Logo

आङा जुनी, आमालाई के भनेर सम्झाउँ



अघिल्लो सालको मातातीर्थ औंसी बैशाख २१ गते परेको थियो । तिमी २० गते साझँ नै आमालाई भेट्न आइपुगिकी थियौँ । यो वर्ष पनि गाउँका धेरैको छोराछोरी आफ्ना आमा भेट्न आइपुगे । तर तिमी आइनौँ । मातातीर्थ औंसी आमाहरुको विशेष चाड । आमाको मुख हेर्ने, मीठो मसिनो खाने । दुःख, सुःखको कुराकानी गर्ने ।

बुलेकासम्म भए पनि तिमी भेट्न आउँछौँ भन्ने आमाले सोचिरहनु भएको छ । तिमीले यो धर्ती छोडेको आमाले अझै पनि विश्वास गर्नुभएको छैन । तिमीले धर्ती छोडेको ३९ दिन बितिसकेछ । हिजोसाँझ बेथानचोक गाउँपालिका वडा नम्बर ५ गोले टोलमा रहनुभएकी आमालाई यो समुन्द्र पारीको देशबाट फोन गरें। आमा भक्कानिनु भो । अघिल्लो बर्ष पनि दृश्य त यस्तै थियो । चाडपर्वमा आफ्नो छोराछोरी साथैमा नहुदाँको पीडा हरेक अभिभावकले खेप्ने गरेकै छन् । तर अघिल्लो वर्ष तिम्ले आमालाई सम्झाएकी थियौ।

सायद तिम्रो र मेरो बोली एउटै भएर होला । फोनमा आमा बेस्सरी रुनुभयो । तिमीले जति सजिलोसँग सम्झाउँथ्यौ, मैले त सकिन आङा (बहिनी) आमालाई सम्झाउन । २०७६ साल चैत ३ गते बिहान आमाको हातबाट खाना खाएर छुटेदेखि तिमी र भाञ्जी आमालाई कहिल्यै नभेट्ने गरी संसार छाडेर गयौँ । त्यो दिनदेखि तिमीलाई ‘जुनु’ भनेर प्यारसँग आमाले बोलाउन पाउनु भएकै छैन । बुबा भन्दै हुनुहुन्थ्यो राति निन्द्रामा पनि आमा सधै जुनुकै नाम लिएर बर्बराउने गर्नुहुन्छ ।

मातातीर्थ औंसीको छेकोमा तिमी सधै आफ्ना घर खानीखोला गाउँपालिका वडा नम्बर १ हात्तीडाँडाबाट करिब १२ घन्टा महाभारत लेकको थामडाँडा हुदैँ हिडेर कामीडाँडामा रहेको आमाको माइतीघरको हजुरबुबालाई भेटेर गोलेटोलमा आमा भेट्न आइपुग्थ्यौ। कहिले त बेथानचोक नारायणस्थानको जङ्गल भएर ढुङखर्क हुँदै आमालाई भेट्न आइपुग्थ्यौ बहिनी । आमा अहिले पनि त्यही बाटो हेरिरहनुभएको छ । तिमी आउँछौ कि भनेर ।

नरभक्षि बा ५ ख ५४८० नम्बरको टिपरले पनौती बसपार्कमा तिमी र भाञ्जी स्मारिका भोलनलाई ठक्कर दियो । दैव पनि हामी जस्ता निमुखालाई नै लाग्ने रैछ । भर्खर, भर्खर तंग्रिदैँ गर्दा हाम्रो परिवारमा परेको पज्रपात सहन निकै मुस्किल परिरहेको छ बहिनी जुनी । तिमीले हामी छडपटिएको पक्कै पनि हेरेर बसेकै हौली । भएको एउटा मात्रै चेली गुमाउनुको पीडा कुन शब्दले वर्णन गरुँ बहिनी जुनी । यस्तो दैब त कसैलाई नि नलागोस् ।

जस्तोसुकै दुःख, सुःख सहनु पर्ने पनि यही एउटा जुनी रहेछ । आमालाई अहिले मेरो पनि चिन्ता थपिएको छ । विश्वब्यापी फैलिएको कोरोना भाइरसका कारण म बसेको देश अमेरिकामा पनि हजारौँको ज्यान गइरसकेको छ । आमा यहाँ म भाइरसबाट बच्नसक्ने  उपाय अपनाइ रहेको छु । गोले गाउँ र म बसेको सहर बीचको दूरी लाखौँ माइल टाढाको छ । संसार यस्तौ हो भनेर आमालाइ सम्झाउने कोशिस गर्छु । तर सकिरहेको छैन् । बहिनी जुनी सपनीमा आएर भए पनि आमालाई सम्झाइदेउ है ।

आमा ! उही तिम्रो अभागी छोरा
राजकुमार गोले हालः अमेरिकाको टेक्सस, हुसटन

प्रतिक्रिया दिनुहोस्