२०८१, ७ बैशाख शुक्रबार

राष्ट्रपति भण्डारीको दबाबमा एकेडेमी हटाएर हेलिप्याड,

राष्ट्रपति भण्डारीको दबाबमा एकेडेमी हटाएर हेलिप्याड,


काठमाडौँ, मंसिर १ : प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान–आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को भदौ २१ को बैठकले प्रतिष्ठान काभ्रेको पनौती सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् । राष्ट्रपतिको सवारीले उपत्यकामा ट्राफिक जाम हुने र आमजनताले दु:ख पाउने समस्या अन्त्य गर्न राष्ट्रपति निवास विस्तारका लागि सरकारलाई अनुरोध गरिएको र त्यसैअनुसार मन्त्रिपरिषद्बाट निर्णय भएको दाबी स्रोतले गरेको छ ।

‘राष्ट्रपति कार्यालयभित्रै स्थायी हेलिप्याड बनाउन निवासको क्षेत्र विस्तार गर्न लागिएको हो,’ राष्ट्रपति कार्यालय स्रोतले कान्तिपुरसँग भन्यो, ‘त्यसका लागि राष्ट्रपतिको अनुरोधमा सरकारले छेवैको प्रहरी प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको हो ।’

स्रोतका अनुसार राष्ट्रपति कार्यालय र निवास परिसरमा अहिले हेलिप्याड बनाउन ठाउँ अभाव छ । राष्ट्रपतिका लागि आधुनिक र सुविधासम्पन्न निवास निर्माण गर्न सरकारले यसअघि नै कार्यालयपछाडि सामाखुसीतर्फको प्रहरी ब्यान्ड गुल्मको ५ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराइसकेको छ । राष्ट्रपति कार्यालय परिसरमा आधुनिक र सुविधासम्पन्न निवाससमेत निर्माण भइसकेको छ ।

राष्ट्रपति कार्यालयका अधिकारीले प्रहरी तालिमका कारण ‘डिस्टर्ब’ हुने गरेका कारण पनि सरकारले प्रतिष्ठान सार्ने निर्णय गरेको दाबी गरे । ‘प्रतिष्ठानमा प्रहरी तालिमक्रममा दिनहुँ हुने होहल्ला र फायरिङले राष्ट्रपति कार्यालय र निवासमा कति डिस्टर्ब हुन्छ भन्ने वास्तविकता कसैले बुझ्न चाहेकै देखिँदैन, राष्ट्रपतिका कारण प्रहरी प्रतिष्ठान सार्न लागियो भनेर मात्र विरोध भइरहेको छ । राष्ट्रपति कार्यालय र निवासको समस्यासमेत बुझेर यसमा टिप्पणी गरिदिए हुन्थ्यो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

तत्कालीन राष्ट्रपति रामवरण यादवकै पालामा राष्ट्रपतिको सुरक्षामा खटिएका सैनिक अधिकारीले छुट्टै हेलिप्याड व्यवस्था गर्न प्रहरी प्रतिष्ठान अन्यत्र सार्न दबाब दिँदै आएका थिए । उनीहरूले राष्ट्रपतिमार्फत सरकारलाई दबाब दिने गरेका थिए । ‘यादवका पालामा सरकारले सुनुवाइ गरेन, अहिले सुनुवाइ भयो,’ स्रोतले भन्यो ।

यसअघि पनि पटक–पटक हेलिप्याड बनाउनकै लागि भनेर प्रतिष्ठान सार्न दबाब आएको र आफूहरूले नमानेको जानकारी प्रहरीका तत्कालीन उच्च अधिकारीले जानकारी दिए । ‘हेलिप्याड बनाउने नाममा राष्ट्रपति कार्यालयले पटक–पटक प्रतिष्ठान रहेको १९३ रोपनी जग्गा कब्जा गर्न खोजेको थियो । हामीले राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान र आउन हेलिप्याड चाहिएको हो भने प्रतिष्ठानमा तीनवटा ग्राउन्ड छन्, तीमध्ये कुनै एउटा प्रयोग गरेहुन्छ भनेका हौं ।

हाम्रो प्रतिवादकै कारण प्रतिष्ठान सार्ने त्यतिबेलाको प्रयास सफल हुन सकेन,’ ती अधिकारीले भने, ‘अहिले दुई तिहाइको सरकारका पालामा प्रहरी अधिकारीहरूले प्रतिवाद गर्न नसकेका होलान् । त्यही कारण निर्णय भयो ।’ ती पूर्वअधिकारीका अनुसार राष्ट्रपति कार्यालयमा ठूला कार्यक्रम हुँदा प्रतिष्ठानले २०६५ सालदेखि सयौं गाडी पार्किङ गर्न आफ्नो परिसर उपयोग गर्न दिने गरेको छ । ‘हेलिप्याडकै नाममा प्रतिष्ठान सार्नु आवश्यक छैन,’ ती पूर्वप्रहरी अधिकारीले भने । उनका अनुसार प्रतिष्ठानमा रहेका तीनवटै ग्राउन्ड दिउँसो खाली रहन्छन्, बिहान र अपराह्नको समयमा मात्र परेड, तालिमलगायत गतिविधि हुन्छन् ।

ती अधिकारीले प्रहरी तालिमका कारण हुने होहल्ला र फायरिङका कारण प्रतिष्ठान सानुपर्ने राष्ट्रपति कार्यालयको तर्कमा कुनै तुक नरहेको बताए । ‘वर्षमा बढीमा दुई/तीन पटक मात्र प्रतिष्ठानमा तालिमका क्रममा फायरिङको प्रशिक्षण हुन्छ,’ उनले भने, ‘तालिमका कारण कसैलाई डिस्टर्ब हुँदैन । तत्कालीन राजाका पालामा राजपरिवार बसेको नारायणहिटी दरबारको श्रीसदनको करिब १०/१२ मिटरनजिक सेनाको तालिम हुन्थ्यो, तत्कालीन राजपरिवारलाई डिस्टर्ब हुँदैनथ्यो । राष्ट्रपति कार्यालय परिसरबाट प्रतिष्ठान त्योभन्दा बढी दूरीमा छ, डिस्टर्ब त हुनै सक्दैन ।’

राष्ट्रपति कार्यालय र निवासका लागि त्यति धेरै ठाउँ किन चाहियो भन्ने बुझ्न नसकिएको उल्लेख गर्दै एक पूर्वउच्च प्रहरी अधिकारीले यस्तो निर्णयले राष्ट्रपतिप्रति आमजनतामा गलत सन्देश जाने चिन्ता व्यक्त गरे । ती अधिकारीका अनुसार प्रतिष्ठान पनौतीमा राखेर प्रहरीको तालिम र प्रशिक्षण राम्ररी सञ्चालन गर्न सकिँदैन ।

‘उपत्यकामा काम गर्ने विज्ञ प्रशिक्षकलाई पनौतीमा बोलाउन सकिँदैन । बोलाए पनि व्यस्त विज्ञ प्रशिक्षक पनौतीमा आउनै भ्याउँदैनन्,’ उनले भने, ‘पनौतीमा प्रतिष्ठान सारे पनि विज्ञ प्रशिक्षक आवश्यक पर्ने तालिम र प्रशिक्षण उपत्यकाको केन्द्रमै गर्न अर्को ठाउँ आवश्यक पर्छ, त्यसका लागि अहिले प्रतिष्ठान रहेकै ठाउँ उपयुक्त हुन्छ ।’ प्रतिष्ठान सार्ने नै हो भने पनि सबै पूर्वाधार तयार पार्न कम्तीमा ८ वर्ष लाग्ने भएकाले त्यस अवधिसम्म कहाँ राख्ने हो भन्ने प्रश्न उनले गरे ।

प्रतिष्ठानमा नेपाल प्रहरीका दर्जनभन्दा बढी महत्त्वपूर्ण कार्यालय छन् । राष्ट्रपति कार्यालय र निवासका लागि प्रतिष्ठान पनौती सार्नैपर्ने हो भने ती कार्यालय कहाँ सार्ने भन्ने ठूलो चिन्ता रहेको जानकारी ती अधिकारीले दिए । ती अधिकारीका अनुसार प्रतिष्ठानभित्र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, फरेन्सिक ल्याब, कुकुर महाशाखा, प्रहरी ब्यान्ड गुल्म, केन्द्रीय खेलकुद शाखा, अपराध अनुसन्धान महाविद्यालय, केन्द्रीय होजियारी, संगीत विद्यालय, पर्वतारोहण प्रशिक्षण केन्द्र र मोटर ट्रान्सपोर्ट वर्कसपलगायत महत्त्वपूर्ण कार्यालय छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रतिष्ठान सार्ने निर्णय राष्ट्रपति भण्डारीको दबाबमा नभएको दाबी गरे । ‘यो सरकारको निर्णय हो,’ अधिकारीले भने, ‘किन प्रतिष्ठान सार्ने निर्णय भएको हो, सरकारलाई नै सोध्नोस्, हामीलाई थाहा छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ३५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता