२०८०, १५ चैत्र बिहीबार

नेपाल आइडलबाट ‘भक्कानिँदै’ बाहिरिए अमित बराल

नेपाल आइडलबाट ‘भक्कानिँदै’ बाहिरिए अमित बराल


काठमाडौँ, २१ मङ्सिर : एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्।शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए। बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए। अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए । निकै सुमधुर आवाजमा ‘पर्खिबसँे’ बोलको गीत गुनगुनाउँदै कार्यक्रमको दैलो उघारे सुमित पाठक र दीपराज खत्रीले। शुक्रबारको कार्यक्रममा प्रतियोगीलाई साथ दिन टप ट्वान्टीभित्र परेका केही प्रतिस्पर्धी मञ्चमा उपस्थित थिए। ‘बोल बोल’ बोलको गीतमा आफ्नो प्रियलाई बोल्न अनुरोध गर्दै मञ्चमा देखा परिन् अस्मिता अधिकारी र स्वस्तिका ढकाल। उनीहरूको आवाजमा सबैजना झुमिरहेका थिए।

‘आँखामा कसैको तस्बिर’ भन्ने गीतमा रोमान्टिक हाउभाउका साथ उपस्थित थिए, रवि ओड र सुमन परियार। शुक्रबारको कार्यक्रममा सबैजनालाई गीतको ‘लिरिक’ बिगारेको आरोप लागेको थियो। यस्तै ‘मेरी वसन्ती’ बोलको निकै पुरानो गीतमा आफ्नो दमदार आवाज दिएका थिए, विक्रम बराल र मिलन परियारले। उनीहरू पनि जजको मन जित्न सफल भए।सबैको प्रस्तुति अब्बल छ नेपाल आइडलमा। सबैलाई उपाधि चुम्ने हतारो छ। अबको केही हप्तामै नेपालले नेपाल आइडलको विजेता पाउँदैछ। नेपाल आइडलले धेरै क्षमतावान्लाई अगाडि बढ्ने मञ्च दिएको छ। सबै प्रतियोगीको आस्था र धरोहरको स्थान हो यो मञ्च।

कार्यक्रममा सबैभन्दा बढी भोट पाउने सिट सुमित पाठकले सुरक्षित गरे भने परफरमर अफ दी डेको उपाधि विक्रम बरालले चुमे। कार्यक्रमकी उद्घोषक रीमा विश्वकर्माले ‘अमित बरालको नेपाल आइडलको यात्रा यहाँसम्म मात्र’ भन्दै बराल बाहिरिएको सुनाउँदा बराल पछाडि फर्केर आँसु पुछिरहेका थिए। अमितले नेपाल आइडलमा अहिलेसम्म दिएका उत्कृष्ट प्रस्तुतिको छोटो भिडियो क्लिप पर्दामा देखाइएको थियो। भिडियो हेर्दाहेर्दै उनी धेरैपटक भक्कानिए। घरि दुवै हातले आँसु पुछ्दै हुन्थे त घरि जबरजस्ती हाँस्न खोजिरहेका थिए।

जजको आँखामा पनि आँसु छचल्किरहेको थियो। अमितका लागि केही बोल्न उनीहरू एकअर्कालाई आग्रह गरिरहेका थिए। शब्दविहीन थिए सबै। कार्यक्रमकी उद्घोषक रीमा र आसिफ अमितलाई हेर्र्र्र्दै एकोहोरिएका थिए। दर्शकहरू निःशब्द देखिन्थे। मञ्चमा एकखालको शून्यता छाएको थियो।बुटवल सैनामैनाका अमित बराल पनि नेपाल आइडलमा उत्कृष्ट पाँचमा पुगेर बाहिरिएका हुन्। सानो छँदा संगीतमा खासै चासो नराख्ने अमित दाजुको सपना पूरा गर्न यो क्षेत्रमा आएका हुन्। उनका दाजु भने सानैदेखि अत्यन्तै राम्रो गाउने गर्थे। पढाइमा पनि अत्यन्तै तेज थिए। केही वर्षअगाडि उनका दाजुको दुर्घटनामा मृत्यु भयो। दाजुको मृत्युले अमितलाई गहिरो चोट लाग्यो। उनले मनमनै संकल्प गरे, ‘म संगीतमै केही विशेष गर्छु र दाजुको सपना पूरा गर्छु।’

त्यसपछि सुरु भयो उनको संगीत संघर्ष। रातदिन रियाज गर्न थाले। घरमा बस्दा होस् या स्कुलमा पढ्दै गर्दा, उनी मनमस्तिष्कमा गीत गुन्गुनाइरहेका हुन्थे। बुटवलस्थित लुम्बिनी कला केन्द्रमा करिब दुई वर्षसम्म उनले औपचारिक रूपमा संगीत सिके। रातदिन मेहनत गरे र आफ्नो स्वरमा सुर दिन थाले।हरेकपटक गीत गाउनुअघि दाजुलाई सम्झिने अमित भन्छन्, ‘मेरो जिन्दगीको अन्तिम लक्ष्य र बाँच्ने आधार पनि संगीत हो।’

आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे। उनले अब यही क्षेत्रमा संघर्ष गर्ने र त्यसका लागि नेपाल आइडलले धेरै अवसर दिएको बताए। ‘हरेक प्रतियोगी अब्बल हुनुहुन्छ, ममा केही कमजोरी भएरै बाहिरिएको होला, अहिले देखिएका कमजोरी सुधार्ने कोसिस गर्छु’, बाहिरिँदै गर्दा उनले भने। नेपाल आइडलमा आउनुअघि विदेश जाने तयारीमा रहेका अमितले आफू र आफ्नो दाजुको सांगीतिक सपना पूरा गर्न नेपाल आइडल वरदानकै स्वरूपमा आएको बताए। ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन-२ गत साउन २४ देखि सुरु गरिएको हो। आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ हुन्।

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  १० : ०५ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय