२०८०, १५ चैत्र बिहीबार

यसकारण सर्वसम्मत हुनुपर्छ काभ्रे एमालेमा नेतृत्व

यसकारण सर्वसम्मत हुनुपर्छ काभ्रे एमालेमा नेतृत्व


हिरामान लामा
उप महासचिव प्रेस चौतारी नेपाल, काभ्रे कम्युनिस्टहरुको

बाहुल्यता भएको जिल्ला हो । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने करिब ७० प्रतिशत मत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले पाएको थियो । अहिले पनि जिल्लामा कम्युनिस्ट समर्थकहरुकै बाहुल्यता रहेको छ । यसमा पनि नेकपा एमालेको अवस्था निकै मजबुत देखिन्छ । पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा केही पुराना नेताहरु लागे पनि पार्टीको मूलप्रवाहमा ठूलो असर परेको देखिँदैन । युवा पुस्ता र विकासप्रेमीहरुको आकर्षण विस्तारै एमालेतिर नै पल्लाभारी हुँदै गएको छ । यही अवस्थामा काभ्रे एमालेले नयाँ नेतृत्व चयन गर्दैछ ।

धुलिखेलमा विशाल जनप्रदर्शनका साथ नयाँ नेतृत्व चयनका लागि आजबाट जिल्ला अधिवेशन हुँदैछ शुरु भएको छ । नेतृत्व सहमतिबाट वा निर्वाचनबाट त्यसको टुंगो लागिसकेको त छैन तर सहमतिमै जिल्ला नेतृत्व टुंगो लगाउने तयारी भने घनिभूत रुपमा भइरहेको छ । निर्वाचनमा जाँदा गुटबन्दी हुने र गुटबन्दीले आगामी निर्वाचनसम्म असर पर्ने भएकाले पनि प्रतिस्पर्धाबाट भन्दा पनि सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा धेरै नेता कार्यकर्ता र प्रतिनिधिहरु रहेका छन् । जिल्ला इन्चार्ज एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटा पनि सहमतिमै नेतृत्व टुंग्याउने कसरतमा छन् । जसका कारण अहिलेसम्म जिल्ला नेतृत्वका लागि कसैले खुला रुपमा उम्मेदवारी घोषणासमेत गरेका छैनन् । केन्द्रीय महाधिवेशनमा झैँ जिल्लामा पनि बन्दसत्रभित्र नाम घोषणा गरिने र त्यसमा चित्त नबुझे निर्वाचन गर्ने तयारीका साथ प्रक्रिया अगाडि बढाइएको छ । इन्चार्ज बाँस्कोटाले पनि यही तयारीका साथ छलफललाई तीब्रता दिइरहेका छन् । उनले नेतृत्वको लागि भन्दा जनताको सेवामा ध्यानकेन्द्रित गर्न नेता कार्यकर्ताहरुलाई सचेत गराइरहेका छन् । नेतृत्वमा जोसुकै आए पनि सम्पूर्ण पार्टीका नेता कार्यकर्ताको ध्यान माक्र्सवाद लेनिवाद र जनताको बशुदलिय जनवादको आलोकमा ‘समृद्ध नेपाल ः सुखी नेपाली’को नारालाई सार्थक बनाउन योगदानमूलक हुनुपर्ने उनको तर्क छ ।

राष्ट्रिय स्तरको बहसमा पनि उनले यही कुरालाई जोड दिँदै आएका छन् । पदभन्दा पनि पार्टीको लक्ष्य पूरा गर्न इमान्दारिताका साथ जनताको काममा जुट्नु अहिलेको मुख्य दायित्व भएको र यसले नै पार्टीलाई अब्बल बनाउने तर्कका साथ बाँस्कोटाले सबैलाई चित्त बुझाउन खोज्दैछन् । काभ्रे एमालेमा अहिले मुख्यगरी तीन पक्षलाई मिलाएर नेतृत्व चयन गर्नुपर्ने बाध्यता छ । एउटा सहमति नगरी निर्वाचनमा जाँदा तीनै पक्षलाई मिलाएर नेतृत्व आउन सम्भावना देखिँदैन । अघिल्लो महाधिवेशनमा माधव नेपाल समूहमा लागेका नेताहरु, पूर्वमाओवादीका नेताहरुलाई पनि मिलाएर जिल्ला नेतृत्वमा ल्याउनका लागि पनि सहमतिको विकल्प छैन । तर, सहमतिमा नेतृत्व टुंग्याउँदा पनि कार्यकर्तालाई चित्तबुझ्दो आधार भने दिनसक्नुपर्छ । ताकि आफ्नो नेतृत्वलाई पार्टीका आम कार्यकर्ताले सहजै स्वीकार गरुन् । औंला ठड्याउने अवस्था नआओस् । त्यसका लागि खल्तीबाट नाम घोषणा गर्ने भन्दा नेतृत्व चयनमा सबैले विश्वास गर्ने एउटा मापदण्ड बनाउनुपर्ने खाँचो देखिन्छ । मापदण्डमा परिएन, त्यसैले नेतृत्वमा आइएन भन्ने प्रष्ट सन्देश आकांक्षीहरुमा जान जरुरी छ । होइन भन्ने सहमतिका नाममा छानिएको नेतृत्वले पार्टीमा झनै संकट पनि ल्याउन सक्छ । यस कुराप्रति जिल्ला इन्चार्ज एवं जिल्ला पार्टी नेतृत्व सचेत बन्नुपर्ने देखिन्छ । नेतृत्वका लागि अहिले अनेक खालका लबिङहरु पनि भइरहेका छन् ।

जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको र यसअघिका अध्यक्ष पनि तामाङ समुदायका भएकाले पार्टी विभाजनको असर कम गर्नका लागि पनि त्यही समुदायबाट नेतृत्व आउनु पर्ने विश्लेषण पनि कतिपयले गरिराखेका छन् । निर्वाचन भए नयाँ युवा पुस्तामा नेतृत्व जाने चर्चा पनि जिल्ला एमालेभित्र चलिरहेको छ । तर अहिलेको आवश्यकता भनेको सहमतिमै नेतृत्व चयन हो । जिल्लामा पार्टीलाई शसक्त, सबल र सक्षम बनाउँदै नेपाली जनताको विकासको सारथी बनाउन, क. गोकुल बाँस्कोटाले अघि सारेका विकासका कामहरुलाई पूरा गराउन पदभन्दा पनि सबै कार्यकर्ताहरु माहुरीझैँ गोलबन्द हुनुपर्ने अवस्था छ । जसले जे जिम्मेवारी पाए पनि एमाले कार्यकर्ताहरुले आफूलाई देशभक्ति र विकासको पथप्रदर्शकका रुपमा उभ्याउन जरुरी छ । किनकि एमालेको अहिलेको एकमात्र अभियान भनेको राष्ट्र निर्माण नै हो । ‘समृद्ध नेपाल ः सुखी नेपाली’को नारालाई सार्थक बनाउनु हो । सहमतिमा नेतृत्व चयनका पनि धेरै अप्ठ्याराहरु छन् । सहमतिमा नेता छान्ने काममा अन्याय भयो, पक्षपात भयो, षड्यन्त्र भयो जस्ता आवाजहरु आयो भने त्यसले पार्टीलाई बलियो बनाउन सक्दैन ।

स्वतन्त्र रुपमा निर्वाचनमा जाँदा नेतृत्व चयन गर्न जति सहज हुन्छ, सबैको चित्त बुझाएर नेतृत्व चयन गर्न त्यति सहज छैन । कि नेतृत्वका लागि यस्तो अब्बल व्यक्ति चाहियो जोसँग अरुले प्रतिस्पर्धा गर्ने आँट नै नगरुन् । त्यस्तो व्यक्ति नहुँदा समकक्षीबीच नै प्रतिस्पर्धा हुने हो । तर, काभ्रे एमालेमा अहिले नेतृत्वका लागि देखिएका अनुहारहरु सक्षम त छन् तर अब्बल कोही देखिँदैनन् । सक्षम र समकक्षीहरुबीच नै एकजनालाई छान्नुपर्ने अवस्था छ । पार्टीको आम कार्यकर्ताहरुलाई समेट्न सक्ने, पार्टीको भिजनलाई प्रष्ट रुपमा राख्न सक्ने र पार्टीका नीति तथा योजनालाई कार्यान्वयनमा लैजान सक्ने जिल्ला नेतृत्व अहिलेको आवश्यकता हो । राजनीतिमा गुण्डागर्दी हावी हुँदै गएका बेला त्यससँग जुध्नसक्ने नेतृत्वमा पनि जिल्लामा खाँचो परेको छ । यो महाधिवेशनबाट कस्तो नेतृत्व आउँछ, काभ्रेली जनताले निकै चासोका साथ हेरिराखेका छन् । त्यसैले सहमतिमा नेतृत्व चयन गर्दा पनि सबै पक्षलाई समेट्नुपर्ने अवस्था छ ।

काभ्रे जिल्लाकै विकासको नेतृत्व अहिले नेकपा एमालेले गरिराखेको छ । यसमा जिल्ला इन्चार्ज एवं पोलिट्ब्युरो सदस्य बाँस्कोटाले विशेष भूमिका खेलिरहेका छन् । जिल्लामा उनी विकासप्रेमी नेताकै रुपमा पनि स्थापित भइसकेका छन् । उनले बनाएका योजना, कार्यदिशा र समृद्ध काभ्रे निर्माणमा योगदान दिनसक्ने जिल्ला नेतृत्व यो अधिवेशनले खोजिराखेको छ । अधिवेशनबाट एमालेले शुरु गरेका विकास निर्माण लगायतका कामलाई पूर्णता दिन, पार्टी नेतृत्व पंक्तिले गरेका कामको अनुगमन गर्न र पार्टीविरुद्ध फैल्याइएको भ्रमलाई चिर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने चुनौती छ । आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीलाई नेतृत्वदायी भूमिकामा पठाउनका लागि अब आउने जिल्ला नेतृत्वको विशेष भूमिका हुने भएकाले पनि यो अधिवेशनबाट नेतृत्व चयन गर्दा विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ ।

पार्टीलाई संकट र समस्या परेका बेला संघर्षको मोर्चाहरुमा पछाडि हट्दै नहट्ने, मृत्युको मुखमा पर्दा पनि सिद्धान्त र विचारको सवालमा पटक्कै सम्झौता नगर्ने, सिद्धान्तलाई व्यवहारिसित,चेतनालाई श्रमसित,अध्ययनलाई प्रयोगसित, सीपलाई उत्पादनसित जोड्न सक्ने नेतृत्व छान्न सक्नु नै पार्टीको सफलता हो, पार्टीको भविष्य हो । क. माओले भनेका छन्– ‘क्रान्तिकारी व्यवहारसित नगाँसिएमा सिद्धान्त उद्देश्यहीन हुन जान्छ । जो माक्र्सवाद लेनिनवादको खास्टो ओडेर पार्टी संगठनमा फैलिएको हुन्छ, त्यो मुख्यतया मनोगतवादी, संकीर्णतावादी मनोवृत्तिका रुपमा रहेको हुन्छ, त्यसलाई पर्दाफास गर्नुपर्छ ।’ माओले भनेझैँ यो अधिवेशनबाट त्यस्ता खराब प्रवृत्तिका व्यक्तिहरुले शिर उठाउन नपाउन् । त्यसतर्फ पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । ‘क्रान्तिकारी सिद्धान्तद्वारा बाटोलाई उज्यालो बनाएन भने व्यवहार अन्धकारमा बरालिन्छ’ भन्ने क. स्टालिनको भनाइलाई पनि नेतृत्व चयन गर्दा ख्याल गर्नुपर्ने हुन्छ ।

यी सबै कुरालाई केन्द्रमा राखेर काभ्रे जिल्ला अधिवेशनले सहमतिमा नयाँ नेतृत्व चयन गर्नुको विकल्प देखिँदैन । सहमतीय नेतृत्व चयनका लागि केन्द्रीय महाधिवेशनमा अध्यक्ष केपी ओलीले खेलेको भूमिका झैं यो जिल्ला अधिवेशनमा सक्षम नेतृत्व ल्याउन सवल काभ्रे बनाउने अभियानको नेतृत्वकर्ता एमाले काभ्रे जिल्ला इन्चार्ज बाँस्कोटाको विशेष भूमिकाको अपेक्षा आम कार्यकर्ता पंक्तिले गरेका छन् ।

 

प्रकाशित मिति : २०७८, २३ पुस शुक्रबार  ६ : ३९ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय