Logo

पाँच महामारी, जसले बदल्यो विश्वको इतिहास



काठमाण्डाै ११ चैतसः एजेन्सी–कोरोना भाइरसको प्रकोपले विश्वका करोडा‌ै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ।

विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा ३६० डिग्रीमा परिर्वतन भईरहेको छ। तर यो पहिलो र अन्तिम महामारी भने होइन।

इतिहासका दिनहरू महामारीले भरिएका छन्। महामारी फैलँदा कतै वंश नै विना भयो, कतै उपनिवेश बिस्तार भयो भने कतै मौसममा उतारचढाव आयो।

पढौं दुनियाँ हल्लाउने महामारीको इतिहासबारे :

‘ब्याक डेथ’ र पश्चिम युरोपको उदय

१४ औ शताब्दिको पाँचौं र छैटौ दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो। यो यति भयानक थियो कि यसका कारण कारण युरोपको एक तिहाई जनसंख्या मृत्युको मुखमा पुग्यो। तर दशौं लाख मानिसको ज्यान लिने यो महामारी कैयाै‌ युरोपेली मुलुकका लागि बरदान सावित भयो।

आफ्ना नागरिकको यति ठूलो दुःखद मृत्युबाट पाठ सिक्दै ती देशहरुले यसरी विकासको बाटो समाए कि उनीहरु आज विश्वकै धनी देश बन्न सफल भएका छन्। यो महामारीलाई युरोपमा ‘ब्याक डेथ अर्थात् ब्युबोनिक प्लेग’ नाम दिइएको थियो। यो महामारीका कारण खेतमा काम गर्ने मानिससमेत पाउन मुस्किल पर्‍यो। जसका कारण जमिन्दारहरुलाई समस्या पर्न थाल्यो। जो किसान महामारीबाट बँचेका थिए, उनीहरुमा जमिन्दारसँग ‘बार्गेनिङ’ गर्ने क्षमता विकास भयो।

यो महामारीको फाइदा अर्को के पनि भयो भने यहाँ कायम रहेको सामन्तीवादी व्यवस्था पूर्णरुपमा भत्कियो। जोसँग जमिन थियो, उसँग जनशक्ति थिएन र जनशक्ति हुनेसँग जमिन थिएन। यी दुवै कारण जमिन्दारहरुले किसानलाई जग्गाको हिस्सा वितरण गरे। जो किसान आफ्नो ऋण चुकाउनका लागि जमिन्दारको खेतमा काम गर्न वाध्य थिए, ती अब स्वतन्त्र भएका थिए । यसको असर प्रत्यक्ष रुपमा मजदूरीमा पर्न थाल्यो। यही कारण जमिन्दारको खेतमा काम गर्नेभन्दा मजदूरीकोे व्यवस्था शुरुवात भयो। जसका कारण पश्चिम युरोप बढी आधुनिक, व्यापारिक र पैसामा आधारित अर्थ व्यवस्थामा चल्न थाल्यो। अब जमिन्दारका लागि मजदूरीको रकम मजदूरलाई दिन महंगो पर्दै आएको थियो। सित्तैमा भइरहेको श्रम यो महामारीले पैसामा रुपान्तरण गर्‍यो।

समुन्द्री यात्राको सुरुवात

यो महामारीले जमिन्दार र सामन्तहरुको घरमा थुनिएका मजदूर वर्गलाई बिस्तारै बाहिर निकाल्यो। यही वाध्यताका कारण उनीहरुले नयाँ–नयाँ रोजगारीको क्षेत्र खोजी गर्न थाले। खर्च कम गरेर धेरै पैसा जम्मा हुने काममा उनीहरुले आफूलाई अग्रसर गराउन थाले। त्यस्तै जमिन्दार र व्यापारी पनि कम खर्च गरेर धेरै काम गर्ने उपायको खोजीमा लागे। मजदूर कम पाइने भएकाले महंगो हुन थाल्यो, यसैले मजदूर कम प्रयोग हुने उपायको खोजी सुरु भयो। मजदूरको आवश्यकता नहोस् र काम पुरा पनि होस् भन्नेतिर उनीहरु अघि बढे।

पैसा बचाउने उपायका लागि उनीहरुले यस्तो खोजी गरेका थिए। यही विन्दुबाट नै पश्चिमी युरोपेली देशहरुमा साम्राज्यवाद सुरु भएको भनिन्छ। यहीकारण युरोपेली मानिसले लामो समुन्द्रीयात्रा सुरु गरे। त्यसअघि लामो समुद्री यात्रा महंगो र खतरनाक मानिन्थ्यो। तर प्लेगले उनीहरुमा यत्रो शक्ति दियो, उनीहरु नयाँ अन्वेषण र खोजीमा लागे। उनीहरु प्लेगभन्दा कम जोखिमको भएको निष्कर्ष निकाल्दै यात्रामा निस्कन थाले। युरोपका मानिसले प्लेगबाट यति मृत्यु देखे कि उनीहरुलाई अब त्यसबाट डर लाग्दैनथ्यो। उनीहरुमा मर्ने चिन्ता हराईसकेको थियो। उनीहरु अब नयाँ दुनियाँको खोजीमा जान तयार थिए। यसरी हिम्मत गरेर युरोपका मानिसहरु अर्को क्षेत्रमा जान थाले।

उनीहरुको अर्थ व्यवस्था पनि फैलँदै गयो। यही मौकामा अर्थव्यवस्थाको आधुनिकीकरण गर्ने र नयाँ वैज्ञानिक तरिकाहरु उपभोग गर्ने क्रम सुरु भयो। यसरी प्लेगको डरले सुरु भएको समुद्री यात्राले उनीहरुले उपनिवेश जमाए अनि त्यहाँबाट आम्दानी भएको पैसाले युरोपलाई शक्तिशाली बनाए। आज पनि त्यही शक्तिका कारण पश्चिम युरोपका धेरै देश दुनियाँमा आफ्नो शान देखाईरहेका छन् ।

अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतन

युरोपेली मुलुकले देशले १५ औ शताब्दीको अन्त्यसम्म अमेरिकी महाद्वीपमा समेत उपनिवेश फैलाउन सफल भए र त्यहाँ आफ्नो साम्राज्य स्थापित गरे। त्यसक्रममा उनीहरुले धेरैको हत्या गरे।  बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकहरुको एक अध्ययनमा के पाइयो भने युरोप बिस्तारपछि अमेरिकाका करिब ६ करोड (तत्कालीन समयमा विश्वको कुल जनसंख्याको दस प्रतिशत) जनसंख्या उक्त एक शताब्दिमा घटेर ६० लाखमा सीमित भयो। अमेरिकामा युरोपेली उपनिवेश स्थापित भएपछि अधिकतम मृत्युको जिम्मेवार ती थिए जो उक्त क्षेत्रमा उपनिवेशवादसँगै रोग पनि लिएर अमेरिका छिरे। यसमा सबैभन्दा धेरै बिरामी ठेउलाका थिए।

दादुरा,मलेरिया,प्लेग,रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौं मानिसको ज्यान लियो। जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्‍यो।

विश्व तापमानमा कमि

जनसंख्या कम भएपछि खेतीपाति पनि कम भयो र ठूला इलाकाहरु घनाजंगलमा परिणत भए। अमेरिकी महाद्विपको ५ लाख ६० हजार वर्ग किलोमिटर क्षेत्र यसैगरी जंगलमा परिणत भयो, जुन केन्या वा फ्रान्स बराबर हो। एक्कासी यतिठूलो जंगल हुँदा कार्बनडाईअक्साइडको स्तर तल्लो बिन्दुमा आयो । यो तथ्य वैज्ञानिकहरुले अन्टार्टिकाको बरफको नमुनावाट प्रमाणित गरे । विश्वका अधिकांश भागमा तापमानमा कमी आयो ।

बैज्ञानिकहरुको भनाई छ कि अमेरिकामा बढेको जंगलसँगै ज्वालामुखीको बिस्फोट र सूर्यको गतिविधिमा कमी आयो र तापमानमा कमी आयो। वैज्ञानिकहरुले आँकलन गरेका छन तापमानको कमिका कारण विश्व यस्तो युगमा प्रवेश गर्‍यो, जसलाई ‘लिटिल आईस एज अर्थात लघु हिमयुग’को नाममा चिनिन्छ ।

युरोपेली मुलकहरुले अमेरिकामा आफ्नो साम्राज्य बिस्तारका साथ विनाश ल्याए, त्यसबाट सबैभन्दा ठूलो जलवायु परिर्वतनको असर उनीहरुले नै भोगिरहेका छन्। युरोप अहिले बिस्तारै सुख्खा हुँदै गइरहेको छ।

यल्लो फिभर र फ्रान्सविरुद्ध हैटीको विद्रोह

क्यारेबियन देश हैटीमा फैलिएको एक महामारीले त्यतिबेला साम्राज्यवादी शक्ति फ्रान्सलाई उत्तर अमेरिकाबाट लखेट्न सफल भयो। यही विन्दुबाट अमेरिका शक्तिशाली देशको रुपमा उदायो। अहिले पनि उ महाशक्तिशाली बन्ने दौडमै रहेको छ।

१८०१ मा हैटीमा युरोपको औपनिवेशिक शक्तिविरुद्ध अधिकांश नोकरहरुले विद्रोह सुरु गरे। कैयौं विद्रोहपछि फ्रान्ससँग सम्झौता भयो। हैटीका विद्रोही नेता तुस्यन्त लोवरतुरले फ्रान्ससँग सम्झौता गरेर हैटीका शासक बने। उता फ्रान्समा नेपोलियन बोनापार्टले आफूलाई आजीवन देशको शासक घोषणा गरे। नेपोलियनले हैटीमा कब्जा जमाउन दशौं हजार सैनिक पठाए। युद्ध जिते र कब्जा जमाए। तर लगत्तै सुरु भएको जन्डिस (एल्लो फिभर) बाट आफूलाई बचाउन सकेनन्। फ्रान्सका पचास हजार सैनिक, अधिकारी, डाक्टर यसको चपेटामा परे र मृत्युवरण गर्न वाध्य भए। ३ हजार मानिसमात्र फ्रान्स सकुसल फर्कन सके।

युरोपी सैनिकहरुमा यो ज्वरो सहन सक्ने क्षमता नहुँदा उनीहरुले अकालमा ज्यान गुमाए, जुन सहनक्षमता अफ्रिकी मुलका मानिससँग थियो। यो हारबाट नेपोलिनयले हैटी गुमाए उनी उक्त क्षेत्रको उपनिवेश छाड्न वाध्य भए। उनले यही घटनापछि उत्तरी अमेरिकातिरको राज्य बिस्तारको सपना पनि त्यागे। हैटीमाथि कब्जा गर्ने प्रयास असफल भएपछि फ्रान्सका नेताले २१ लाख मिलियन वर्ग किलोमिटर इलाका भएको क्यारेवियन द्विप अमेरिकाको नयाँ सरकारलाई बिक्री गरे । यसलाई लुईसियाना पर्चेजको नाममा जानिन्छ। यो खरिद गरेपछि अमेरिका दुई गुणा ठुलो भयो र उसले नयाँ शक्तिशाली देशको रुपमा आफूलाई उभ्यायो ।

अफ्रिकी जनावरमा महामारी

अफ्रिकी जनावरमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो। हुन त यो प्रकोपले मानिसको ज्यान लिएको थिएन, तर पशुहरुमा यसले ठूलो महामारी ल्यायो। १८८८ र १८९७ को बीचमा राइन्डरपेष्ट नामको एक भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनावरहरुको विनास गर्‍यो। यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो। यसरी जनावरहरुको विनाशले त्यहाको समाज नै लडखडायो। भोकमरी फैलियो। मानिस हरु खेतमा गोरु जोत्न प्रयोग गर्थे, तर प्रकोपपछि गोरु नै रहेनन्। त्यसैले खेतहरु पनि बाँझै रहन थाले। अफ्रिकी देशको यही भोकमरी नै युरोपेलीका लागि उपनिवेश खडा गर्ने निहुँ बन्यो । १९ औ शताव्दीमा युरोपियनहरुले यही आधारमा यहाँ उपनिवेश खडा गरे।

युरोपेली शक्तिको नियन्त्रण

हुन त युरोपेलीहरुले अफ्रिकामा कब्जा जमाउने योजना यो महामारी फैलनुभन्दा केही वर्ष अघि नै गरेका थिए। १८८४ देखि १९८५ का बीचमा जर्मनीको राजधानी बर्लिनमा एक सम्मेलन चलेको थियो। जसमा युरोपका १४ देश वेलायत, फ्रान्स,जर्मनी, पोर्चुगल,बेल्जियम, इटाली लगायतले भाग लिएका थिए । यी देशहरुले अफ्रिकामा आ–आफ्नो उपनिवेश कायम गर्ने सहमति गरेका थिए। उनीहरुले अफ्रिकाको कुन भाग कसको हिस्सा हुनेसमेत तय गरेका थिए । १८७० को दशकमा अफ्रिकाको १० प्रतिशत भु–भागमात्र युरोपियनको कव्जामा थियो तर १९०० सम्ममा उनीहरुले आफू मातहत ९० प्रतिशत भूभाग ल्याएका थिए। त्यसरी अफ्रिकालाई उपनिवेश वनाउन राइन्डरपेष्ट भाइसरले ठूलो भूमिका खेलेको थियो । इटालीले १८९० मा इरिट्रियामा आफ्नो साम्राज्य बिस्तार गरेको थियो। उसलाई राइन्डरपेष्टले त्यहाँ भएको अनिकालले साथ दिएको थियो। यही अनिकालका कारण इथियोपियाको एक तिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो। यही कुरालाई समाएर इटाली उक्त देशमा छिरेको थियो ।

प्लेग महामारी र चीनमा मिङ राजवंशको पतन

संयुक्त राष्ट्रसंघको ‘हिष्ट्री अफ अफ्रिका’ मा त्यहाँ उपनिवेशवादको दाबी यसरी गरिएको छ–अफ्रिकामा साम्राज्यवादले त्यस्तो समयमा आक्रमण ग¥यो जुन समयमा उनीहरु आर्थिक संकट झेलिरहेका थिए, साम्राज्यवादसँगै त्यससँगै जोडिएको अन्य खराब चिज पनि भित्रिए। ’

चीनमा मिङ राजवंशको शासन लगभग तीन दशकसम्म रह्यो, आफ्नो शासनकालमा यो राजबंशले पूर्वी एशियाको एक ठूलो हिस्सामा आफ्नो शासन र सांस्कृतिक प्रभाव फैलायो। तर प्लेगका कारण यति शक्तिशाली राजवंशको पतन भयो । १६४१मा उत्तरी चीनमा प्लेगले आक्रमण ग¥यो, जसका कारण धेरै मानिसको ज्यान अकालमा गयो । केही क्षेत्रमा त २० देखि ४० प्रतिशतसम्म जनसंख्या समाप्त भएको अनुमान थियो । यो महामारी यस्तो समयमा फैलिएको थियो जुन समयमा चीन आफै सुख्खाको प्रकोपसँग जुधिरहेको थियो । वालीहरु सुक्दै गइरेहका थिए र मानिसलाई खानका लागि खाद्यान्न अभाव भइरहेको थियो । यही खडेरीका कारण कैयौं मानिस भोकमरीमा परिसकेका थिए। यही समयमा फैलिएको महामारीले खाद्यान्नको झन् ठूलो हाहाकार मच्चियो। अवस्था यस्तोसम्म भयो कि मानिसले मानिसकै मासुसमेत खान थाले । लाससमेत खान थालेको पाइयो।

मिङ राजवंश अन्त्यको कारण

चीनमा खाद्य संकट, मलेरिया र प्लेग एकै पटक फैलियो । जसका कारण मर्ने र बाँच्नेका बीचमा अन्तर हुन छाड्यो। यो रोग उत्तरबाट आउने आक्रमणकारीसँगै आयो र त्यही आक्रमणकारीले नै शक्तिशाली मिङ राजवंशलाई जरैसँग उखेलेर फाल्यो ।

फेरि आफ्नो शासन शुरु गर्‍याे र सदियौसम्म चीनमा राज गर्‍याे।

शुरुवातमा चीनमा डाकु र लुटेराहरुले आक्रमण गरे। तर पछि मंचुरिया राजवंशले संगठित रुपमा आक्रमण गरे। यही आक्रमणले मिङ राजवंश सधैका लागि अन्त्य भयो। यसपछि मंचुरिया शासकले कैयौं दशकसम्म चीनमा राज गरे। चीनको शक्तिशाली मिङ राजवंश समाप्त हुनुमा सुख्खा र भ्रष्टाचारको पनि ठूलो हात थियो। तर भयानक बिरामी र महामारीको प्रकोपले महत्वपूर्ण भूमिका निभाएको पक्कै हो ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार