनुपयुक्त भन्न मिल्दैन ।

राजेन्द्रलाई चुनाव जित्ने गुरुमन्त्र सिकाइनँः अजम्बर

राजेन्द्रजी मेरो मित्र नै हो । राजनीतिमा उहाँको म गुरु हुँ । उहाँलाई ०४१ मा मैले र कमलंग राईले अनेरास्ववियुको सदस्यता दिएको हो । पार्टीमा हामीले एउटै कमिटीमा चाहिँ धेरै काम गर्न पाएनौं ।

म उहाँभन्दा पहिले एमालेको केन्द्रीय सदस्य भएको हुँ । हामीले एमाले पहिचान बिरोधी भएकाले विद्रोह गरेर हिँडेपछि राजेन्द्रजी केन्द्रीय सदस्य हुनुभएको हो । म पहिचानवादी हुँ, उहाँ पहिचान विरोधी पर्नुभयो ।

मेरो प्रतिस्पर्धी राजेन्द्र राई अधिकांश समय केन्द्रीय राजनीतिमा रहनुभयो । उहाँले मैलेजस्तो जनस्तरमा काम गर्नुभएको छैन । अहिले एउटा सन्दर्भमा एउटै थलोमा आइपुगेका छौं । म उहाँको गुरु भएकाले राजनीतिमा धेरै शिक्षा मैले दिएको छु । तर, चुनाव कसरी लड्ने र जित्ने भन्ने शिक्षाचाहिँ दिएको छैन ।

गुरुले शिष्यलाई सबै कुराको शिक्षा दिन्छ, तर गुरुमन्त्र चाहिँ दिँदैन । मैले पनि त्यही गुरुमन्त्रले चुनाव जित्ने अपेक्षा गरेको छु । म बाहुन क्षेत्री बिरोधी होइन भन्ने कुरा यसअघि नै पुष्टि भइसकेको छ । पहिचानवादी हुँ तर, जातिवादी होइन । कांग्रेसका खस आर्यको पनि मैले भोट पाउँछु र चुनाव जित्छु । राप्रपाको पनि भोट पाएर करिव ४/५ हजारको फरकले जित्छु ।

जातिवादीसँग लड्नुपर्दा मजा आएनः राजेन्द्र राई

मेरो राजनीतिक जीवन सबैका सामु खुला किताब छ । अजम्बरजीले आफूलाई मेरो गुरु भन्नुभएछ, वास्तवमा उहाँ मेरो गुरु होइन । उहाँ जिल्ला कमिटी सदस्य हुँदा म प्रारम्भिक कमिटीमा थिएँ तर सदस्यता दिएको होइन । पछि म केन्द्रीय सदस्य हुँदा उहाँ अखिलको विश्वविद्यालय कमिटीमा रहनुभयो । यस हिसाबले कहिले म सिनियर कहिले उहाँ सिनियर ।

राजनीतिक आन्दोलनमा लाग्ने क्रममा उहाँहरुमा विचलन आयो । वर्गीय मुक्तिको आन्दोलनमा हामी लागेका थियौं तर उहाँहरु जातीय राजनीतिमा लाग्नुभयो । पहिचानका नाममा भिन्न जाति समुदायबीच घृणा फैलाउने बाटो उहाँहरुले अँगाल्नुभयो । बाटो फरक भएपछि हामी चुनावी मैदानमा पनि फरक-फरक बिचारको लडाइ लड्दैछौं ।

मेरो चाहना राजनीतिक पार्टीको नीति सिद्धान्त र विचार बोकेको पार्टीका साथीसँग प्रतिस्पर्धा गर्ने थियो । राजनीतिक नेतासँग प्रतिस्पर्धा गर्न मलाई गौरवबोध हुने थियो तर यसपटक जातिवादी, क्षेत्रीयतावादी मित्रसँग लड्नुपरेकोमा खासै मजा लागेको छैन ।

भोजपुरमा हामीले हार्ने भन्ने प्रश्न छैन । ०६४ को पहिलो संविधानसभा बाहेक सबै चुनाव एमालेले जितेको क्षेत्र हो यो । ०६४ मा जितेको माओवादी पनि अहिले हामीसँगै गठबन्धनमा रहेकाले चुनाव जित्न कुनै समस्या छैन । मैले राजनीतिक रुपमा प्रतिस्पर्धी पाएको छैन ।

मैले जहिले पनि जातीय विद्वेष र घृणाको राजनीतिलाई अस्वीकर गरें । राजनीतिक दल भनेको दर्शन र सिद्धान्तबाट चल्नुपर्छ, जातीय क्षेत्रीय एजेण्डालाई पार्टीले सिद्धान्त बनाउनु हुँदैन भन्ने मेरो मान्यतालाई भोजपुरका सबै जनताले स्वीकार गरेका छन् । अजम्बरजीको जातीय एजेण्डालाई भोजपुरका जनताले ०७० मै पराजित गरिसकेका छन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : ५७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय