२०८१, २९ भाद्र शनिबार

बंगलादेशका अन्तरिम सरकार प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बने

बंगलादेशका अन्तरिम सरकार प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बने


काठमाडौं। बंगलादेशमा नोवेश पुरस्कार बिजेता मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख बन्नुभएको छ । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले मंगलबार राती युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्नुभएको हो ।

आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गर्नुभएको थियो । आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले जनाएको छ।

आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेताहरू र राष्ट्रपति मुहम्मद शहाबुद्दीनबीचको बैठकपछि उक्त निर्णय भएको हो । बैठकमा तीनवटै सशस्त्र सुरक्षा बलका प्रमुखहरूको समेत उपस्थिति थियो । आफ्नै सरकारी निवास आन्दोलनकारीको कब्जामा परेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट राष्ट्रपति मुहम्मद शहाबुद्दीनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गर्नुभएको थियो ।

विद्यार्थी नेताहरूले संसद भंग गर्न राष्ट्रपतिलाई मंगलबार दिउँसो ३ बजेसम्मको समयसीमासमेत तोकेका थिए । राष्ट्रपति शहाबुद्दीनले तीनै सुरक्षा निकाय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थीसँग भएको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गर्नुभएको थियो ।

विद्यार्थीहरूले नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिनुपर्ने माग पनि अघि सारेका थिए । अन्तरिम सरकार गठनका लागि राष्ट्रपति र आन्दोलनको अगुवाइ गरेका विद्यार्थी नेताहरूबीच मंगलबार साँझ वार्ता भएको थियो । उक्त वार्ताले युनुसको नेतृत्वमा सरकार बन्ने निश्चित गरेको हो ।

युनुस हाल उपचारका लागि फ्रान्सको राजधानी पेरिसमा हुनुहुन्छ । उहाँले सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर स्वदेश फर्किने जनाइसक्नु भएको छ । ८४ वर्षीय युनुस अर्थशास्त्री हुनुहुन्छ । उहाँले बंगलादेशमा ग्रामीण बैंक स्थापना गर्नुका साथै लघुवित्तको अवधारणा सुरु गर्नुभएको थियो । उहाँको अवधारणाले दसौं लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइन्छ । उक्त कामका लागि युनुसलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार दिइएको थियो । हसिनाले भने युनुस ‘गरिबहरूलाई चुस्ने परजीवी’ भएको र उनले गरिबलाई ऋण दिएर धेरै ब्याज लिने गरेको आरोप लगाउँदै आउनुभएको थियो ।

युनुसलाई गत जुनमा बंगलादेशको एक अदालतले आर्थिक अपचलन मुद्दामा दोषी ठहर गरेको थियो । यद्यपि युनुसले उक्त आरोप अस्वीकार गर्दै आउनु भएको छ । युनुसका समर्थक पनि हसिना नेतृत्वको सरकारले राजनीतिक दुराशयका कारण झूटा मुद्दा लगाएको दाबी गर्दै आएका छन ।

बंगलादेशको राजनीतिमा लामो समयदेखि हसिना नेतृत्वको अवामी लिग र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)बीच तीव्र प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धाले सन् २००६ मा पनि यस्तै अन्तरिम सरकार बनेको थियो । बंगलादेशमा लोकतन्त्र स्थापित भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासन सत्ता सम्हाल्नु भएको थियो । तर, यसबीचमा हसिना र जियाबीचको सम्बन्ध चिसियो । जसका कारण बंगलादेशको राजनीति अस्थिर बन्न पुग्यो ।

हसिना भने १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसको पाँच वर्षपछि भने उहाँ जियासंग पराजित हुनुभयो । जसका कारण २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री हुनुभयो । यसबीचमा दुई नेतृहरूबीचको सम्बन्ध थप बिग्रियो । उनीहरूबीचको द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन, प्रतिशोधतर्फ अघि बढ्न थाल्यो । दुई नेतृबीचको राजनीतिक प्रतिशोधसंगैका विरोध प्रदर्शन, हिंसा र झडपहरूका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लिएको थियो । पछि सेना प्रमुख जर्नेल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिनुभएको थियो ।

बंगलादेशमा फेरी यसैगरी नयाँ सरकार बन्ने भएको छ । बीएनपी प्रमुख एवं पूर्वप्रधानमन्त्री खालिदा जियालाई मंगलबार दिउँसो रिहा गरिएको छ । राष्ट्रपतिको निर्देशनअनुसार मंगलबार औपचारिक राजपत्रमा रिहाको सूचना जारी गरिएको हो । राष्ट्रपतिले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै जियालाई रिहा गर्ने घोषणा गर्नुभएको थियो । उहाँले पछिल्लो आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न पनि निर्देशन दिएको बंगलादेशी सञ्चार माध्यमले उल्लेख गरेका छन ।

लामो समयदेखि हसिनाकी प्रतिद्वन्द्वी रहनुभएकी जियालाई २०१८ मा भ्रष्टाचार मुद्दामा १७ वर्षका लागि जेल सजाय दिइएको थियो । जियालाई यथेष्ट प्रमाणबिना नै राजनीतिक प्रक्रियाबाट अलग गर्ने उद्देश्यले मुद्दा लगाइएको टिप्पणी अमेरिकाले गरेको थियो । त्यस्तै, एमनेस्टी इन्टरनेसनलले पनि उनलाई ‘निष्पक्ष सुनुवाइको अधिकार’ नदिइएको उल्लेख गरेको थियो । स्वास्थ्य अवस्था बिग्रेपछि जियालाई २०१९ मा उपचारका लागि अस्पताल सारिएको थियो ।

२०२० मार्चमा उहाँलाई आफ्नो घरबाहिर जान, राजनीतिक प्रक्रियामा सहभागी हुन र विदेशी जान नपाउने सर्तमा ६ महिनाका लागि रिहा गरिएको थियो । त्यसयता छैटौं पटकसम्म म्याद थपेर उनलाई निवासमै नजरबन्दमा राखिएको थियो । विद्यार्थीको अगुवाइमा भएको आन्दोलनका कारण हसिनाले देश छाडेपछि जियाको रिहाइका लागि बाटो खुलेको हो । जियाको रिहाइसँगै विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेका अन्यलाई पनि रिहा गर्ने प्रक्रिया सुरु भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जियाको दल बीएनपीले २०१४ र २०२४ को निर्वाचन बहिष्कार गरेको थियो । हसिना नेतृत्वको सरकारले देशमा स्वतन्त्र र निष्पक्ष चुनाव गर्न नसक्ने भन्दै बीएनपीले तटस्थ कामचलाऊ सरकारले चुनाव गराउनुपर्ने माग गर्दै आएको थियो । हसिनाले अस्वीकार गरेको उक्त माग अब पूरा हुने सम्भावना छ । बीएनपीले हालसम्म प्रधानमन्त्री पदमा दाबी भने गरेको छैन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बीएनपीले विद्यार्थी नेताहरूलाई पूर्ण समर्थन गर्ने जनाएको छ । नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारणलाई शान्त रहन जियाले आग्रह गरेको बीएनपीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २३ श्रावण बुधबार  १० : १७ बजे

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै

मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका

यस्तो छन् मन्त्रिपरिषद्का निर्णयहरु (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा